२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml
कला

‘स्यानी’लाई सर्सर्ती पढ्दा

जयन्ती स्पन्दन

‘स्यानी’लाई सर्सर्ती पढ्दा

–जयन्ती स्पन्दन

विशेषत गीत, बालसाहित्य र शिक्षासम्बन्धी लेखहरू लेख्न रुचाउने खगराज बरालले यसपटक ‘स्यानी’ नामक पहिलो उपन्यास प्रकाशित गराएका छन् । आफ्नी दिवङ्गत आमाको स्मृतिमा बाल्यकालका भोगाइ र अनुभवहरूलाई समेटेर यो उपन्यास तयार पारिएको छ। आमा लिलावतीको बाल्यकालको नाम स्यानीबाट नै संस्मरणात्मक उपन्यासको नाम जुराइएको छ। यस उपन्यासलाई १३ खण्डमा बाँडिएको छ। उपन्यासकारले हिन्दू परम्पराअनुसार मृत्यु संस्कारमा गरिने प्रत्येक दिनका कार्यहरूलाई छोटकरी वर्णन गर्दै आमासम्बन्धी स्मृतिहरूलाई पुनतार्जगी गरिएको छ। पढ्दै जाँदा आमा विरामी हुँदाका क्षण, आमाका संघर्षका कथाहरू र देहान्तपछिका शोकमग्न क्षणहरूले पाठकलाई भावुक बनाउन बाध्य पार्छन्। यसैले यो उपन्यास कारुणिकता च्यापेर उभिएको छ।

यसमा हिन्दू धार्मिक परम्पराका विधिहरू, गरुण पुराणका प्रसङ्गहरू र जीवन भोगाइका कुराहरूले उपन्यासलाई धार्मिक मिथकमा आधारित भएर वास्तविक बनाउने प्रयास गरेको देखिन्छ। पोखराको पुम्दीभुम्दी गाउँघर र त्यसकै सेरोफेरोका चालचलन, रीतिथिति र बोलीव्यवहारले आञ्चलिकताको भाव प्रष्ट गरेको छ। लेखकले स्वयं एक मुख्य पात्रका रूपमा रहेर जीवनमा मार्गदर्शन दिने आमालाई केन्द्रबिन्दुमा राखी उपन्यासलाई सहज रूपमा गति दिएका छन्। यस क्रममा आमाको उपचारका लागि अस्पताल लगेको प्रसङ्गबाट सुरु भएको उपन्यासलाई आमाको देहावसानपछि छट्पटिएको, भौतारिएको र मन बुझाएका कुराहरूमा पु¥याएर टुङ्गाइएको छ।

पहिलो खण्डमा आमाको उपचारका लागि अस्पताल लगेको, देहान्त भएका,े शव उठाएको, आफन्त र छिमेकी शोकाकुल भएको कारुणिक परिवेशको चित्रण छ। दोस्रो परिच्छेदमा शोकमा रहेको क्षण, कपाल खौरिदा, सेतो धोती लगाउदा लेखक रोएको प्रसङ्ग र घाटमा नै  गरिने अन्त्येष्टि कार्यका बारेमा चित्रण गरिएको छ। खण्ड तीनमा आमाले घिउ साँचेर राखेको प्रसङ्ग, पँधेरामाथि क्रियापुत्रीले कर्म गर्न बनाइएको टहरो, पिण्ड पकाएको र जल चढाएको प्रसङ्ग, केराको सुत्लामा भात पस्किएको प्रसङ्गका साथै गाउघरमा हाते चिठी पढ्न लगाइमाग्ने प्रचलन, आफू माइलो छोरो भएर जन्मिएको र दुध कटुवा भएको प्रसङ्ग, राजा हरिश्चन्द्रको कथाको प्रसङ्ग, आमाले खोपाबाट चुरोट लिएर अगुल्टो झोस्दा र लेखकले ‘बा आम्नुभो’ भनेर आमालाई झस्काएको प्रसङ्ग पनि रोचक ढङ्गले उल्लेख गरिएको छ।

