राजेन्द्रमान डंगोल
नेपाली नियात्राको स्पष्ट रेखांकन भएयता थुप्रै नियात्राकारका नियात्रा कृतिहरू प्रकाशित भइसकेका छन्। तीमध्ये यात्रा साहित्यमा निरन्तर कलम चलाउने गतिशील एवं प्रभावशाली नियात्राकार हुन्– डा. दामोदर पुडासैनी ‘किशोर’।
कतिपय नियात्राकार ‘इन्स्पाइरिङ’ लाग्छन् अर्थात्, फलानाले त नियात्रा लेख्यो, म किन नसक्नू! तर, डा. दामोदर पुडासैनी ‘किशोर’ को नियात्रा पढ्दा भने ‘प्रस्परिङ’ लाग्छन् अर्थात्, यस्तो लाग्छ कि– नियात्रा उनले मात्र लेख्न सक्छन्, म सक्दिनँ सायद।
राजधानीको काँठमा जन्मिएका डा. पुडासैनीको पछिल्लो शक्तिशाली नियात्रा कृति हो– ‘ग्रीष्मको नीलो बतास’। थुप्रै कविता कृति प्रकाशित गरिसकेका उनका यसअघि ‘यात्राका पे्रमिल तरङ्गहरू’(२०६५), ‘नमेटिएका चित्रहरू’(२०७०),‘मायालु हुम्ला’(२०७१), ‘सिमानाको रङ्गःसिमानाको तरङ्ग’(२०७२.), ‘पर्खालभित्रको राजधानी’(२०७३) लगायतका नियात्रा कृतिहरू प्रकाशित छन्।
नियात्राकार पुडासैनीले विसं २०७० जेठ १७ देखि २२ सम्म खप्तडलाई गन्तव्य बनाएर यात्रा गरे। कर्मचारी हुनुको नाताले उनी २०६८ माघ २२ र २३ गते डडेलधुराको शेरी र बेलापुरसरकारी कामकाजको सिलसिलामा पुगेका थिए। त्यही परिप्रेक्ष्यमा माघ २० गते निजी भ्रमणमा भारतको नैनीतालसम्म पुगे। ‘ग्रीष्मको नीलो बतास’ यिनै यात्राका सिलसिलामा देखे–भोगेका प्राकृतिक, सामाजिक तथा सांस्कृतिक परिवेष्टन र विभिन्न परिघटनाका सन्दर्भमा स्वःस्फुरित मानसिक, आत्मिक एवं वैचारिक चिन्तनाको सुन्दरतम् अभिव्यक्ति हो।
यस संग्र्रहमा ‘काँचो रगतको अभिलेख’, ‘भालुवाङको भात’, अँध्यारोभित्रको उज्यालो’, ‘स्याउलीको चुरीफुरी’, ‘सुसायो सल्ला सरर’, ‘फूलबुट्टे बादलः फूलपत्रे धरती’, ‘झिग्राना फाइब स्टार’, ‘गन्तव्य चिसापानी’, ‘कुहिरोले सम्झाएको जवानी’, ‘फूलको जुलुसमा राँगाको रन्को’, ‘कुमारी पाटनका लयहरू’, ‘कुहिरोका केस्राकेस्रामा’, ‘ब्यूँझेको जीवनः ब्यूँझेको समय’, ‘कोरसमा एक झोक्का’, ‘खप्तडको खसखस’, ‘ग्रीष्मको नीलो बतास’, ‘डेढ होटेलको मेजमानी’, ‘सेती किनारको सपना’, ‘रगतको होली’, ‘पहाड ब्यूँझेको बेला’, ‘बेलापुर ब्लुज’, ‘एक सुपात्रसँग एक दिन’, र ‘नीलो आँखा र नीला छायाहरू’, गरी २३ थान फुटकर नियात्रा सङ्गृहीत छन्।
नियात्राकारले ‘काँचो रगतको अभिलेख’, रचना मार्फत् नियात्राको उठान गरेका छन्। २०७० जेठ १७ गते मध्याह्नमा काठमाडौंबाट खप्तड यात्राका लागि प्रस्थान गरेका उनी भोलिपल्ट अर्थात् १८ गते बिहान सुदूर पश्चिमको कैलाली ओर्लेर डडेलधुरातर्फको यात्रा तय गर्छन् र सोही दिन डडेलधुरा पुग्छन्। यात्राको क्रममा भालुवाङको भट्टीमा उनले प्रत्यक्ष देखेको ‘हाइजिन’, ‘सेनिटेसन’ र खाना खाँदाको रोचक प्रसंग छ– ‘भालुवाङको भात’मा। उनले राजमार्गका रेस्टुरेन्टहरू कस्ता हुन्छन् र यात्रुहरूले कसरी ठगिनुपर्छ भन्ने कुरालाई सटीक ढंगले प्रस्तुत गरेका छन्। तराईबाट पहाड उक्लने क्रममा पहरा कोपेर बनाइएको भासुको भीरको सडकमा यात्रुहरूले वाकवाकीको वर्षा गराउँदा सबैको पेट रित्तिएको प्रसङ्ग निकै रोचक छ।
