१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

खोप

लघुकथा

अनु विज्ञाति

        

‘म्याड्म यो तटस्थता र निष्पक्षताको कुरा किताबमा पढ्न र भाषणमा सुन्न मात्र सुन्दर लाग्छन् । व्यवहारमा कुनै न कुनै दलप्रति आस्था र झुकाव दर्शाउन सकिएन भने सामान्य नगारिक भएर बाँच्नसम्म हम्मेहम्मे पर्छ।’ मैले सिद्धान्त र व्यवहारको फरक औंल्याइदिएँ।

‘लोकतान्त्रिक पद्धतिमा सरकार त फेरिइरहन्छन् तर हामी स्थायी सरकारको संज्ञा पाएका मान्छे कतैतिर झुकाव राखेर कार्य गर्नुहुन्न । यही हाम्रो कर्म र धर्म हो।’ उनले आफ्नो सिद्धान्तको रट लगाइन्।

केही समयपछि ,नेपालमा केही मात्रा कोरोना खोप भित्रिएको खबरले हामी सबै हर्षित भयौं।

‘म्याड्म कसै न कसैको नजिक भैहाल्नुहोस है। नत्र समयमा नै खोप लगाउन नपाइएला ।’ मैले पुनः सम्झाएँ।

‘खोप वितरण निर्देशिकाबमोजिम खोप पाइने हो। किन कसैको निकट रहनुपर्यो र? निर्देशिकाभित्र परे त पुगि गो नि।’ उनले निर्धक्क अस्वीकार गरिन्।

खोप लगाउने दिन उनी खोप केन्द्रको बाहिर लाइनमा पालो कुरेर बसेको देखेँ। परैबाट मलाई देख्नेबित्तिकै इशारा गरेर बोलाइन् र कानमै भनिन्, ‘हेर्नुस् त निर्देशिकामा परेका मान्छेहरू लाइनमा। अब त मैले भनेको सही लाग्यो नि होइन।’

‘तपाईको लाइनबाट कुनै एकजनाले खोप लगाएर निस्किएको छ?’ मैले प्रश्न गरेँ।

‘सायद भित्र व्यावस्थापन नमिलेर होला खोप सुरु भएकै छैन’ उनले तत्काल जवाफ फर्काइन्।

त्यहीबेला खोपकेन्द्रबाट सूचना बज्यो – खोप सकिएकाले आजको खोप कार्यक्रम स्थगित गरिएको छ।

उनी आश्चर्य हुँदै मतिर हेर्दै थिइन्।

‘निर्देशिकामा परेका लाइनमा र कसै न कसैको निकटमा परेका भित्र थिए।’ फेरि पनि मैले बुझाइदिएर सरासर बाटो लागेँ।

प्रकाशित: ३० श्रावण २०७८ ०६:०२ शनिबार

अक्षर