जितेन्द्र बस्नेत
कैशोर सम्मोहनमा उड्न नपाउँदै
मैले पासपोर्टमा फोटो टासें
गाउँ नजिकैको शहरसम्म नपुगेको म
कुन हिम्मतले विमानस्थलमा
आफन्तको खादा भिरें होला?
बाले रिनको, आवश्यकताको
लामो मोलतोल औंला भाँच्दै देखाउँदा
मैले कसरी आँखा जुधाएँ होला!
विचार गर त !
बाको झुकेको नुर उठाउन मलाई
सायद लामै समय लाग्ला,
त्यसैले देशमा अहिल्यै के फर्किनु र साथी!
सम्झन्छु,
बाको मनमा निराशाको ग्रीष्ममा पनि
आशाका बिउहरू उम्रिन थलिसके
यता मैले राम्रो बास पाएको छैन
शहर त ठुलो छ साथी,
मेरो सपनाभन्दा
त्यसैले कहाँ उभिएको छु
कुनै भेउ छैन।
घरबाट हिँड्ने बेलामा किनेको कमिज
अझै फेरेको छैन,
आफ्ना सपनाहरू त
गाउँकै सन्दूकमा थुनेर आएको म,
बालापन र किशोर मन सबैसबै।
त्यसैले मेरा हरेक निद्राहरू
आफ्नै घरको छानोमुनि निदाउँछन्
खासमा कहाँ सुतेको छु र,
हरेक रात, महिमा सकिने आशमा
तन्द्रामै बिउँझन्छु,
आउने बाटै यस्तो अलमल छ
देशमा अहिल्यै के फर्किनु र साथी!
मनमा रहर छ,
खाडीमा प्रहर छ,
साथी अब त लाग्छ मलाई
मेरै देशको माटोले चिन्दैन
आफैंले हिंडेको बाटाले चिन्दैन
किनकि मेरो देश खुम्चिँदै गर्दा
मैले बोलेको छैन
धेरै भो आफ्नो देश हेरेको छैन
सिरानीमुनिका सपना अझै अधुरा छन्
यस्ता अधुरा सपनाहरूको पोको बोकेर
देशमा अहिल्यै के फर्किनु र साथी!
प्रकाशित: २१ भाद्र २०७८ ०७:४७ सोमबार