विमल अधिकारी
१)विषय प्रवेश –
भर्चुअल संसार मार्फत मेरो म्यासेन्जर बक्समा
‘ब्रिटिश ओइदर’ नामक पुस्तकाकार कृति प्राप्त भयो। यसका रचनाकार रहेछन् डा. रामहरि पौड्याल। आशा गरी पठाउँदै समीक्षा गरिदिनहुन अनुरोध गरिएकाले नाइँ भन्न सकिनँ। वचन दिएपछि पूरा गर्नुपर्छ भन्ने मेरो मान्यता छ।
अतः पूरै पुस्तक पढें मैले। साहित्यमा बढी रुचि राख्ने नयाँ लेखकहरूको कृतिलाई नव समीक्षकले दुईचार अनुच्छेद लेख्न पाउनु पनि मेरो समीक्षा तिखारिनु हो भन्ने ठानें र केही लेख्ने निधो गरें। चितवनको भरतपुरमा जन्मी/हुर्की/पढी इन्जिनियर बनेका रामहरि पौड्याल थप उच्च शिक्षा एवं विद्यावारिधि गर्न सात समुन्द्रपारि बेलायत पुग्छन्।
आफ्नो जीवनयापनको माध्यम इञ्जिनियरियङ पेसालाई मान्दै काममा तल्लीन भए पनि बाल्यकालदेखिको रुचिको विषय साहित्य सिर्जनातर्फ पनि बेलाबेला एकोहोरिन्छन्। घोरिन्छन्।
डायस्पोरामा बसेर पनि जनजीवनको अध्ययन,चिन्तनमनन लेखन गरी साहित्येतर र साहित्यिक लेखन गरी नेपालको प्रसिद्ध गोरखापत्र, नागरिक, कारोबार, काठमाडौं पोस्ट, हिमालयन टाइम्स, चितवन पोस्ट आदि मार्फत बेलाबेलामा देखिन्छन्।
रामहरि पौड्यालले विसं २०७५ मा २१ ओटा रचनाको संग्रह ‘ब्रिटिश ओइदर’ प्रकाशित गराउँछन् शब्दार्थ प्रकाशन मार्फत। उनले यस कृतिलाई आख्यान विधा भनी बताए पनि निबन्धात्मक/संस्मरणात्मक/नियात्रात्मक खाले पुस्तक मानिने प्रशस्त आधार देखिन्छ। कथातत्त्वमा आधारित रही सशक्त रूपमा कृतिको संरचना नभएको हो कि भनी प्राय पाठक समीक्षकले टिप्पणी गर्न सक्छन्।
लेखक रामहरिले विधागत तत्त्वलाई ख्यालै नगरी कथा कृति भनेकाले यो स्तम्भकार पनि कथा विधाको आलोकमा प्रस्तुत कृतिलाई बुझ्ने कोसिस गर्दछ। कथा नजिकको लेखनअघि आख्यान भनी अग्रज समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमले पुस्तकको भूमिकामा बताएका छन्।
उक्त भनाइप्रति सहमति राख्दै यो स्तम्भकार पनि त्यस्तै चिन्तनमा रही कृतिको समीक्षा गर्ने चेष्टा गर्दछ। डायस्पोरिक जीवनको पीडा बोकेको संग्रह ‘ब्रिटिश ओइदर’ का २१ कथाको सटीक टिप्पणी गर्दै अघि बढ्नु उपयुक्त हुन्छ।
२) रामहरि पौड्यालको ‘ब्रिटिश ओइदर’ कथासंग्रहका कथाको सटीक टिप्पणी
प्रस्तुत संग्रहमा २१ कथा छन्। प्रत्येक कथाको टिप्पणी यसरी गरिन्छ –
२.१ त्यो महानतालाई सलाम
प्रस्तुत कथा पशुपन्छीको अधिकारको पक्षमा लेखिएको पाइन्छ। पशुपन्छीको आपसी मित्रता, दुःखमा सहानुभूति जनाउने सामूहिक शैलीलाई घट्दै गएको मानवीय समवेदना र शैलीसँग तुलना गरिएको छ।
२.२ फर्वार्डेड म्यासेज
अप्ठ्यारोमा परेकालाई सहयोग गर्नुपर्छ। त्यो पनि धर्म हो। त्यस्तो पुण्य कर्ममा नै आत्मसन्तुष्टि मिल्छ भन्ने सन्देश बोकी लेखिएको रचना हो ‘फर्वार्डेड म्यासेज’।