खण्ड चारमा आफूले दूधदही खाने भंैसी बस्र्याैनी ब्याउने प्रसङ्ग र आमाले आफ्नै पेटतिर लाज मान्दै हेरेको, लेखक स्कुलबाट फर्किएको, काली भंैसी बेच्दा आमा रोएको प्रसङ्गसँगै अन्य सानातिना प्रसङ्गहरू उल्लेख गरिएको पाइन्छ।

पाचौँ खण्डमा गरुड पुराण कथाको चर्चा, आमासँग बिताएका बाल्यकालीन क्षण, बिहेको परिवेश, घरको छानामा ढुङ्गा बर्सिएको र किन बर्सिएको भनेर धामीझाँक्री लगाइएको प्रसङ्गलाई पनि मार्मिक ढङ्गले सम्झिएको देखिन्छ।

  छैटौं  खण्डमा मानिसलाई आचरणमा बस्न र पितृप्रति सद्भाव व्यक्त गर्दै नैतिक आचरणयुक्त व्यवहार गर्न सिकाउने उद्देश्यले गरुडपुराण भन्ने प्रचलन रहेको प्रसङ्गलाई उल्लेख गरिएको छ। साथै मान्छेले अरूको भलाई गर्ने काम गरे स्वर्गजाने र दुःख दिए नर्कजाने कुराहरुका बारेमा पनि चर्चा गरिएको छ।

सातौँ खण्डमा गरुड पुराणकै कथाको पुनः चर्चा, कुकुर भगाउँदा प्रयोग गरिने मन्त्र, आमाले सबैको घर मिलाउन खोजेका प्रसङ्ग, विवाह र रत्यौलीका प्रसङ्गहरू उल्लेख गरिएका छन्। यस्तै गरेर आठाँै खण्डमा गरुड पुराणकै प्रसङ्गका सिलसिलामा मृत्यु अवश्यम्भावी हुने भएकाले मानिसले कुरा बुझेपछि अनावश्यक शोक गर्न नहुने भन्दै कुनै पनि जीव मरेपछि फर्कन्न भन्ने निस्कर्षलाई विस्तारपूर्वक वर्णन गरिएको छ। गरुड पुराणका प्रसङ्गसँगै आमाले बर्खे तरकारी लगाउदै आफूलाई व्यवहारिक शिक्षामा पोख्त बनाएको प्रसङ्ग पनि उल्लेख गरिएको छ।

नवौँ खण्डमा पाँचौं दिनदेखि सुरु गरेर नवाँै दिनमा सोह्र अध्याय गरुड पुराण भनिसक्नुपर्ने प्रसङ्गका साथै मानिसको, जन्म, पाप, पुण्य र मोक्षका बारेमा गरिएको चर्चाको विषय उल्लेख गरिएको छ। कतिपय अवस्थामा गरुड पुराणमा चित्त नबुझेका व्याख्यामा विरोधाभाष व्यक्त भए पनि मृत्यु शोकको घडीमा सवाल जवाफ गर्न नसकिएको कुरालाई  समेत मार्मिक ढङ्गले चर्चा गरिएको छ। उपन्यासकारले क्रिया संस्कारको प्रसङ्गसँगै स्मृतिमा रहेका खेतका टौवा, घर र खेतको व्यवस्थापन, लाहुरे बाका कथाका प्रसङ्ग, आमाबाको सपना, भगवान्को भाकल र घटित हुने घटनाको अनौठा–अनौठा संयोगका कुराहरू पनि छ्यासमिस पारेर उल्लेख गरेका छन्।

दशौँ खण्डमा ढिकुरो फोरेको, गहुँत खाएर चोखिएको, जुठो सुतकबाट उक्सिएको प्रसङ्ग उल्लेख गरिएको छ। आफ्नो जन्मस्थानको रुम्टाको पँधेरोलाई कृयाकर्ममा प्रयोग गरिएको, सानो हुँदा त्यही पँधेरामा मुख धुन आएको, देवी  भागवत् पढ्दा, स्वस्थानी कथा पढ्दा , आमाले व्रत बस्दा र साङ्गे गर्दाका प्रसङ्गहरूलाई पनि रोचक पाराले स्मृतिमा कुँद्दै कथानक बुनिएको देखिन्छ।

