२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

ब्रह्म तीर्थ र ब्रह्मेश्वर महादेवको महिमा

संस्कृति

श्री ब्रह्मेश्वर महादेवको मन्दिर नुवाकोट जिल्लाको कविलास गाविस वडा नंं. ८ कपिलास ब्रह्म क्षेत्रमा छ। स्कन्द पुराण हिमवत् खण्डमा उल्लेख गरिएअनुसार ६४ शिवलिङ्गको क्रमाङ्कमा २७ औँ नम्बरमा रहेको श्रीब्रह्मेश्वर सिद्धलिङ्ग ज्यातिर्लिङ्ग स्वयम् सिद्ध भएका महादेव हुन्।

कपिलास बेँसीको मृगेन्द्र पर्वतबाट निस्केको ब्रह्म गंगा (लिखु) र ब्रह्माजीको घुँडाबाट निस्केको भनिएको ब्रह्म पढी गंगाको सङ्गममा आएर ब्रह्माले स्नान गरेकाले यो तीर्थमध्ये उत्तम तीर्थको नाम ब्रह्म तीर्थ रहन गएको हो भनिन्छ। यो ब्रह्म तीर्थलाई ब्रह्माघाट पनि भनिन्छ।

पशुपतिको आर्यघाटमा जस्तै यो ब्रह्मघाटमा पनि लास जलाउने अर्थात् दाहसंस्कार पनि गरिन्छ। यो तीर्थमा स्नान गरेर अलिकति माथि जाँदा ब्रह्मेश्वर महादेवको मन्दिरमा पुगेर देवताको दर्शन गर्न पाइन्छ। यो ब्रह्मेश्वर महादेवको उत्पत्तिको विषयमा हिमवत् खण्डमा यस्तो उल्लेख गरिएको छ। पहिला यो पृथ्वी प्रलय भएको समयमा सारा जीवजगत् एवम् पशुपक्षीसमेत विनाश भए।

ब्रह्मा एक जना मात्र बाँकी रहे। प्रलय भएको १ लाख २० हजार वर्ष बितेपछि ब्रह्मा फेरि सृष्टि गर्ने उद्देश्यले यो तीर्थमा आए। ब्रह्माजी यो तीर्थमा आई विधिपूर्वक स्नान गरिसकेपछि यो तीर्थभन्दा अलि माथि उक्लेर गई पर्वतमा नै बसी भक्तिभावले शिवलिङ्ग बनाई कार्तिक कृष्ण अष्टमीका दिन शिवलिङ्ग स्थापना गरिदिए। ब्रह्माले यहाँ दिव्य हजार वर्षसम्म महादेवको उपासना गरे।

आखिर एउटा शुभरात्रीका दिन महादेवले दर्शन दिएर वरदान दिएकाले ब्रह्माले पहिला जस्तै फेरि सृष्टि गर्न थालेका हुन् भनिन्छ। यसैले यो ज्योतिर्लिङ्गको नाम बह्मेश्वर महादेव हुन गएको हो। यो तीर्थको विषय र महत्त्वको बारेमा उल्लेखित घटनाहरू पनि अत्यन्तै महत्त्वपूर्ण छन्। धेरै पहिला एउटा म्लेच्छले बँदेलको सिकार गर्ने धुनमा एउटा बँदेललाई लखेट्दै गर्दा यही ठाउँमा आइपुग्छ।

उही समयमा यहाँ एउटा राक्षसलाई देखेर उसले मार्छ भन्ने ठानी म्लेच्छले डराएर हतपत वाण हान्छ। वाण लागेर घाइते भएको उक्त राक्षस रिसले चुर भई त्यस म्लेच्छलाई झम्टेर मारी दिन्छ अनि म्लेच्छको मासु खाइदिन्छ। म्लेच्छको मासु खाँदाखाँदै सोही तीर्थमा त्यो राक्षस पनि मर्छ। म्लेच्छले प्राण त्याग गर्न लाग्दा शिव शिव भनेको र ब्रह्मतीर्थको जल छोएर मरेकाले त्यो म्लेच्छ पछि ब्राह्मणको कुलमा जन्म लिन्छ। ऊ सबै शास्त्रमा पारङ्गत भई धुरन्धर विद्वान् हुन पुग्छ। ऊ सत्य वचन बोल्ने र पाप गर्न डराउने हुन्छ।