२.३ रुमानियन रुपसी
लेखकले बेलायती जीवनमा देखेभोगेका विकृत–विसंगत पक्षलाई यस कथामा प्रस्तुत गर्न खोजेका छन्।
२.४ फेरि उनको याद आएको छ
स्वार्थी प्रेमप्रति प्रहार गरिएको रचना हो ‘फेरि उनको याद आएको छ।’
२.५ होलिडे डिज्यास्टर
नेपालमा विसं २०७२ वैशाख १२ मा गएको शक्तिशाली भूकम्प एवं पश्चिमी संसारको रंगीन दुनियाँलाई तुलनात्मक कथ्य बनाइएको निबन्धात्मक शैलीको कथा हो– ‘होलिडे डिज्यास्टर।’
२.६ बुद्ध बर्न इन नेपाल
थाइल्याण्ड भ्रमण गर्दा म पात्रले अनुभूत गरेका विषय प्रस्तुत कथामा समावेश भएको छ। आफ्नो राष्ट्रियता स्वाभिमानप्रति खरो उभिएर कथा समाप्त भएको छ। वर्णनात्मक, नियात्रात्मक सम्सराणात्मक शैलीको रचना हो ‘बुद्ध बर्न इन नेपाल।’
२.७ रिसेसन
सन् २००८ मा बेलायतमा देखिएको आर्थिक संकटले जीवनमा पारेको गम्भीर प्रभावलाई वस्तुपरक निबन्धात्मक शैली प्रस्तुत गरिएको रचना हो– ‘रिसेसन’।
२.८ रिफ्युजी
विदेशी सपना, डायस्पोराको पीडा एवं मानवीय जीवनको जटिलता–व्यथाको चित्रण भएको बेलायती कार्य पीडाको रचना हो–‘रिफ्युजी’।
२.९ स्टेप ड्याड
पारिवारिक विचलन, बालमनोविज्ञान एवं राष्ट्रियताको पाठ भएको रचना हो– स्टेप ड्याड’।
२.१० टेस्ट ट्युब वेवी
मातृत्वको महत्त्व गर्न दर्शाउँदै अतीतलाई सम्झिएर नापछुताउनु भन्ने सन्देशको रचना हो– ‘टेष्ट ट्युब वेवी’।
२.११ अविरल यात्रा–रोमाञ्चक द्वन्द्वहरू
जापानको परिवेशमा लेखिएको प्रस्तुत कथाले एक असाध्य रोगबारे जानकारी दिएको छ। मूलतः कथा सन्देशमूलक देखिन्छ।
२.१२ साइबर प्रेम
काठमाडौंको कार्यपीठिकामा अघि बढेको प्रस्तुत कथा भर्चुअल संसार र अपराध मनोविज्ञानको विषयसँग सम्बन्धित छ। तृतीय पुरुष दृष्टिबिन्दु शैलीको प्रयोग गरी लेखिएको ‘साइबर प्रेम’ कथा समसामयिक एवं रोचक छ।
२.१३ सरोगेट कन्ट्री
प्रस्तुत रचनामा नेपालको समसामयिक राजनीतिक विकृतिविसंगति देखाई देशप्रति गम्भीर चिन्ता प्रकट भएको छ। जनताका छोराछोरीलाई गुमराहामा राखी नेतृत्व तहले मात्र फाइदा लिइरहेकोमा आक्रोश पोखिएको छ।
२.१४ ब्रिटिश ओइदर
बेलायती (डायस्पोरिक) जनजीवनमा देखेभोगेका घटनालाई वर्णनात्मक निबन्धात्मक शैलीमा लेखिएको ‘ब्रिटिश ओइदर’ कथामा कथाकारले बेलायती जनजीवन र परिवेशलाई देखाउने कोसिस गरेका छन्।
२.१५ मृत्यु उत्सव
मृत्यु शाश्वत सत्य हो। मृत्युलाई पनि सहज रूपमा लिनुपर्ने सन्देश दिंदै बेलायती जनजीवनमा रहेको क्रिश्चियन संसार, मलामा जाँदाका परिवेश आदिलाई देखाउन खोजेको पाइन्छ।
२.१६ सरोगेट मदर
सन्तान सुखका लागि दम्पतीले जुनसुकै मूल्य चुकाउन पछि पर्दैनन् भन्दै सन्तान सुख जस्तो ठूलो सुख संसारमा अरू छैन भन्ने सन्देश बोकेको छ प्रस्तुत कथाले। सरोगेट कथा मार्मिक कथा हो।
२.१७ बेलायती पासपोर्ट