अघिल्लो पटक उनी महालेखा परीक्षकको हैसियतले आउँदा घुमिसकेको ठाउँ हो–डडेलधुरा। उनी त्यतिखेर डडेलधुराको शेरी र बेलापुरका बस्तीमा पुगेका थिए।
दुई वटा नियात्रा रचना ‘पहाड बिउँझिएको बेला’ र ‘बेलापुर ब्लुज’ त्यही बेला गरिएको भ्रमणका उपज हुन्। ‘पहाड बिउँझिएको बेला’मा गाउँगाउँमा विकास योजनाहरू कसरी पुग्छन्, राज्यले पठाएको रकम कसरी दुरूपयोग हुन्छ र त्यहाँको विकासको अवस्था कस्तो छ भन्ने कुरालाई उजागर गरेका छन्। यसमा आगो तापेर बाँच्ने मान्छेहरूका कथा र गगने पार्कीको टुपी कलाको रोचक बखान गरिएको छ।
नियात्राकारको चाखलाग्दो प्रस्तुतिले यी दुवै रचना पठनीय बनेका छन्। यसअघि गरिएको नैनीतालको भ्रमणमा नैनीतालको यात्रालालाई आकर्षक ढङ्गले वर्णन गरिएको छ भने उदारता र सहयोगी भावना भएका चालक जावेद खानको प्रशंसा गरिएको छ। ‘एक सुपात्रसँगको एकदिन’ नियात्रामा उनै चालक केन्द्रमा छन्। ‘नीलो आँखा र नीला छायाहरू’ मा सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्धमा कुमाउ, गढवाल जितेको र १८४१ नैनीताल पनि अंग्रेजले हात पारेको प्रसंग उप्काएका छन्। चुम्बकले फलाम ताने झैं यी दुवै नियात्राले पाठक तान्छन्।
खप्तड तर्फको यात्रामा उनले प्रकृति खोज्दै हिँड्दा जीवनसँग सम्बन्धित थुप्रै प्रश्न भेटेका छन्। खोचहरूमा उमंगले उचालिएका छन्। थकाइको पौंजामा ज्यानलाई राखेर पनि अक्लान्त छन् उनी। यात्राका पाइला–पाइलामा दूरदराजका अनेक अर्थ खोजेका छन्। उकाली, ओराली र घुम्तीहरूमा जीवन ऊर्जा भेटेका छन्। उनले गोरेटा र जंगललाई बिउँझाएका छन्। कुहिराका केस्रा पन्छाउँदै तिर्खा बटुल्न खोजेका छन्। अँध्यारोका तरंगमा पनि उनका नजरका ज्योति खुलेका छन्। जीवनलाई फरक रङ, फरक कोण र फरक आयतनमा रूपान्तरित गरेका छन् र उनले त्यही अनुरूप परिभाषित गरेका छन् यात्रालाई।
झिग्राना पुग्दा नियात्राकारको टोली‘झिग्राना फाइब स्टार’ मा रात बिताउन पुग्छन्। विकट ठाउँको होटल। खानपानको दयनीय अवस्था। उपियाँ, भुसुना, उडुस र लामखुट्टेले टोकेर रातभर आँखा झिमिक्क गर्न नपाएको सन्दर्भ। यी सबै कुरालाई अत्यन्तै सुरम्य तरीकाले पस्किएका छन् यो नियात्रामा। उनले बीच पानीमा पनि भोगेका छन् उही व्यवधान, जसलाई ‘ग्रीष्मको नीलो बतास’ शीर्षकीय नियात्रामा प्रस्तुत गरेका छन्। ‘कोरसमा एक झोक्का’ मा गोठालो मीनबहादुर रावलको दिनचर्या र उनले तिलका गेडाझैं कुटुकुटु जुम्रा चपाएको प्रसंग कम्ता रोचक छैन। यी नियात्राहरूमा भारी बोकेर जीवन निर्वाह गर्ने बझाङका भरियार गोठालाका कथाव्यथालाई उनले मर्मस्पर्शी ढंगले पेस गरेका छन्।