एघाराँै खण्डमा पितृकार्यमा गरिने क्रियाकलाप श्राद्ध गर्ने, टपरीदुना गाँस्ने श्ययादान,सुनदान, गौदान गर्ने, कुशका ब्राह्मण बनाउने प्रसङ्गका साथै सम्झनामा गाँसिएका झिनामसिना प्रसङ्ग कोदो माडेको, इस्टसँग कोदामा जिम्बु र खिप साटेको, पहिले भोटतिर हुँदै पछि बटौलीतिर नुन लिन गएको, झुन्डिएर बस र ट्रकमा यात्रा गरेको जस्ता प्रसङ्गहरू उल्लेख गरिएका छन्।

बाह्रौँ खण्डमा सपिण्डी कर्म, पितृमा प्रेतात्मा मिल्ने प्रसङ्ग र स्मृतिमा रहेका नयाँ साल फेरिँदा मनाइने पवर्, लुतो फाल्ने दिनको सम्झना, ज्योतिष हेराउने, राशिफल हेराउने प्रसङ्गहरूलाई समेत प्रस्तुत गरिएको छ।

तेह्रौँ खण्डमा कृयाकर्ममा चोखिने दिनको सन्दर्भ, प्रसाद पकाउने, दानदक्षिणा, गाई दान, श्यया दान,सेता कपडा फुकाएको सन्दर्भ, के बार्ने, के खाने, के नखाने, आमाका नाममा ठूली विणीको स्कुलमा अक्षयकोष स्थापना गरेको सन्दर्भ जोडिएको छ। बाल्यकालमा पढ्ने बेला बिहानै उठ्दा आमाले आकाशका तारा हेरेर उठ्न सिकाएको, क्षयमास परेको महिनामा माइती गएको, बाआमा घर बाहिर जाँदा फर्कुन्जेल बाटो कुरेको, चटकेले भालु नचाएको, आमाले कथा हालेको जस्ता घटनाहरू र तेह्रोैँ दिनको काम सम्झिदै पूरा भएसँगै आमाविनाको घरको पीडा, एक्लो भएको अनुभूतिलाई पनि घोलेर मार्मिक बनाइएको पाइन्छ ।

‘स्यानी’ उपन्यासमा आमाको स्मृतिमा आमासँग सँगालिएका झिनामसिना जीवनोपयोगी क्षणहरूलाई उनेर आत्मकथाको शैलीमा कथानक बुनिएको देखिन्छ। उपन्यासका खण्डहरू कारुणिकता बाँड्दै अघि बढेका छन्। प्रस्तुत उपन्यास पढ्दै जाँदा जीवनोपयोगी कथाको झल्को पाइन्छ। यसमा गाउँको परिवेश, प्रकृतिको वर्णन, मध्यम वर्गीय परिवारको चित्रण पहाडे जनजीवन, महिलाले धान्नुपर्ने इज्जत–प्रतिष्ठा, बस्र्यौनि सन्तान जन्माउँदै लालनपालन गर्नुपर्ने दायित्व जस्ता महिलासम्बन्धी कुराहरू विभिन्न कालखण्डअनुसार भोग्नुपर्ने बाध्यात्मक परिस्थिति समेत सँगालिएको पाइन्छ। उपन्यासका अंशहरू गहिरिएर पढ्दै जाँदा उपन्यासकारलाई आमाको सम्झनाले बेस्सरी सताउन पुग्छ।  करिब चारपाँच दशक अगाडि बाल्यकाल बिताएका अन्य पाठकहरूलाई प्रत्येक खण्डमा प्रयुक्त कथानकले आफ्नी आमासँग बिताएका क्षण क्षणका स्मृतिका छालहरूले भक्कानो छुटाउन सक्छन्।

