आचार्य प्रभा
मैले अमेरिकाबाट नेपालमा पहिलो आफन्तलाई फोनमा सोधें, “कोरोनाको भ्याक्सिन लाउनुभो ?”
उताबाट जवाफ आयो, “मैले त बडो मुस्किलले पहिलो डोज भेटें। दोस्रो डोज लाउनै पाइन।”
–अनि छोराछोरी र भाउजूले नि ?” मैले फेरि प्रश्न तेर्स्याएँ । –“मलाई त सुगर,प्रेसर भएकाले लाइदिन करै लाग्यो तिनीहरूलाई। अब भाउजू र केटाकेटीलाई चाँही पर्खिनुपर्छ भन्यो। ” फेरि जवाफ यस्तो आयो।
फेरि मैले दोस्रो आफन्तलाई फोनमा सोधें, “अनि कोरोनाको भ्याक्सिन लाउनुभो सबै परिवारले ?”
उताबाट जवाफ आयो, “खै! नगरपालिकाबाट फोन गरेर बोलाको बोलाकै छन्। जान पनि भ्याएको छैन। उहाँले त भ्याक्सिन लाउने मन नै गर्नु भएकै छैन। दिनहुँ फोन गरेर हैरान पारिसके। हाम्रो उहाँ भने ठाडो कान लाउनु हुन्न। नेता मान्छे। फेरि आफ्नै सरकारको पुनर्आगमन भएको छ। भियाई–नभियाई छ। खै कैले जानुहुन्छ? थाहा छैन। जाँदा हामी सँगै गएर लाउने भनेको। केटाकेटीको चाहिँ अहिले होइन अरे।” श्रीमतीले सहज रूपमा भनिन्।
यसरी म प्राय आफन्तहरुलाई आफ्नो देशमा फोन गरेर सोधिरहन्थें वा रहन्छु। किनकि देशको राजनैतिक अवस्था र लोकतन्त्रको जथाभावी प्रयोगले देशको अवस्था सोचनीय नै बनेको छ। सत्तापक्ष कुर्सी र पदको लडाइँमा लड्दा नै व्यस्त छ। देशका कुनाकन्दरामा कति मानिसले मृत्युवरण गरिसके जो बेहिसाब नै छ। यस्तो अवस्थाको कारणले पनि देशमा भएका आफन्त मात्र नभएर समस्त नेपालीहरूकै चिन्ता लाग्छ।
चिन्ता नगर्नु पनि कसरी ?जहाँ सोर्सफोर्सको मात्र काम हुन्छ। बोल्नेको मात्र पिठो बिक्छ। गरीब,निमुखा,सोझासाझाहरूको कुनै कुरा बिक्दैन।
आफूले पाउँने अधिकारहरूबाट बन्चित हुनुपर्छ। भित्रभित्रै हरकुरामा कालाबजारी हुन्छ।
म सधैं पुरानो दिन सम्झिन्छु। आफू विदेशबाट गएर पाँच,छ वर्ष स्वदेशमा बस्दा हामी नै बिरानो बनेका थियौं। जबकी हामी त उक्त ठाउँको रैथाने थियौं। पन्ध्र वर्ष मात्र भएको थियो घर,आँगन छाडेको तर यति बिरानो भइयो कि सबको नजरमा नयाँ मान्छे ठहरियौं। त्यो समय आफ्नै देशमा भोग्नुपरेको समस्या र बाधा,अड्चन सम्झिँदा अझ पनि मनमा नमिठो पहिरो जान्छ। जहाँ आफ्नो कुनै पनि कार्यालयको काम लिएर गयो।कि चिनेको मान्छे हुनुपर्ने। कि बिचौलियालाई समात्नुपर्ने। जहाँ पनि पैसा र पावरको कुरा आउने। यस्तैयस्तै कुराहरू म सम्झिरहन्थें। अझै सम्झिन्छु। आफू आफ्नै घरआँगनमा बस्दा भोगेका दिनहरू अझै सम्झिँदा मन चिसो बनेर आउँछ। त्यसैले म आफ्नो गाउँठाउँका आफन्तहरु जो अलिक निरीह छन्। सोधीखोजी गरिरहने गर्छु किनकि मलाई विदेशमा आफू हुनुको पीडाभन्दा स्वदेशका आफ्नै घर आँगनमा भएका आफन्तहरूको चिन्ताले सताउँछ।
केही दिन अघिमात्र मैले दोस्रो छिमेकीलाई फेरि चासो राखें भ्याक्सिन लाएनलाएबारे। जवाफ आयो , “फोन गरेको गरेकै गरेर सब परिवार गएर लायौं नि !”
मैले प्रश्न दोहोराएँ , “अनि केटाकेटीले पनि लाउँन पाए त ?”
उत्तर सहजसँग आयो, “किन नपाउनु ? पार्टीको कार्यकर्ताको सन्तानले पनि यति सहुलियत नपाए कस्ले पाउने त ? गइयो झ्याम्झुम लाइयो पो हल्लाखल्ला नगरी। भन्न त पचास कटेकाले भनेर उमेरको सिमा निर्धारण गरेको छ तर हाम्राहरुले त लाए।”
मैले केही दिनअघि फेरि तेस्रो पटक फोन गरेर अर्का छिमेकीलाई सोधें।जो अलिक संभ्रान्त परिवारका छन्, –“कोरोनाको भ्याक्सिन लाउनुभो त ?