यात्राबीचमा एउटा बहुला राँगोको त्रासदीमा पर्छन् नियात्राकारको टोली। बहुलाएको त्यो राँगालाई तिहुन बनाएको खबर पाएपछि मात्र ढुक्कले यात्रा अघि बढेको सन्दर्भ उतारेका छन्–‘फूलको जुलुसमा राँगोको रन्को’ नियात्रामा।
नियात्राकारको अन्तिम गन्तव्य हो–खप्तड। उनले ‘खप्तडको खसखस’ नियात्रामा खप्तड स्वामीको जीवन कथा, उनको ठौर–ठेगाना र नेपाल छिरेको प्रसंगबारे अवगत गराउँदै स्वामीका योगदान र उनीसँग सम्बन्धित अनेकौं आश्चर्यपूर्ण कहावतहरूलाई रिटिक्क पारेर गरिएको इतिवृतले पाठकको खप्तड बाबाप्रतिको खसखसलाई मजाले मेटाउँछ।
नियात्राको रूपमा प्रकाशित भएको ‘ग्रीष्मको नीलो बतास’ खालि कोरा वर्णनको पन्तरो मात्र होइन। यो निःसन्देह यात्रा साहित्य हो। नियात्रामा प्रयुक्त भाषा शैली बिलकुलै साहित्यिक छन्। एउटा नियात्रा खास अर्थमा नियात्रा बन्न नियात्राका तत्वहरूले भरिपूर्ण हुनुपर्छ। नियात्रामा गतिमयतासहित प्राकृतिक सौन्दर्य वर्णन, निजत्वका फ्लेवर, स्थानीयता, सामाजिकता, सूचनात्मक ग्रहणशीलता, चित्रात्मकता, तुलनात्मकता, जनजीवन एवं सांस्कृतिक पक्षको प्रस्तुतिले नियात्रालाई पठनीय बनाउँछ।
यी सबै तत्वको सघनता छ–‘ग्रीष्मको नीलो बतास’मा। नियात्राकारको काव्यात्मक एवं आख्यानात्मक शैलीले साहित्यानुरागीलाई प्रभाव पार्नसक्ने सामथ्र्य छ। बहुआयामिक प्रवृत्ति र विशेषता हुनु नै पुडासैनीको वैशिष्ट्य हो।
उनी प्रकृति वर्णन निकै चाखलाग्दो किसिमले गर्छन्। धेरै ठाउँका वर्णनमा चित्रात्मक शैलीको प्रयोग गरेका छन् उनले। यसैको एउटा दृष्टान्त–‘सपक्क मिलेको नीलो आकाश फैलिएको छ परसम्म। त्यही आकाशलाई उभिएर छेक्दै छन् नीला र राता डाँडाहरूले। पूर्व र दक्षिण पूरै आकाश छेकेर उभिएको छ राजपुर डाँडो।’‘फूलबुट्टे बादलः फूलपत्रे धरती’, (पृष्ठ ५६)
प्राकृतिक सौन्दर्य वर्णनकै सिलसिलामा उनले प्रयोग गरेको भावुकतापूर्ण शैली यस्तो छ, ‘नैनीताल नियाल्दानियाल्दै मैले प्रिय आँखाहरू सम्झिएँ। ती आँखाहरूले बोल्दै नबोली प्रेमका धेरै झरना बगाउँछन्। निर्दोष आँखाहरू हेर्दा मलाई सागरमा पौडिएझैं लाग्छ। ती आँखाहरू आकाशमै सफा बन्छन् र निरन्तर सत्यका लागि फर्फराइरहन्छन्।’ ‘नीला आँखा नीला छायाहरू’, (पृष्ठ २८०)
नियात्राकार पुडासैनी पेसाले सेवा निवृत्त निजामती कर्मचारी हुन्। महालेखा परीक्षक थियो उनको पद। बेलापुरको निरीक्षणमा खटिएका बेला विकास नभएको अर्थमा जनताको आक्रोश सुनेपछि यसरी जनताको अभिव्यक्तिमा सम्मति राख्छन्,‘गाउँगाउँमा विकास योजनाहरू कि त पहुँचको आधारमा छानिन्छन् कि मनपरी लाद्छ जिल्ला विकास समितिले। राजनीतिक पहुँचको आधारमा अनावश्यक ठाउँमा धेरै योजना सञ्चालित छन्। कार्यक्रम नै सञ्चालन नगरी खर्च लेख्ने रोग छ।’ ‘पहाड ब्यूँझेको बेला’, (पृष्ठ २३२)
