५ माघ २०८१ शनिबार
image/svg+xml
कला

‘असारै मासको दबदबे हिलो छुनलाई घीन लायो’

‘असारै मासको दबदबे हिलो छुनलाई घीन लायो’

असार गरे मंसिर हुन्छ भकारी भरिन्छ।

मानो खाई मुरी उब्जाउने दिन बसेर कहाँ हुन्छ।।

हली र बाउसे रोपारी मिली असारै घन्काम्ला।

हिलाको टिको बीउको फूल लाएर नाचम्ला।।

असार लागेसँगै वरिष्ठ लोकगायिका तथा प्राज्ञ हरिदेवी कोइरालाको लय, शब्द र संकलनमा रहेको उपरोक्त असारे गीत फेसबुकको भित्तामा आइपुग्यो। गीत सुन्दै गर्दा मनका कुनाकानीबाट असारे स्मृति सलबलाउन थाले। किसानका सन्तान भएर होला, किनकिन असार लागेपछि मन भिन्नै किसिमले तरंगित हुन्छ। हरेक नेपाली किसानका घरमा असार र मंसिरको विशेष महत्व हुन्छ। केटाकेटीमा मलाई वर्षा लाग्नेबित्तिकै गाउँघरमा भिन्दै उमंग र जोस थपिएको महसुस हुन्थ्यो।

म केटाकेटी छँदा आफ्नो गाउँ मात्र होइन, आसपासका क्षेत्र पनि खाद्यान्नमा आत्मनिर्भर थिए। घरगाउँमा खेतीपाती, पशुपालन नै मुख्य पेसा थियो। अधियाँ खेती गर्नेले पनि कम्तीमा ५–६ महिनाका लागि खान पुग्ने उत्पादन गर्थे। हाम्रा गाउँघर चलायमान थिए। घरैपिच्छेजस्तो हलगोरु त कोही परेली गरी खेती गर्दथे। अर्मपर्म, ऐँचोपैँचो गरी एकाध महिनासम्म सँगसँगै काम गर्ने/गराउने हुँदा गाउँघर, छरछिमेकबीच अपनत्व बढेको अनुभूति हुन्थ्यो।

स्कुलको कक्षामा सबै विद्यार्थी स्वरमा स्वर मिलाई ‘किसानको रहर’ कविता घन्काइन्थ्यो।  

सानो छ बारी सानै छ खेत सानै छ जहान,

नगरी खान पुग्दैन खान साँझ र बिहान।।  

छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला,

बनाई कुलो लगाई पानी आएर गोडौँला।।

जेठको पहिलो हप्तादेखि नै बाँझो खेत जोत्नका लागि बेसीतिर चहलपहल बढ्न थाल्थ्यो। गाउँको मल डोकोमा बोकेर बेसी झार्नु निकै चुनौतीपूर्ण थियो। खेताला हालेर, अर्मपर्म गरी घरको प्रांगारिक मलको सिंगै मलखात बेसी पुर्‍याइसक्दा यसपटक धान पोहोर–परारभन्दा बढ्ता फल्ने विश्वास आमाका आँखामा प्रस्ट देखिन्थे। खेतका गराभरि मलका थुप्रा देख्दा मन एक तमासको भएर कालाकाला अजीव प्रकारका जीव टुक्रुक्क बसेजस्तो लाग्थ्यो। घरपरिवारका सदस्यसहित खेताला मल लिएर बेसी झर्दा मेरा आँखा भने खेतका आलीआली दौडँदै बाँझो खेतका कुनाकानीमा हुट्टियाउँको फुल खोज्नमा व्यस्त रहन्थे। हुट्टियाउँको फुल फेला पार्दा म भने सुनका टुक्रा फेला पारेसरह खुसी हुन्थे तर म खुसी हुँदा ती फुलका आमाहरू दुःखी भई उडेर जान्थे। यस्तो नगर् भनी भरे आमाले मलाई सम्झाउनुहुन्थ्यो।  

असारे झरीमा कम्मरमा खुर्पेटो, काँधमा जुवा र स्याखु भिरी हली र खेतालाले गल्ली, गोरेटो छिचोल्दा गाउँको माहोल गुल्जार लाग्थ्यो। ती दृश्यबाट पुलकित भएर कल्पनामा डुबुल्की मार्दै छिटै तरुनी भई चोलो र फरिया अनि कम्मरमा पटुकी कसी आमा, सानीमासँग छुपुछुपु धान रोप्न गएको कल्पना गर्थें।