विदेशमा सेटल हुँदाको संघर्ष एवं वर्तमानमा भोगिएको मानसिक पीडालाई कथामा देखाइएको छ। आफ्नो पहिचान एवं माटोमा गर्भ गर्न आह्वान गरिएको पाइन्छ कथामा। प्राकृतिक एवं पूर्वीय संसारलाई छाडेर भौतिकवादमा रमाउन खोज्दा निराशा मात्र हात पारेको अनुभूति पोखिएको छ। डायास्पोरिक पीडा देखाउनु नै प्रस्तुत ‘बेलायती पासपोर्ट’ कथाको उद्देश्य देखिन्छ।
२.१८ बायोलोजिकल डटर
आत्मसंस्मरण शैलीको प्रस्तुत कथा जापानको भूगोलमा घुमेको छ। कथामा डायस्पोराको पीडा पारिवारिक विचलन, नारी व्यथा एवं नारी महानतालाई देखाइएको छ। प्रस्तुत कथा पढेपछि साहित्यिक रंग बढी भएको महसुस गर्छन् पाठक।
२.१९ मेरो गाउँ
दिनप्रति दिनको शहरीकरणले प्रकृतिको विनाश भएको, मानवीय, प्राकृतिक जीवनको ह्रास भएको आदिप्रति गम्भीर ध्यानाकर्षण भएको कथा हो मेरो गाउँ। लेखक रुसोको ‘प्रकृतितर्फ फर्क’ ब्याक टू नेचर भन्ने सिद्धान्तबाट बढी प्रभावित देखिन्छन्। ठाउँठाउँमा कवितांशको प्रयोगले लेखकले आफ्नो क्षमता प्रदर्शन गर्न खोजेका छन्।
२.२० सर्टिफिकेटको चाबी
सत्य डगदैन झुटो टिक्दैन भन्ने उखानलाई चरितार्थ गर्ने खाले कथा हो यो। झुक्याएर बिहे गर्ने/गराउने कुराले दीर्घकालीन मनोवैज्ञानिक असर पर्ने भन्दै ब्ल्याक मेलिङ कसैले पनि गर्न नहुने भनी सुझाएको छ ‘सर्टिफिकेट को चाबी’ मार्फत।
२.२१ बेलायती बाढी
प्रकृतिका विवध रूप, डायस्पोराको परिवेश,नेपालको मायालाई ‘बेलायती बाढी’ कथामा कथ्य बनाइएको छ। समुन्द्र आसपास घर किनी बसेको कथा पात्र सन्त्रासमा बाँचिरहेको छ भन्दै आफ्नै देश नेपाल नै प्यारो भन्ने सन्देश दिइएको छ। विदेशी सपना देख्नेहरू पनि चैनले बाँच्न नसकिरहेको यथार्थ प्रस्तुत कथामा भेटिन्छ।
३) कथाकार रामहरि पौड्यालको ‘ब्रिटिश ओइदर’ को शक्ति र सीमा
हरेक कृति उद्देश्यमूलक हुने गर्छन्। प्रत्येक विधाका आफ्ना तत्त्व हुने गर्छन्। रामहरि पौड्यालले ‘ब्रिटिश ओइदर’लाई कथा आख्यान भनी उल्लेख गरे पनि आख्यान नजिकको कृति त मान्न सकिन्छ। कथाका तत्त्वहरूमा कथानक, पात्र,परिवेश, दृष्टिबिन्दु, उद्देश्य, भाषाशैली र शीर्षक सार्थकता पर्छन्। रामहरिको लेखनमा यी तत्त्व भए पनि सशक्त रूपमा प्रस्तुत हुन नसकेको महसुस पाठक–समीक्षकले गर्न सक्छन्।
सात समुन्द्रपारि मूलतः बेलायतकै परिवेशमा कथानक घुमे पनि प्राय लेखकको अनुभूति भोगाइ नै भेटिन्छ। प्रयास राम्रो भए पनि कथानकताले सम्पन्न नभएको महसुस हुन्छ। लेखक पौड्याल जहाँ पुगे पनि नेपाली माटो जनजीवनप्रति गर्व गर्छन् नेपालप्रति चिन्तनमनन गर्छन्। विदेशी सपना देख्नेहरूलाई सजग गर्छन् कथा मार्फत। सिर्जना भनेको एक कला हो। कला समाजका लागि पनि हो।
स्वान्त सुखायका लागि लेखिएको हो या समाजका लागि प्रश्न सोध्न सक्छन्। पाठक प्रतिस्पर्धाको जमानामा लेखक रामहरि पौड्यालले आक्रामक रचना अध्ययन गर्दै विश्वस्त भएपछि मात्र कलम चलाउनु उपयुक्त हुन्छ।
