१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

वसन्ती र विनय

लघुकथा

टंकबहादुर आले मगर

शीत लहरले छोपेको पुसको जाडो महिना।

घरबारी साहुकोमा बन्धकी राखेर किनेको वसन्ती जाडोले थरथर कामिरहेकी थिई। अरूका घोडाघोडीलाई भने धुस्सा र दोलाइँ ओढाएको थियो।

थोत्रा सारी, बहिनीको फाटेको घाँगर, बाउको फाटेका बुस्कोट गाँसेर आमाले वसन्तीलाई नै भने गेंन्द्रा सिदेकी थिइन्। त्यो पनि  चोरी भएपछि सकस छ वसन्तीलाई। स्वयं विनय पनि पातुलो ठुटे बुस्कोट, ठुटे सुरुवाल र टायरको चप्पलले पौठे खेल्दै थियो, कमला खोलाबाट उठेको शीत लहरसँग।

विहार, भारतको जयनगर रेलवे स्टेसन। जाडोले निन्द्रा छिनेका सडक मान्छे र यात्रीहरूले बालेको  घुर ताप्न पुग्यो विनय। अगाडि तातिए पनि पछाडि जाडोले चिलिरहन्छ।

अरूको जस्तै विनयको कालो सिसिल्खुट्टे खुट्टोभरि बिराली निस्केर फुट्लाझैं थिए।

सवा पाँच  बजे  ठूलो हरण बजाउँदै रेलले स्टेसन प्रवेश गर्‍यो।विनय पनि जुरुक्क उठेर आङ तन्कायो। कमला खोला बगेको पूर्व दिशा फर्केर शुभ दिनको बल माग्दै ढोग्यो।

सात जना सवारी राखेर ‘चल रे वसन्ती’ भन्दै टाँगा हाँक्यो। पुल कटेपछि कमला बाँधको खाल्डाखुल्डी बाटो।

आज वसन्तीको अरू दिनझैँ  स्फुर्ति छैन। मानौं, घोडा हुनुको अभिशाप भोगिरहेकी थिई। मान्छे बचाउन र मान्छेलाई छिटो गन्तव्य पुर्‍याउन सकीनसकी दगुर्न परेको थियो।

यद्यपि सवारी करायो, ‘के हो भैया, यो टाँगा हो कि ठोटरी ? अरू कहाँ पुगिसके। बस छुटाउने भयौ।’

विनयले कलेजोमा ढुंगा राखेर वसन्तीलाई चाबुक हान्यो। वसन्ती पछाडिको खुट्टा उफारेर लिदी झार्दै अलिक पर पुगेर लम्पसार परी।

कुनै सवारीले त्यहाँसम्मको भाडा पनि नदी वसन्ती र विनयलाई सराप्दै गए।

पशु चिकित्सकलाई ल्याएर जचाउँदा थाहा भयो, वसन्तीले विनयलाई ऋणमा डुबाएर सधैंका लागि पराई भइछे।

प्रकाशित: २२ कार्तिक २०७८ ०५:५४ सोमबार

अक्षर