१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

यमभीड

लघुकथा

अल्पविराम पोखरेली

 

‘हजुर बा ! हजुर बा ! कथा सुनाउनोस् न !’ पाँच कक्षामा पढ्दै गरेकी नातिनीले कथा सुनाउन कर गरिन् । उनको स्कूल छैन भर्च्युल क्लास हुन्छ । के कथा सुनाउने होला भनेर गमें र भनें –कस्तो कथा सुन्छ्यौ नानू !

उनले भनिन् – जल्दोबल्दो कथा सुनाउनोस् न।

मैले गम्दै भनें– ऊम् ल सुन ! यम दरबारको कठघरामा लस्करै उभिएका आरोपीहरू थुप्रै थिए। त्यहाँ पनि उनीहरू ठेलमठेल उभिएका थिए। चित्रगुप्तले यमराजलाई सम्बोधन गर्दै भन्यो – धर्मराज महाराज ! यी सबै अपराधी हुन् । यिनीहरूको यहाँ आउने बेला भएकै थिएन किनभने यिनीरूको मानाचामल अझै बाँकी छ तथापि यिनीहरू यहाँ जबर्जस्ती आए। त्यसकारण यी उल्टा बुध्दिहरूलाई भकभकी उम्लिरहेको तातो तेलको कराहीमा टाउको तल खुट्टा माथि गरेर उल्टो झुन्ड्याउनुपर्ने भो तर एक्कासि यति धेरै संख्यामा भएको हुनाले तेल र कराहीको अभाव भयो।

चित्रगुप्तको कुरा सुनेर कठघरामा उभिएका आरोपीहरूले एकसाथ प्रतिवाद गर्दै भने– महाराज, हामीले कुनै अपराध गरेका छैनौं । यस्तो कठोर दण्ड नदिइयोस्।

उसै त अँगारझैं कालो अनुहार त्यसमा पनि रिसले चुर परेका यमराजले कड्किदै भन्यो – मास्क लगाए पनि नलगाए पनि सब्जी मण्डी, सपिङ सेन्टर, जात्रामेला, भोजभतेर अनि जुलुस आदिमा भीड नगर्नू त्यो गर्नु आत्महत्या हो भन्दाभन्दै नमानेर भीड गर्नु कोभिड फैलाएर आफू र आफन्तलाई सार्नु आत्महत्या हो। आत्महत्या महाअपराध हो, बुझ्यौ ?

हजुरबा ! हजुरबा ! यो कथा अनुसार कोभिड १९ को सट्टा यमभिड ७६ नेपाली नाम राखे कसो होला ?

प्रकाशित: १७ असार २०७८ ०७:०३ बिहीबार

अक्षर