साहित्यप्रतिको रुचि रहर भएर मात्र हुन्न। कलाशैली पनि हुनुपर्छ। दैनिकी, संस्मरण र नियात्रामा स्थापित भइसकेपछि आख्यान विधामा हात हाल्नु उपयुक्त हुन्छ लेखक रामहरि पौड्याल साहित्य लेखनमा स्थापित होलान् तर साहित्यिक लेखनको प्रतिभा अभ्यासका साथ अघि बढ्नुपर्छ भन्ने सुझाव यो स्तम्भकारको रहेको छ।
४)निष्कर्ष
डायस्पोरामा बसेर नेपाली भाषासाहित्यको श्रीवृद्धिमा चिन्तन–मनन–लेखन गरिरहने इञ्जिनियर रामहरि पौड्याल प्रतिस्पर्धामा कथासंग्रह मार्फत साहित्यिक वृत्तमा देखिएको पाइन्छ। साहित्येतर ऊर्जा र वातावरण सम्बन्धी लेखहरू मार्फत फाट्टफुट्ट देखिइरहने पौड्याल आफ्नो पेशाबाट केही समय निकाली साहित्यिक चिन्तन गर्दै आफ्नो अनुभव–अनुभूति रचना मार्फत पोख्छन्।
सात समुद्रपारिको बेलायतमा बसी नेपाली भाषा,साहित्य र संस्कृतिको उत्थान गर्ने सोचका साथ अघि बढेका पौड्यालको साहित्यचाहिँ रुचि एवं सोखको विषयझैं लाग्छ। मूलतः पौड्यालले निबन्धात्मक वर्णनात्मक यात्रा वर्णात्मक शैलीमा प्रस्तुति दिने गर्छन्।
पत्र विधानको हिसाबले हेर्दा प्रस्तुत कृति निकै फितलो लाग्छ। सशक्त पात्र मार्फत कथानक बलियो हुन्छ तर लेखक रामहरिका पात्रहरू गौण, निरीह र कमजोर लाग्छन्।
थोरै पात्रको प्रस्तुतिमा पनि कथानक प्लट सशक्त हुन्छ। पात्र चयनमा लेखक कमजोर नै लाग्छन्। कतिपय कथामा म पात्रको प्रयोग गरिए पनि चरित्र चित्रणमा लेखक रामहरि सिकारु लाग्छन्। कथा तत्त्वमा पात्र विधान पनि महत्त्वपूर्ण हो भन्ने कुरालाई लेखकले खासै ध्यान पुर्याएझैं लाग्दैन। पीडा भोगेका पात्रहरूको दर्द पनि मार्मिक रोचक ढंगले प्रस्तुत गर्न नसकेको महसुस हुन्छ।
रामहरि पौड्यालका अनुभव र अनुभूति छताछुल्ल आएको पाइन्छ ‘ब्रिटिश ओइदर’ मा। विदेशी सपना डायस्पोरिक पीडा एवं राष्ट्रियता नै पौड्यालको प्रस्तुत कृतिको मूल कथ्य बनेको छ। परिवेशका रूपमा कहिले बेलायत, कहिले जापान, कहिले नेपाल फिलिपिन्स आए पनि मूलत कथानकहरू बेलायतकै परिवेशमा घुमेका छन्।
आख्यानमा दृष्टिबिन्दुको महत्त्वपूर्ण स्थान हुन्छ। यसको प्रयोग कथामा भएको पाइन्छ। प्रथम पुरुष दृष्टिबिन्दुको अधिक प्रयोग भए पनि तृतीय पुरुष दृष्टिबिन्दुको पनि कथा संरक्षित छन् विचार उद्देश्य पनि आख्यानको महत्त्वपूर्ण तत्त्व हो।
बिनाउद्देश्य त कुनै पनि रचना तयार गरिन्न। यहाँ लेखक रामहरिले मूलत डायस्पोरिक पीडा एवं राष्ट्रियताको विचार पोख्ने उद्देश्यले नै कथाहरू लेखेको पाइन्छ। पाठकहरूलाई सजग सचेत जानकारी दिन पनि लेखकले कतिपय कथा लेखेझै लाग्छ। डायस्पोरिक संसार भनेको भौतिकवाद हो। त्यहाँ हार्दिकता प्राकृतिकपन एवं अपनत्व पाउन गारो हुन्छ।