यस संग्रहमा बेहिसाब आक्रोश, विद्रोह र व्यंग्य पाइन्छन्। नियात्राका प्रत्येक वाक्यले पाठकको हृदयको तारलाई झङ्कृत तुल्याउँछ र मस्तिष्कमा कम्पन छुटाइदिन्छ। मनलाई झस्काउँछ, चेतना जागृत गराउन बाध्य बनाउँछ। नियात्राकार मानवीय संवेदनाप्रति अत्यन्तै संवेदनशील छन्।
बाजुराका गोठाला रमेशबहादुर रोकायाले अजातको श्रीमती बिहे गरेको भनेर उनका बाबुआमाले घरमा नभित्र्याउने भनेको प्रसंग यसरी अभिलिखित गरेका छन्,‘यो जात भन्ने कुरा किन बनाएका होलान् मान्छेहरूले? बल हुनेले बल नहुनेलाई हेप्न र थिच्न बनाएका हुन् बित्थामा यो जातको चलन। मान्छे जन्मेपछि ‘मान्छे’ भइहाल्यो नि उसको जात।’ ‘कुहिरोका केस्राकेस्रामा’, (पृष्ठ १२३)’
खप्तडका गोठालाको हालत देख्दा सानसँग बाँचेका युरोपका काउब्वाइहरू सम्झन पुग्छन् उनी। दूरदराजका जनताप्रति सरकार उत्तरदायी नभएकोे अर्थमा उनले मनको तितो मनमै यसरी पोखेका छन्, ‘सरकार भनेको पनि ठाठाबाठाकै मुठीमा अलमलिइरहने हो, विकासोन्मुख देशहरूमा। गाउँ, खर्क र पाटनका गोठालाहरूलाई न राज्यका उज्याला कार्यक्रमहरूले छोएका छन् न राज्यले केही गर्छ भन्ने विश्वास छ।’
सामाजशास्त्रीय, राजनीतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक र अर्थशास्त्रीय आयामसँग सम्बन्धित देखाइ, भोगाइ र बुझाइहरूलाई साहित्यिक रङ छरेको कारणले नै नियात्रालाई सुन्दर बनाएको छ। उनी आफ्नो अन्वेषणमुखी प्रवृत्तिलाई यसरी अनावरण गर्छन्,‘शेरीमा दश वर्षअघिसम्म एउटै घर थिएन। एउटा पाटी थियो। अहिले जस्तो सिरक–डसना कहाँ पाउनु?’ ‘बेलापुर ब्लुज (पृष्ठ २४३)
उनको बुझाइमा जीवनको परिभाषा पृथक् खालको छ। जीवनको यथार्थलाई यसरी अभिव्यक्त गर्छन् उनी, ‘पाइलाहरू सधैं सजिलोमा टेकिंदैनन्। आँखाहरूले सधैं सुन्दर मात्र देख्न सक्छन् भन्ने छैन। भेटिएकाहरू सबैसँग न्यानो सम्बन्धको पुल खडा हुन्छ भन्ने छैन।’ ‘काँचो रगतको अभिलेख’, (पृष्ठ७)’
नास्तिकवादी भावना भएका कवि एवं नियात्राकार पुडासैनी भन्छन्,‘भ्रमको घर मात्र हो मन्दिर’।’ मान्छेहरूले मन्दिरलाई आस्थाभन्दा धार्मिक व्यापारमा प्रयोग गरेकोमा असन्तुष्टि जनाएका छन्। मान्छेहरू मन्दिर पस्नुलाई भ्रम ठान्दै यस्तो अभिव्यक्ति दिन्छन् उनी, ‘मान्छे भ्रम बिसाउन मन्दिर पस्छ, भ्रम सकिन्छ भन्ने आशा गर्छ र अन्त्यमा पुनः भ्रम थपेर बाँच्छ। मन सफा, सुन्दर र ताजा नभए मन्दिर कुनै औषधि होइन।’ ‘रगतको होली’, पृष्ठ २११)