उज्यालो नहुँदै खेतमा पानी लगाउने चटारोले खेत र कुलाका मुहानमा मानिस पुगिसकेका हुन्थे। गाउँभरि आफ्ना खेत अनुसार कतै अर्मपर्म त कतै ज्याला गरी पालैपालो रोपाइँ गरिन्थ्यो। रोपाइँका दिन खेतमा चार–पाँच जोडी हल गोरु, बाउसे तथा १०–१२ खेतालाले लहरै हिलोमा बीउ छुपुछुपु गाडेको दृश्य देख्दा वातावरण नै उत्सवमय लाग्थ्यो। ‘मानो रोपेर मुरी फलाउने दिन असारमा कहाँ बस्न पाइन्छ, सकेको काम सबैले सघाओ बाबै’ हजुरआमा भन्नुहुन्थ्यो। आफूसक्दो काम सघाउनुपर्ने हुनाले घरका केटाकेटी, बूढाबूढी सबै हात खाली नराखी काममा व्यस्त भइन्थ्यो।  

आफ्नो घरमा रोपाइँ हुँदाको दिन सबैले ल्वाङ, सुपारी, चिया, चुरोट, चकलेट बाँड्ने र गच्छेअनुसार मिठोचोखो खाजापानीको व्यवस्थापन गर्थे। खुसियाली, हर्ष र उमंगका साथ बालीनाली लगाउँदा धेरै फल लाग्छ भन्ने विश्वास गरिन्थ्यो। रोपाइँका दिन आफ्नो घरमा पाकेको खाजा छरछिमेक, आफन्त समेतलाई पुग्ने गरी बनाउने चलन थियो। कसका घरमा कति हलगोरु, खेतालाले रोपाइँ गरे, के खाजा खजिलो खुवाए– यसले व्यक्तिको आर्थिक, सामाजिक प्रतिष्ठा झल्कन्थ्यो। वर्षैभरि चिया पसलमा गफका विषय समेत बन्थे। असारे खाजाका सन्दर्भमा हरिदेवी कोइरालाकै यी असारे गीतका हरफ सान्दर्भिक लाग्छन्।

असारे खाजा जर्नेली धानको सिरम्ला कुटौँला।

अनदी धानको सिरम्ला बनाई खट्टे नि भुटौँला।।

बाँड्नु भन्छन् असारे खाजा छरछिमेक आफन्त।

यही हिलोसँग लडी र बुडी किसानी जीवन त।।

असारे झरीमा भिज्दै बिहानै घाँसका भारी पुर्‍याई दिउँसो मेलो धान्नु महिलाका लागि बाध्यता हुन्थ्यो, तापनि फूर्ति र जाँगरका साथ काम गर्थे। उसो त वर्षौंदेखि असारे कामलाई दुःख या पीडा नमानी उत्सव, रमाइलोका रूपमा लिइन्थ्यो। खेतालो हिँड्नुपर्ने भएकाले असारमा छोरी, बुहारीलाई नयाँ गम्छा (पछयौरा), फरिया हालिदिने गरिन्थ्यो।  

असारे गीतका कारण पनि असारको महत्व छुट्टै थियो। कर्मका गीत गाइने हुँदा नेपाली किसानी जीवनका समग्र आयाम गीतमा समेटिएका हुन्थे। बाउसे र रोपाहारबीच खेलिने असारे भाकामा माइतीका पीडा, घरका बुहार्तनका वेदना पनि पोखिन्थे। पुरुषलाई हिलो छुन घीन लागेको र महिलाका निम्ति फरिया किन्दा ऋण लाग्ने यो असारे गीतको सन्दर्भ निकै मार्मिक लाग्छ।

असारै मासको दबदबे हिलो छुनलाई घीन लायो।

पातली नानीलाई फरिया किन्दा ६ बीस रिन लायो।

पहिलेपहिले परालको टौवा हेरेर छोरी दिने गरिन्थ्यो भन्ने यदाकदा गण्डक क्षेत्र वरपर अझै सुन्न पाइन्छ। यसको अर्थ टौवाले भकारीको धानलाई बताउँथ्यो। वर्ष दिन खान पुग्ने देखियो भने छोरी दिँदा दुःख नहुने ठानिन्थ्यो।  

छोरी, बुहारीलाई घर गरेर खान कति सकस थियो भने छिटो सकिएला भनेर आकलन गरेको मेलो आकाशमा जून टहटह लाग्दा समेत छाडेर हिँड्न मिल्दैनथ्यो। अन्यथा, अर्को दिन खेतको हिलो माटो सुकेर गाबो गाड्न नसकिने सन्दर्भ यो असारे भाकामा गुनगुनाउनुहुन्थ्यो मेरी हजुरआमा।

असारलाई भनी कुटेका चिउरा चैतैमा घुन लाए।

छक्कले मेलो भन्थ्यौ नि बाबा मेलैमा जून लाए।।

मासुमा मिठो मलेवा चरी झोल मिठो तित्राको।

को बुझ्न सक्छ वेदना मेरो कलेजी भित्रको।।

असार १५ को विशेष महत्वअद्यापि छ। पहिले यस दिन हिलो नटेके गति परिँदैन भनिन्थ्यो। २०६१ देखि सरकारले असार १५ लाई ‘धान दिवस’का रूपमा मनाउँदै आएको छ। असारमा दही–चिउरा खाने चलन निकै पुरानो मानिन्छ। हिलो मैलोले शरीर थाक्ने हुँदा दही चिउराले ऊर्जा प्राप्त भई शक्ति प्रदान गर्ने मानिन्।  