आखिरमा नाशवान् शरीरको अनित्यलाई विचार गरेर ऊ सन्यासी बनेर तीर्थाटन गर्दागर्दै यही ठाउँमा आइपुग्छ। पूर्वजन्ममा यही तीर्थको जल छोएर गरेको पुण्यको प्रभावले यो ठाउँ देख्ने वित्तिकै उसलाई श्रद्धाभाव जाग्छ। फागुन कृष्ण अष्टमीका दिन उसले यस तीर्थमा विधिपूर्वक स्नान गर्छ अनि उसले घिउमा बालेको आगाको ज्वाला जस्तो स्वच्छ ज्योतिर्रुप महादेवको दर्शन गर्न पाउँछ।

उसले आश्चर्य मानी नजिकै गएर त्यो आगाको ज्वालालाई परिक्रमा गरी दुवै हात जोडेर दण्डवत् गर्दै भूईंमा ढोगेर बारम्बार स्तुति गर्छ। एकचित्त हुँदै शिव मन्त्र एकलाख जप गरिसकेपछि पूर्णिमाका दिन उसको आत्मज्योति शिवमा लीन हुन पुग्छ अर्थात् ऊ मुक्त हुन्छ।

त्यही राक्षस जसको म्लेच्छको मासु खाँदाखाँदै ब्रह्मतीर्थमा प्राण गएको थियो, ऊ पछि गएर दैत्यराज बलिको छोरो भएर जन्म लिन पुग्छ। राजा बलिको उही छोराले आफ्ना बाबुसरह बलवान् हुने इच्छा गर्छ अनि उसले यही तीर्थमा आएर स्नान गरी ब्रह्मेश्वर महादेवलाई फचमीकारले पूजा गरेर १२ वर्षसम्म सेवा गर्छ। त्यसपछि यही शिवलिङ्गबाट महादेव प्रकट भई वरदान माग भन्छन्।

उसले वरदान माग्दै भन्छ– ‘प्रभु ! म दैत्यराज बलिको छोरा वाणासुर हुँ। मेरो शरीरमा हजारवटा हात होस्। म आफ्नो पिताजस्तै पराक्रमी बन्न सकूँ। युद्धमा देवदानव कसैले पनि मलाई जित्न नसकून्। म अजय हुन पाऊँ ।’ वाणासुरको यस्तो प्रार्थना सुनेर महादेवले तथास्तु भनी वरदान दिंँदै तिमीले भने जस्तै हुनेछ भन्छन्।

त्यसपछि फेरी महादेवले भन्छन्– ‘पछि गएर तिमी तिम्रो झण्डा राखेको ठाउँबाट जुन बेला खस्छौ, त्यही बेला आफ्नै छोरीका कारणले तिम्रा दुई हात मात्र बाँकी राखेर अरू सबै हातहरू काटिनेछन्। उक्त समयमा देवताहरू सामु मैले तिमीलाई वरदान दिएर मेरो शरणमा राखी रहन्छु। तिमी आजबाट धेरै समयसम्म बाँची रहन पाउने छौ ।’

यसप्रकार अजय हुने वरदान पाएर वाणासुर अत्यन्तै हर्षित भई शोणितपुरमा आएर देवदानव सबैलाई आफ्नो वशमा राखी राज्य गरिरहन्छ। यसरी वाणासुरले महादेवको वरदान पाएपछि धेरै वर्षसम्म राज्य गर्छ। एकपटक आफ्नै छोरी उषाका कारणले गर्दा यादवहरूसँग युद्ध हुन्छ। भगवान् श्री कृष्णले नै उक्त युद्धमा भाग लिई वाणासुरका हजार हात रुखका हाँगा काटेझैँ काटिदिन्छन्।