सामाजिक जीवन पनि निरस हुने गर्छ भन्दै गाउँठाउँ पुगेर रमाउने आग्रह गर्छन्। लेखक विदेशी चिल्ला गाडीमा हिँडे पनि चैनको सास फेर्न नसकिरहेको महसुस गर्दै लेखक पौड्याल परदेसिएका लाखौं युवालाई माटोको सेवामा लाग्न आह्वान गर्छन्। शैलीका दृष्टिले हेर्दा प्रस्तुत ‘ब्रिटिश ओइदर’ वर्णनात्मक, संस्मरणात्मक यात्रा र नियात्रा संस्मरण शैलीमा संरचित देखिन्छ।
साहित्यिक शब्द वाक्य प्रयोग प्रायः देखिए पनि कतैकतै अपाच्य अश्लील शब्दको प्रयोगले रामहरिलाई कमजोर र दुरूह पनि भन्न सक्छन्। अंग्रेजी संवाद पनि कथामा कतैकतै भेटिन्छ।
अहिलेका पाठकलाई बुझ्ने नभए पनि सरलतामा जोड दिन सकिन्थ्यो। अश्लील अंग्रेजी शब्दको प्रयोग भएको पाइन्छ। यसले रामहरिलाई कमजोर ठड्याउन सक्छ। कथाहरू वाक्यात्मक सत्तात्मक शीर्षकमा छन् कि प्राय शीर्षक अनुसारकै हुन्। मझौला छोटा आयामका कथा संरचना गर्न चाहने रामहरिले उत्तरआधुनिक विषयलाई चयन गर्न सक्नुपथ्र्यो। कथामा विविधता हुनुपथ्र्यो।
वैदेशिक रोजगार र त्यसले परिवारमा पारेको विचलनको विषय उठान गर्नुपर्थ्यो। नेपालको साथ समसामयिक सामाजिक राजनीतिक विकृति–विसंगति एवं उत्तर आधुनिकवादको विषय सीमा महत्त्वलाई उठाउनुपर्थ्यो। त्यस्तै तराई पहाडका समस्या सामाजिक विभेद र रूपान्तरणको विषय गम्भीर रूपमा कथा मार्फत उठाउनुपथ्र्यो तर यस कुरामा लेखकले ध्यान नदिएझैं लाग्छ।
बेलायतको भूगोलमा रही आफ्नो कर्मसँगै जनजीवनको अध्ययन र साहित्यिक चिन्तनमा रमाउन खोज्ने पौड्यालले एक पुस्तकाकार कृति प्रकाशित गराई आफ्नो साहित्यिक यात्रा सुरु गरेका छन्। कृति प्रकाशन गर्न गराउन पनि चानचुने कुरा होइन। प्रस्तुत ‘ब्रिटिश ओइदर’ पढेपछि पाठक समीक्षक कुन विधा हो भनी अलमलमा पनि पर्न सक्छन्।
जेहोस् कृतिले सात समुद्रपारिको जीवन भोगाइका पाठक समक्ष प्रस्तुत गरेको छ। दोष मुक्त हुने पनि रचना हुँदैन। प्रस्तुत कृतिमा पनि दोषहरू त छन्। आगामी दिनमा परिमार्जन गर्दै लानुपर्ने देखिन्छ।
मूलतः कला पक्ष विषयवस्तुको गम्भीरता एवं तत्त्वलाई विशेष ध्यान दिनु टड्कारो आवश्यकता छ। प्रस्तुत पुस्तकको आवरण कागजी गुणस्तर डिजाइन आकर्षक भएर हुन्न मूलतः रचनाले दीर्घकालीन प्रभाव छोड्न सक्नुपर्छ।
कथा पढिसकेपछि रोचक होस् छाप छोड्न सफल होस्। शुद्धि पठन गरिए पनि राम्रोसँग शुद्धाशुद्धि नभएको पाइन्छ। साहित्यमा रुचि राख्दै साहित्य सेवा गरेकामा रामहरि पौड्याललाई धन्यवाद। आगामी दिनमा राम्रो पाठक बन्दै विश्वस्त हुँदै परिमार्जन पुनर्लेखनका साथ साहित्यिक वृत्तमा देखियून् भन्ने शुभकामना। पौड्याल प्रतिभा–अभ्यासका साथ अघि बढे भने उनको सम्भावना देखिन्छ तर कलाशैली तत्त्व केन्द्रित भई साधनारत रहेमा।
प्रकाशित: ५ फाल्गुन २०७८ ०९:१३ बिहीबार