कुनै घरमा बिहे भएको वर्ष छ भने असारसम्म कसार राखेर बाँड्ने चलन पोखरा वरपर छ। हाम्री दिदीको बिहे मंसिरमा भएको थियो, ठूलीआमाले कसार असारसम्म जतन गरी राखेर रोपाइँका दिन बाँड्नुभयो।

असारे मेलामा हली–बाउसेको  महत्वखेताली/रोपाहारको भन्दा बढी आकलन गरिन्थ्यो। खेतालीको दाँजोमा हली बाउसेलाई दिइने ज्याला या खाजामा समेत विभेद गर्छन् भन्ने खेतालाका गुनासा पानी पँधेरोमा सुन्न पाइन्थ्यो। दलित, गैरदलितले मेलापात, अर्मपर्ममा सँगै पसिना साटासाट गर्थे, एउटै भाँडाको रक्सी चलाउँथे, तर पानी नचलाउने ढोंगी प्रवृत्ति देखिन्थ्यो, अद्यापि छ।  

खेत रोपेर सकिसकेपछि मैजारो गर्ने दिन अर्थात् हिलो छाड्ने दिन गोरु नुहाइदिने, संक्रान्तिमा हलीलाई खान बोलाउने गरिन्थ्यो। गोरु नुहाएको हेर्न हामी केटाकेटी छरछिमेकमा दौडादौड गथ्यौँ। रोपाइँ सकिएलगत्तै धानका आलीमा भट्टमास गाड्न आमा हतारिनुहुन्थ्यो।

बदलिँदो असार

अबको पुस्तालाई असारमा गाइने असारे गीत सुन्न वा हेर्न युट्युब नै खोल्नुपर्ने बाध्यता छ। उनीहरूलाई हाम्रा सांस्कृतिक पक्ष, स्थानीय सीप, साधनस्रोत, हाम्रो इतिहास, मौलिकता बुझाउनु आवश्यक छ।  

पछिल्लो तथ्यांक अनुसार देशमा प्रत्येक वर्ष धान रोप्ने खेत घटिरहेको छ। वैदेशिक रोजगार अनि देशमै पनि पेसा, व्यवसायका लागि सहर पस्नुपर्ने बाध्यताका कारण धेरै ठाउँका बारी र टारी बाँझिएका छन्। पाखो जग्गाको संरक्षण नहुँदा वर्षैपिच्छे माटो बगाएर लैजान्छ। अर्कोतिर भकारीभरि धान उत्पादन हुने खेतीयोग्य जमिन हेर्दाहेर्दै घरघडेरीका रूपमा टुक्रिएका छन्। नेपाल कृषिप्रधान देश भनेर घोकेको वाक्य थाहै नपाई ‘रेमिट्यान्स प्रधान’मा बदलिन पुगिसकेको छ।

भर्खरै सकिएको असार १५ मा पोखरा वरपरका खेतमा रोपाइँका विभिन दृश्य देखिए। पछिल्लो विकासले गर्दा खेतीपातीमा आधुनिकता भित्रिँदैछ। धेरै हल खेताला लगाएर रोप्ने मेलो अचेल ट्र्याक्टरको सहायतामा केही घन्टामै तयार पारिन्छ। यसपालिको रोपाइँ कोरोना महामारीका कारण पनि भिन्न देखियो। माक्स लगाएर खेत रोप्न जानुपर्ने बाध्यता एकातिर छ। अर्कोतर्फ लकडाउनको प्रभावले समयमै मलबीउ खरिद गर्न सकिएको छैन। मलबीउमा सरकार बेलैमा चनाखो हुनुपर्छ।

अर्कोतर्फ वर्षामा हुने बाढी पहिरोका कारण किसानलाई थप मर्का परेको छ। अहिले आफ्नै घरमा रोपाइँ गर्नु, नजिकै गएर नियाल्न पाउनु भनेको उत्सव मनाउन सहभागी हुनुजस्तो देखिएको छ। धानखेती हुने जमिन टुक्रनबाट सरकारले रोक्नुपर्छ। र, वास्तविक किसानका सरकारले उपयुक्त नीतिनिर्माण र अनुदानको व्यवस्था गर्नुपर्ने देखिन्छ। अन्यथा केही वर्षभित्रै नेपाल दक्षिण एसियामै धान आयात गर्ने पहिलो मुलुक बन्नेछ।

प्रकाशित: १९ असार २०७८ ०१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App