१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

वातावरण

लघुकथा

बालकृष्ण गजुरेल

‘तपाईको छोराको आजकाल पढ्नमा ध्यान नै छैन। सँधै उपद्रो र झगडा मात्र गर्दछ। लौ के गरम्? तपाईं नै भन्नुस्, सुमनजी।’ विकास श्रेष्ठले विद्यार्थी रेस्टिकेट गर्न प्रमाण पेश गरे।

‘केही समय दिनुस्। म आफैं आफ्नो छोरा निष्कासन गर्न अनुरोध गर्दछु।’ सुमनले प्रधानाध्यापकसँग अन्तिम अनुरोध चढाए।

अन्तिम परीक्षा सकियो। विद्यार्थीका चिन्ता हराए। सानो उमेरमा पढाइको भन्दा छुट्टीको मजा विद्यार्थीहरूलाई अति नै  हुने। सबै खुसी भए। शिक्षकहरू छुट्टीमा घर जान तम्तयार थिए। अन्तिम दिनमा विद्यालय समितिले शिक्षकहरूलाई भ्रमण लग्यो। मनाङ आफैंमा सौन्दर्यको खानी थियो। बाह्रमास ठण्डा रहने हुनाले तरकारी समेत आयात गर्नुपर्थ्यो। शिक्षकहरू मनाङ पुगेपछि बाहिर निस्केर अन्नपूर्ण हिमालको अवलोकन गर्न थाले। साँझमा खाना सोचेभन्दा मीठो बन्यो। उनीहरू दंग परे।

बिहान नौ बजेतिर सुमनले शिक्षकहरूलाई तरकारी खेती देखाउन लगे।हिमालको तरकारी खेती देखेर शिक्षकहरू छक्क परे। टनेलभित्र पसेर गोलभेडा, काँक्रो, भण्टा, बोडी लगायतका तरकारीहरू आफैंले टिपे।

‘होइन सुमन सर, कस्तो अद्भूत्? हिमालमा पनि यति सुन्दर तरकारी खेती गर्न सकिँदो रहेछ।’विकास श्रेष्ठ अनौठो मान्दै सोध्न थाले।

‘त्यही त सर। वातावरण सही भए उब्जाउ जता पनि हुन्छ।’ सुमनले मुसुक्क हाँसेर जवाफ फर्काए। हेडसर बोल्न नसक्ने भए।

प्रकाशित: ८ कार्तिक २०७८ ०८:५० सोमबार

अक्षर