–खै !पहिला लट आउँदा याद गरिएन। अहिले आएको छ रे। पचास वर्षदेखि माथिकालाई मात्र रे। अब लाउन जानुपर्ला मचाहिँ। उताबाट जवाफ आयो।
केही दिनपछि उही तेस्रो पटक फोन गरेको छिमेकीबाट फोन आयो। यता र उताको हाल खबर आदानप्रदान भयो। फेरि उही भ्याक्सिनको कुरा आयो र सोधें मैले, “भ्याक्सिन लगाइयो ? चाँडो पत्तो लाएर लाउनु है। अस्ति लाकै छैन भन्दै हुनुहुन्थ्यो। दोस्रो लहरको कोरोना आक्रमणले त सखाप पार्दैछ नेपालमा भन्दैछन्।”
उताबाट जवाफ आयो। हाम्रो शहरमा त टोलटोलमा कोरोना संक्रमण छ। कोही जाति हुँदैछन्। कोही जाँदैछन् भगवानको घर। यस्तै संकट छ।’
– अनि यस्तो विकराल परिस्थिति हुँदा पनि भ्याक्सिन लाउन किन ढिला गरेको त ?” मैले उत्सुकता पोखें।
–“ए लगाइसक्यौं नि ! हिजोअस्ति नै। शुत्र लाएर भए पनि। हत्तपत्त लाउन नपाइने रहेछ तर विशेष शुत्रबाट पत्तो लाग्यो। केटाकेटी सबले लाए। रोजी छानी। अमेरिकाबाट आएको लाउने कि? चाइनाबाट आएको लाउने ?” ढुक्कसाथको उत्तर आयो।
–अनि केटाकेटीले पनि लाए त ? पचास कटेकालाई मात्र भन्ने सुनेकी थिएँ। मैले फेरि प्रश्न तेर्स्याएँ।
–भन्दैछु त विशेष शुत्र फिट् गरेर केटाकेटीलाई पनि लाउन लाएँ नि ! लाउन नपाउने कति छन् – छन् नेपालमा। शुत्र फिट गर्दा के हुँदैन ? भन्दै हाँस्यो उ।
मलाई पनि केही आशा पलायो। आखिर शुत्र लाउँदा त पाउने रहेछ त भनेर अनि मैले पहिला फोन गरेको मेरो आफन्तलाई म्यासेन्जरमा खबर पठाएँ, “त्यहाँ भ्याक्सिन आइसकेको छ रे त ! घरको अन्य सदस्यलाई पनि लाउन पठाउनु नि?”
जवाफमा लेखिएको थियो, “पचास वर्षमुनिलाई अहिले होइन भनेर दुई पटक नलाई पठायो। के गर्नु त ?”
मैले जवाफमा लेखें, “त्यहाँ सूत्र लाउँदा पाइँदो रहेछ नि त ! फलाना–फलानाले त केटाकेटीदेखि सब परिवारले लाएछन् नि ? अब त्यस्तै सूत्र लाउनु पर्यो नि ?”
उताबाट अन्तिम म्यासेज आयो, “आफूलाई त्यस्तो सूत्र लाउने विधि थाहा छैन। यदि थाहा हुँदो हो त पचास वर्ष मास्टरी जागिर खाएर अहिलेसम्म यही पेंसिनको भरमा गुजारा गरेर बस्थें ? ती सूत्रधारहरूजस्तै म पनि सूत्रकै भरमा कहाँ पुगिसक्थें नि। हाम्रो देशमा पहुँचवालाहरू नै त सूत्रकै भरमा अक्कासिइरहेका छन् नि। जो सूत्र लाउन जान्दैन यी हामीजस्तै जहाँको तँही। अब कोरोनाबाट बँच्न पनि सूत्र नै चाहिने रैछ। कहाँ खोजूँ त्यस्तो ज्यान बँच्ने सूत्र ?”
म सोंच्न थालें। यहाँ भने भ्याक्सिन लाउन आइज– आइज भनेर ईमेल – फेसबुक,ट्विटर आदिमा दिनहुँ लोकेसन तोकीतोकी म्यासेज आउँछ। जनताको कति चिन्ता छ। यहीँ संसारभरका मान्छेहरू यहीँ आएर थुप्रिएका छन्। सबैलाई बराबरी को आफ्नो देशको ? को पराई देशको ?असमानता छैन। सबैलाई भ्याक्सिनको सुविधा दिएको छ तर हाम्रो देशमा भने अझै पहुँचवाला र शुत्रवालाकै हालीमुहाली छ। अब ज्यान बँचाउन पनि शुत्र नै लाउनुपर्ने कस्तो बाध्यता होला ?कठै ! हामी नेपाली जनता आफ्नै देशमा आफै बिरानो। जताततै शुत्रकै बिग्बिगी।
यस्तै सोंच्दै बस्दै थिएँ म’त कल्पनामै उडेर देश पुगिसकेकी रहिछु शुत्र पत्तो लाउन। म्यासेन्जरको घण्टी टिङ्ग बज्दा झस्किएँ। म्यासेज उही मेरो आफन्तको रहेछ, –कसै गरेर पनि मैले त शुत्र पत्तो लाउन सकिनं भनेर।
प्रकाशित: १७ श्रावण २०७८ ०३:११ आइतबार