छोटकरीमा भन्नुपर्दा लेकाली परिवेश, त्यहाँको सौन्दर्य र सुगन्धको सुन्दर तरङ्ग हो– ‘ग्रीष्मको नीलो बतास’। यसमा समेटिएका छन्–यात्राका सम्पूर्ण उतारचढावहरू। कृति पढ्दापाठकको चेतनामा स्वयंले गरेको नेपाल दर्शनको ‘फ्ल्यासब्याक’ आइरहन्छ। अभिव्यक्ति रोचक छन्। प्रतिकात्मक र विम्बात्मक छन्। ओजपूर्ण र कुतूहलपूर्ण छन्। फरकफरक विम्बमा शब्दहरू उनिएकाले सिंगो नियात्रा जति सुन्दर भएको छ, त्यतिकै, शक्तिशाली पनि। नियात्रामा उनले प्रयोग गरेका विम्बहरूका दृष्टान्त यस्ता छन्, ‘जंगल त्यति घना छैनन्। भुत्ल्याइसकेका खसी जस्ता छन्।’ ‘फूलबुट्टे बादलः फूलपत्रे धरती’,(पृष्ठ ५९)
‘घोडा चढेको बूढो बादशाह जस्तै उभियो हाम्रो अघिल्तिर साँझको अन्धकार।’ ‘झिग्राना फाइब स्टार’, (पृष्ठ ६८)
‘डुब्दै गएको घाम बन्यो दाइको अनुहार।’ (पृष्ठ७०)
नियात्राकारले कतिपय ठाउँहरूमा आफ्ना अनुभूति र ठाउँ विशेषका यथार्थहरूलाई लाक्षणिक शैलीमा प्रस्तुत गरेका छन्, ‘मुसुक्क हाँस्दा घाम नीलो बन्छ र लहरिन्छ, ग्रीष्मको नीलो बताससँग। नीलो आकाश छुँदै हिँड्दा पाइला र मुटुले सर्वोच्चानन्दको नीलो रूप धारण गरेको छ। हामी हराएका छौं नीलो संसारमा।’‘ग्रीष्मको नीलो बतास’, पृष्ठ (१६८)
नेपाली सामाजिक परिवेशको बेजोड प्रस्तुति हो–‘ग्रीष्मको नीलो बतास’। समाजको यथार्थ विम्ब भनेको मुलुकको वर्तमान कालखण्डको जीवन्त कहानी हो। एउटा साहित्यिक दस्तावेज हुँदै हो।
यस कृतिमा भावनालाई ‘थिम’ मा भएको आलंकारिक शब्दहरूको सजावटले कलात्मक प्रस्तुति दिन सक्नु उनको सन्दरतम् पक्ष हो। आन्तरिक सौन्दर्य, देशप्रेम र क्रान्तिकारिताले भरिएका विषयवस्तु समावेश गर्नु उनकोे विशेषता नै हो। नियात्रा लेख्दालेख्दै उनले गहिराइमा पुगेर नेपाल लेखेका छन्। तत्–तत् ठाउँका नेपालीको जीवन लेखेका छन्। यथार्थमा नियात्रा भनेको पनि यही नै हो।
समकालीन नियात्राकारभन्दा पृथक् पक्ष भनेको उनका प्रत्येक नियात्राका शीर्षकमुनि राखिएका उद्धरण हुन्। यी उद्धरणले प्रत्येक नियात्रा रचनामा उनले प्रवाह गर्न खोजेको सन्देशको प्रतिविम्बन गरेका छन्।
कतिपय कुरा त्यस्ता पनि हुन्छन्, जसलाई व्यक्त गर्न कठिन हुन्छ, जस्तै– पानीको स्वाद।
साँच्चै पानीको स्वाद जस्तै लाग्छन् उनका बोझिल शब्दहरूको प्रयोग र नियात्रामा भएका प्रसंगवश जोडिएका प्रसंगहरू। ती अत्यन्तै लामा छन्।
नियात्रा पढ्दै गर्दा नियात्राभित्रै अर्को कुनै निबन्ध पढिरहेझैं लाग्छ। तिनले नियात्राको गतिशीलतालाई स्वाभाविक रूपमा अवरोध गरेकोे आभास हुन्छ। उनका नियात्रामा यस्ता कुरा मात्र नहुने हो भने निःसन्देह आम नियात्राकारले दामोदर पुडासैनीलाई आकाशतिर फर्केर हेर्नुपर्ने हुन्छ।
अन्तमा, डा. पुडासैनीको नियात्रा कृतिमा अनन्तता आओस्। शुभकामना!
प्रकाशित: ७ फाल्गुन २०७८ ०५:३८ शनिबार