दीप मंग्राती
‘आमा–आमा, हेर्नू त, त्यो हात्ती त्यति सानो डोरीमा कसरी हिंडेको? भेडाका पाठापाठीहरू रमाउँदै हेर्दै थिए, हात्तीको चटक।
साँच्चै, त्यो हात्ती त्यति सानो डोरीमा कसरी हिंड्न सकेको? सबै भेडा अचम्म मानेर हात्तीको चटक हेरिरहेका थिए। गधाहरू मौन थिए। उसका पाजीहरू पनि चुपचाप खेलिरहेका थिए। मानौ, त्यहाँ केही भएको छैन। गधाहरूको यो चाला देखेर कुकुर पनि अचम्ममा परेको थियो। कुकुरका छाउराहरू कुइँकुइँ गर्दै कहिले हात्तीको चटक त कहिले गधाका पाजीहरू खेलेको हेर्दै थिए।
हात्तीको यस्तो कौशल देखेर स्याल भने बडो सकसमा देखिन्थ्यो। मैले पनि गर्न नसक्ने काम हातीले कसरी गरिरहेको छ भनेर।
‘कसरी यस्तो हुन्छ!’ स्याललाई औडाहा भयो। छटपटीले यताउता हेयो। गधा आफ्नै धुनमा चरिरहेको थियो।
–ओई गधा, तँलाई हात्तीको चटक मन परेन। आफ्नै तालमा छस् त?
–त्यो चटक होइन, दृश्यभ्रम हो। माथि हेर्न, कत्रो लठ्ठारोमा हात्तीलाई हामीले नदेखिने डोरीले झुन्डयाएको छ।
–अनि डोरीमा चाहिं किन हिंडेको नि। हात्ती झुन्डिन्दा त नचली पो सरर जानुपर्ने त।
हात्ती हिंडेको होइन, ऊ त नदीमा पौडिरहेको छ। उसलाई त मुनि डोरी छ भन्ने पनि थाहा छैन। हेर्दैनस् उसको आँखामा एलसिडि मनिटर बाँधिदिएको छ अनि त्यसमा नदी बगिरहेको भिडियो चलाइदिएको छ। जसले गर्दा हात्तीले दायाँबायाँ केही देख्दैन, अगाडि पानी मात्र देख्छ। त्यसैले उसले पानीमा पौडिरहेको छ। त्यहाँ हेर न, छेउमा बसेर मानिसले रिमोटबाट भिडियो चलाइरहेको छ।
–अनि तैले कसरी थाहा पाइस् त!
यो चटक मैले पाँच वर्षअघि नै हेरिसकेको। मान्छेहरू पाँचपाँच वर्षमा बहुलाउने गर्छन् अनि यस्तै चटक देखाउँछन् अनि तिमीहरू जस्तो विद्वानहरूलाई पनि धुन्धकारी बनाउँछन्।
खाली चटकेहरू फरकफरक हुन्छन्। पाँच वर्षअघि घोडालाई बनाएका थिए। यसपालि हात्तीलाई बनाए।
जबसम्म तिमीहरू जस्तो मूकदर्शक पाइरहन्छन् तबसम्म उनीहरू चटक देखाइरहन्छन्।
प्रकाशित: १ असार २०७९ ०७:३० बुधबार