तिम्रो सहनशीलता प्रकृतिको नियमभन्दा महान् छ। तिमी मेरो तागत हो। मेरो जीवनमा जति पनि महिलाहरूलाई देखें ती सबैमध्ये राम्री तिमी हौ। तिमीले मेरा लागि तिम्रा धेरै इच्छा त्यागेको देखेकी छु। सबैको माया पाउन आफू योग्य हुनुपर्छ तर तिम्रो माया योग्य नहुँदा पनि पाइरहेकी छु। मतलब जुन परिस्थितिमा पनि निस्वार्थ माया मात्र तिमीबाट पाएको छु। तिमी किन यस्ती छौं? तिमी त अनपढ थियौ तर पनि कसरी मेरो मन सजिलै पढ्न सक्छ्यौ भन्दै नभनी मेरो सबै कुरा बुझ्न सक्छ्यौ।
यति धेरै संस्कार सिकायौ। मेरो पहिलो गुरु पनि तिमी हौ। यो संसारमा तिमी मात्र एक महान् नारी हौ। जतिसुकै ठूलो गल्तीमा मलाई माफ गरिदिन्छ्यौ। तिम्रो मन पीडाले भतभती पोलिरहेको बेला पनि मेरो अगाडि कति सजिलै ओठमा मुस्कान छर्न सक्छ्यौ। मेरा लागि सबैभन्दा आनन्दित ठाउँ तिम्रो काख हो र तिमी साँच्चिकै महान् छयौ मेरी आमा।
आज मातातीर्थ औसीको दिन संसारका सबै आमाप्रति नमन। शब्द नै काफी छ आमा तिमी कति प्यारी छौ। यति धेरै मायाममता निस्वार्थ कोही ग्रहण गर्छ त खालि आमाबाट। तिम्रो सोच कति महान् छ। यथार्थ भन्नुपर्दा आफ्नो शरीरको परवाह नै नगरी झन्डै आधा दर्जन सन्तानलाई संसार देखायौ। नौ महिना पेटमा मलाई बोकेर दाउराघाँस, मेलापात, अन्नबाली सबै आफै गर्यौं। कुटुकुटु पेट दुख्दै गर्दा पनि पटुकीको सहायता लिएर गाईवस्तुको गोबर सोहोर्न तयार भयौं।
तिम्रो त्यो समय न त आइरन चक्की थियो न त कुनै सुई नै लगायौ। कुनै बिनाचेकजाँच आफ्नो गर्भावस्था कटायौ। संसारको सबैभन्दा पीडादायक पल प्रसवमा पनि तिमी एक्लै थियौ। न त तिमीसँग कुनै डाक्टर नर्स थियो न त कुनै सुविधायुक्त अस्पताल नै। आमा म त तिम्रो पीडा त्यो पल सोच्न र कल्पना गर्न पनि सक्दिनँ। कस्तो विडम्बना रातभरि प्रसवव्यथाले च्यापिएकी मेरी आमा एकाबिहानै उठेर छटपटिरहनुभएको बेला घरमा कहिले नदेखेका मान्छेहरू बुवासँग कुनै काम गर्दै गर्दा एक्कासि थाहा पाइहाल्छन् कि भनी प्रसवव्यथा लुकाउने क्रममा गोठमा पुगेर मलखादमै मलाई जन्माइछयौ। यो सब कसरी सम्भव भयो। म अनुमान पनि लगाउन सक्दिनँ। तिमीले भन्दै गर्दा अचम्म पर्छु, आमा तिमी महान् छ्यौ।
जस्तोसुकै समस्या सजिलै हल गर्न सक्ने क्षमतावान् आमा। यति मात्र कहाँ हो र च्याहाँच्याहाँ गर्ने बच्चा अँध्यारो चिसो कुनामा मट्टितेलको टुकी बत्तीको सहायताले मात्र कसरी सम्हायौ? थुरथुर काँप्ने जाडो महिनाको बेला एकसरो त्यो पनि आधा भिजेको लुगा लगाएरै भए पनि सबै सम्हाल्यौ। अलि सुकिलो थाङना छुनु हुँदैन भनी दिएको त्यो डुङडुङ बास्नाले भरिएको थाङ्ना फर्काईफर्काई पिसाबले भिजेको भाग आफूतिर सार्दै मलाई न्यानोमा सुतायौ न त तिमीसँग कुनै डाइपर नै थियो न त कुनै नयाँ लुगा तर पनि भोटोकै भरमा सुत्केरी उम्कायौ।
वर्ष बिराएर जन्मिएका भराङभुरुङ हामी सबै कति तिमीलाई दुःख दिन्थ्यौ तैपनि कहिल्यै झर्को मानिनौं। सुत्केरी ज्यानको मतलब नगरी सबैलाई एकनासको स्याहार दियौ तर कुनै फलको आश गरिनौ। मलाई हुर्काउँदै गर्दा कति रात अनिदो भयौ। वास्तै नगरी चिसो विस्तरामा आफू सुतेर मलाई न्यानो पारी माया र स्नेहमा हुर्कायौ। आफ्नो पेटमा भोक लाग्दा पनि पस्केको खाना छोडी मलाई दूध चुसायौ। दिनभरिको कामको थकान नभनी घण्टौसम्म काखमा लिएर आनन्दित महसुस गर्थ्यो। हरेक अप्ठ्याराबाट बचाउँदै टाढाको विद्यालय सम्पूर्ण घरधन्दा सबै सम्हालेर आफ्नो सन्तानका लागि कति इच्छा गुमायौ त कति ठूलो त्याग गयो हो आमा तिमी धेरै महान् छौ।
आमा जुन शब्दले बयान गर्दा पनि कमी नै हुन्छ तिम्रो मप्रतिको योगदान अनगिन्ती छ। अझै धेरै वर्षौवर्ष बिताउन पाऊँ,तिम्रो लागि केही गर्न बाँकी नै छ। आमा मेरो भागको सबै खुसी लागोस् माता तीर्थऔंसीको शुभकामना, ‘आज जे जति छु म मेरी आमाप्रति ऋणी छु।’
प्रकाशित: १८ वैशाख २०७९ ०७:३६ आइतबार