अनि वाणासुरले आफू अत्यन्तै ठूलो कष्टमा परेको हुँदा महादेवलाई सम्झन्छ। महादेव पनि तुरुन्तै आएर श्री कृष्णलाई भन्छन्– ‘तपाईंले यो वाणासुरलाई मार्न पाउनु हुन्न किनभने मैले यसलाई अजय हुने वरदान दिएको छु। रूप फरक भए पनि हामी दुवै एकै हौँ ।’ महादेवको यस्तो कुरा सुनेर श्रीकृष्णले युद्ध रोक्छन् अनि श्रीकृष्णले वाणासुरकी छोरी उषालाई नातिनी बुहारी बनाएर द्वारिकामा लान्छन्।

महादेवले पनि सबैका सामु वरदान दिएर वाणासुरलाई कैलाशमा लगी आफ्नो गणको महाकाल बनाई राख्छन्। श्री ब्रह्मेश्वर सिद्धलिङ्ग महादेवको मन्दिरबाट अलिकति माथि रुखमुनि राक्षेश्वर महादेवको मूर्ति स्थापना गरिएको छ। उक्त रुखमा चौतारो पनि बनाइराखेको छ। राक्षेश्वरको मूर्ति प्रष्ट देखिंँदैन; एउटा ढुङ्गा मात्र छ। राक्षेश्वर महादेवसँगै गणेशको पनि मूर्ति छ। गणेशको मूर्ति पनि आकार नभएको एउटा ढुङ्गा मात्रै छ।

त्यस्तै त्यहाँ नरसिंहको पनि मन्दिर मात्र छ तर मूर्ति भने छैन। त्यहीँ भएको भैरवको भने अनुहार भएको एउटा टाउको छ। नरसिंहको मन्दिरसँगै त्यहाँ हनुमानको मूर्ति पनि छ। नरसिंह र हनुमानको मूर्ति भने २०४३/०४४ सालतिर स्थापना गरिएको हो भनिन्छ। त्यहाँ वासुकी नागको मूर्ति पनि रहेको थियो तर त्यो मूर्ति भने माटोले पुरिएको छ।

विसं २०४३ जेठ महिनामा ब्रह्मेश्वर महादेवको मूर्ति चोरी भएछ। महादेवको मूर्ति नभेटिएकाले एउटा ढुङ्गालाई नै ब्रह्मेश्वर महादेवको मूर्ति सम्झेर स्थापना गरिराखेको हो भनिन्छ। ५ फिट अग्लो १० फिट चौडा भएको चारपाटे ढुङ्गाको मूर्तिलाई नै ब्रह्मेश्वर महादेव मानेर पूजा गर्दै आइरहेको छ। यो स्थान धार्मिक पर्यटनको हिसाबले अत्यन्तै महत्त्वपूर्ण र धेरै रमणीय छ।

यो ब्रह्म क्षेत्रको विकास निर्माण गरी धार्मिकस्थलको रूपमा विकसित गर्ने उद्देश्यले २०६७ सालमा लेखप्रसाद बोहराको अध्यक्षतामा श्री ब्रह्मेश्वर विकास कोषको स्थापना गरिएको छ। सुरुमा ५ लाख रूपैयाँ राखेर स्थापित अक्षय कोषमा अलिअलि गर्दै पैसा जम्मा हुँदै छ। यस्तो धार्मिक महत्त्व रहेको ब्रह्म क्षेत्रको विकास प्रवर्द्धन र सम्वर्द्धन गर्ने कार्यमा हामी सबै भक्तजनले चिन्ता चासो लिनु पर्दछ।

प्रकाशित: १७ वैशाख २०७९ ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App