११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

लौरो

लघुकथा

उमाकान्त पोखरेल

 

खै ! के हुनलाई हो, आज मन एकतमासको भैरहेको थियो।

यतिकैमा प्रिय मित्र विनोदले फोन गरेर बोलायो। हाम्रो भेट नभाको बर्सौं भाथ्यो।

मलाई लिन विनोद एक्लै स्टेसनमा आएकाले मैले सोधें, ‘मानस खोई त?’

मानस, विनोद र म सानैदेखिका साथी थियौं।

‘अरे यार! पहिले घर त जाऊँ, सबैसँग भेट हुन्छ।’ विनोदले सरल जवाफ दियो।

–तिमीले अझै विवाह गरेका छैनौ? ल छिटो गर, मानस र भाउजूलाई भेट्न जाउँ।

– अँ साँच्चि! मानसको नानी अब त ठुलो भयो होला है? आमाको हालखबर के छ? सन्चै हुनुहुन्छ नि ? मैले एकैपटक प्रश्नमाथि प्रश्न तेर्साएँ।

विनोद मौन थियो। मौनतामा उसले केही गहन कुरा लुकाएको जस्तो देखिन्थ्यो।

–तिमी मसँग केही लुकाउँदैछौ। कुरा के छ नढाँटी भन ।

‘पहिला भन तिमी के खाने ?’ विनोदले कुरा छल्न खोज्यो।

‘मेरो जवाफ पहिला’– मैले जिद्धी गरे।

विनोदले मेरो जिद्धी टार्न सकेन र भन्नथाल्यो–म विवाह गर्न सक्दिनँ अनि रह्यो मानसको कुरा।

‘मानसलाई अब ब्र्सि!

दुर्भाग्य मानस विदेशबाट आउँदाआउँदै सवारी दुर्घटनामा परेर बित्यो। केही दिनपछि भाउजूले छोरीलाई म भए ठाउँमा ल्याई  ‘एकछिन है बाबु! म आइहाल्छु’ भनी छोरीलाई मेरो जिम्मा छाडी हिंड्नुभाको, फरिे फर्केर आउनु भएन। मैले नि खोजिन। त्यसपछि छोरी मैले पालेको हुँदा आफ्नो विवाहको निर्णय दिमागबाट हटाएको हुँ।’

अनि कुनाको त्यो लौरो(बैसाखी )?  

– पूर्व कुनामा ठड्याएर राखिएको घुँघरुको लौरो ( बैशाखी) तर्फ ईसारा गर्दै मैले फेरि सोधें।

मेरो प्रश्नले विनोद केहीबेर मौन रह्यो अनि लौरो हातले सुम्सुमाई छातीमा टाँस्दै भन्न थाल्यो, ‘मानस विदेशमा थियो। मानसका अन्य दाजुभाइले आमाको हेरचाह नगरेको कुरा मैले सुनेपछि खोज्दै जाँदा आमालाई पछि वृद्धाश्रममा भेटे। तर अफसोस मेरो सौभाग्य भनौ वा दुर्भाग्य म भेट्न गएकै दिन अन्तिम दिन परेछ। मेरै काखमा आमाले अन्तिम सास छाड्नुभयो। अन्तिम सास छाड्ने समयमा आमाले मेरो कानमा फुस्फुसाउनु भाथ्यो, ‘बाबू ! तिमीले मेरो कोखबाट जन्म नलिए पनि जन्म लिएकाले भन्दा धेरै गर्यौ। मेरी नातिनी तिमीले पालेका छौ भन्ने थाहा पाउँदा खुशी लाग्यो। तिमी कति असल छौ। तिमी देव हौ।

‘मेरा यतिका सन्तान भएर पनि म वृद्धाश्रममा बस्नुपर्याे।  हेर न ! म हिँड्न नसक्ने भएको बेलामा छोराछोरीले दिने सहारा मलाई यही लौरो(बैसाखी) ले दिएको हुँदा मेरो प्रिय वस्तु हो यो। यसलाई जतन गरेर राखी मानस आएपछि दिनु।’

तर दुर्भाग्य त्यो लौरो मानसलाई दिन सकिन।

विनोदको पीडा आँखाको बाटो हुँदै भुईमा खसिरहेका थिए।

प्रकाशित: ३१ भाद्र २०७८ ०५:१५ बिहीबार

अक्षर