१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

देश कहाँ दुख्नुपर्छ!

कविता

भिम राई (माक्पाली कान्छा)

एक बिहान

हलगोरु अगाडि धपाउँदै हिंडेका

तल्लो घरको कुनाको बाटो

धानको ब्याड जोगाउँदै–जोगाउँदै गएका

बिर्खे दाजुलाई सोध्नु

देश कहाँ दुख्नुपर्छ?

साउने बारीमा?

भदौरेमा?

अम्बकेमा?

डाँँडाबारीमा?

सिमसारमा कि आइतबारेमा?

जसले झिसमिसेमै

घँस्याएको छ हलगोरु

ठोकेको छ अनौ

मिलाएको छ फाली र करुवाहरू

जोतारो र हल्लुँडो

सैला, ठेडी र पाटीहरू

अब सोध्नु

देश कहाँ दुख्नुपर्छ!

त्यही मिरमिरेमा

पानीको रितो गाग्रो बोकेर

आहालेको ओरालो खुट्टा खोच्याउँदै झरिरहेकी

तीनबीसे उमेर पुगिसकेकी

मिजारनी फुपूलाई सोध्नु

देश कहाँ दुख्नुपर्छ!

जसले घामसँगै उक्लनु छ

छिचोल्नु छ दुखको पहाड

मेट्नु छ केटाकेटीको

भोक, प्यास, तिर्खा,

दिनु छ सबैलाई मातृत्वका

आशा र भरोसाका लाभाहरू

अब सोध्नु

देश कहाँ दुख्नुपर्छ!

उही बिहान

घामको उज्यालो पछ्याउन

छाप्रे प्वालबाट छिरेको सिरेटो

खास्टोले छेक्दै

ठकठक ओठ बजाइरहेको

मंगले भाइलाई सोध्नु

देश कहाँ दुख्नुपर्छ!

जो उठेर जानु छ घाँस काट्नु

घाँससँगै मठारिरहेछ सपना

खन्याउँदै छ डोकाभरि भविष्यको भारी

न स्कुल, न कपी, न कलम, न साथीसँगीहरू

अब सोध्नु

देश कहाँ दुख्नुपर्छ!

सोही बिहान

रातभर एउटा नयाँ सन्तानको आशा पाल्दै

पुराना फरियाका टुक्राहरू जम्मा पारेर

प्रसव-वेदनाले छटपटाइरहेकी

साइँली भाउजूलाई सोध्नु

देश कहाँ दुख्नुपर्छ!

जहाँ रगतले लतपतिएको शरीर

अड्किएको बच्चाको टाउको

नजिकमा नभएका उनको श्रीमान्

न साथी, न साहरा,  न खाना, न पानी

अब सोध्नु

देश कहाँ दुख्नुपर्छ!

प्रकाशित: ३ असार २०७९ ०६:२१ शुक्रबार

अक्षर