खगेन्द्र बस्याल
‘क’ पुराना आत्मिक पलहरू सम्झेर केही दिन बस्ने मनसायले ‘ख’को घरमा पाहुना हुन गयो।
यसपटक ऊ त्यहाँ जाँदा कसैले पनि अनुहारबाट प्रसन्नता देखाएन्। बरु अनुहार पढ्दा बेखुसी रहेको स्पष्टै झल्काए। कुरा गर्न चाहेनन्। घाममा पसिनाले रुझ्दै जाँदा पानीले पनि स्वागत गरेनन्।
ऊ उकुसमुकुस भयो। कति चाँडै समय परिवर्तन भएछ। आफू मात्रै परिवर्तन हुन नसकेको लाग्यो उसलाई।
‘ख’ मोबाइलतिरै ध्यान दिइरहेको थियो।
कले भन्यो – अहिले म गएँ है।खले सोध्यो– केही जरुरी काम परेर आउनुभएको थियो कि?
कले भन्यो– बाटो काटेर जान मन नलागेकाले पसेको नि। पसिना पनि ओबायो।
बाटामा नपुग्दै उसले घरभित्र बोलेको सुन्यो– कोविडको बेला छ भन्ने त थाहा हुनुपर्छ नि। हामीलाई पनि खुसीले स्वागत गर्न मन नलाएको कहाँ हो र! अब त राम्रै शिक्षा पाए कि!
प्रकाशित: ११ भाद्र २०७८ ०५:३८ शुक्रबार