हिन्दू परम्पराअनुसार गरिने सोह्र संस्कारमध्ये गरुड पुराण वाचनको प्रसङ्ग पनि रोचक लाग्छ । गरुड पुराणका कतिपय कुराहरू व्यावहारिक लाग्ने तर कतिपय कुराहरूमा चाहिँ समयानुकूल परिमार्जन गर्न थप अध्ययन हुनुपर्ने सन्देश उपन्यासले दिएको छ। यस उपन्यासका अंशहरूले समग्रमा आमाको व्यवहारिकतालाई उजागर गरेका छन्। उपन्यासका खण्डहरूमा तेह्र दिनको क्रिया संस्कारसँगै आमासँग बिताएका क्षण, मामाघर जाँदा, विवाहमा जाँदा गरिएको जिद्दी, गोठाला जाँदा खेलिने खेल, सर्प र नागसँग जोडिएका कथा, खेती किसानीसँग जोडिएका प्रसङ्ग, वनभोज जाने चलन, चि मुसी चि, जोर विजोर, रुमाल लुकाइ खेलेको बाल्यकालीन प्रसङ्गहरूले तत्कालीन परिवेशलाई सम्झाएका छन् र उपन्यासकारलाई पुलकित बनाएका छन्।

औपन्यासिक कथानक अनुसार धागोले बाँधेको चिठीको अर्थ, गोठबाट निस्कने बेला भँैसीले गोब्य्राएको सन्दर्भ, गाईको गोबरले भाडा माझ्दा चिल्लो जाने सन्दर्भ, हातले घाँटी छोइदा फुकेको सन्दर्भ जस्ता लोक भनाइहरू भने अहिलेको पुस्तालाई अनौठो लाग्न सक्छ।

उपन्यासमा प्रयुक्त ब्राम्हण परिवारकी, व्यवहारले खारिएकी, सिद्वहस्त गृहिणी आमाबाट पाएका व्यवहारगत ज्ञानसिप र उत्प्रेरणापरक परिवेशअनुसार आमाको जीवनपयोगी कथा हाल्ने सिपले कसरी लेखकलाई कुशल, दक्ष र व्यावहारिक संस्कारगत मूल्यमान्यता सिकाएका छन् भन्ने कुराहरू शिक्षाप्रद लाग्छन्। उपन्यासमा प्रयोग भएका केही स्थानीय शब्दहरू, भाषागत त्रुटि र अप्रासाङ्गिक छ्यासमिस प्रसङ्ग भने रटक्क रट्किन पुग्छन्।

समग्रहमा उपन्यासमा वास्तविक भोगाइका कथाहरू धार्मिक र सांस्कृतिक परम्परागत प्रचलनहरूसँगै तत्कालिन गाउँले जीवन पद्दतिको वर्णन, वियोगान्त क्षणका पीडाहरू, ग्रामीण महिलाले भोग्नुपरेको सुखदुःख, संघर्षका कथाहरू र प्रचलित चालचलन, बोलीचालीले आञ्चलिकताको नमुना प्रस्तुत गरेको छन्।

आमाकै शरीरको एक अंश बनेर छुट्टिएको सन्तानले आमालाई दिने मानसम्मान, माया, ममता जति नै गरे पनि कम हुन्छ। मन दह्रो पारेर, आमाको ममता र विछोडलाई मनभित्र छापेर, सम्पूर्ण नारी सम्मानका लागि उपन्यास समर्पित गरिएको आभाष मिल्छ। आमाप्रति शिर झुकाएर उपन्यास पढ्न बस्दा प्रत्येक क्षणमा गौरव बोधको अनुभूति हुन्छ। परम्परागत संस्कारगत मूल्य मान्यतामा जानकारी प्राप्त गर्न, कारुणिकतामा बहदै बाल्यकालका सम्झनामा रमाउन  र नयाँ पुस्तामा क्रियासंस्कार पुस्तान्तरण गर्न यो उपन्यास उपयोगी संग्रह बनेको छ तर कतिपय रुढिग्रस्त प्रचलनहरु पुस्तान्तरण गर्न भने सचेत हुनैपर्ने देखिन्छ। नारी सम्मानका निम्ति तथ्यतामा आधारित कथानक बुनेर उपन्यासहरु लेखिदै जाऊन्। मेरो यही शुभकामना !

प्रकाशित: १९ भाद्र २०७८ ०४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App