लता केसी
‘ऊ आई , आई ! छिटै निस्कम् यताबाट’ भन्दै तरकारीको झोला टिपेर केही महिलाहरूले आफ्नो बाटो तताए । म नजिकबाट नियालिरहेको थिएँ , यो दृश्य ! उसो त म यो टोलमा लखरलखर कोठा भाँडा खोज्न पुगेको थिएँ , बिलकुलै अपरिचित ! साहुजीसँग मैले आफ्नो चासो तेर्स्याएँ । उसले एउटा घर देखायो । म सोधपुछलाई त्यो घर पुगेँ । भनेजस्तो , खोजेजस्तो लाग्यो । सरसामान बोकेर आफ्नो बास तय गरेँ ।
केही दिनपछि म साँझ कामबाट फर्केर कोठा पुगेँ । बाहिरबाटै आवाज सुनेँ, ‘आमा, कति दिनभरि लखरलखर गाउँ, चोकपसल घुमेर कुरा बोक्दै हिँडनुहुन्छ ? साथीहरूले कुटुनी बुढीको छोरा भनेर जिस्काउन थाले । अब यो बानी छोडनु हुन्न भने म घर छाडेर अन्तै बस्छु।’
महिला स्वर सुँक्क सुक्क गरेको सुनियो । २÷४ दिनपछि फेरि महाभारत सुन्नुपथ्र्याे , मेरा कानले । आफ्नो चासोको विषय नभएर मैले उति वास्ता नि गरिनँ।
‘ अङ्कल , आमालाई अस्पताल भर्ना गरेँ । यो महिनाको कोठा भाडा छ भने अगाडि नै दिनू न ल’ भन्दै घरबटीको छोरो मसँग अनुनय गर्न आयो। कोरोना पोजेटिभ रे ! सातो गयो । आफूसँग भएको नगद बुझाएँ । मैले बाहिरै बस्ने निर्णय गरेँ , केही दिन।
१महिनापछि कोठा फर्किएँ । घर सुनसान थियो । गेटमा भोटे ताल्चा लगाएको थियो। एउटी छिमेकी दिदीले ताल्छा खोलिदिइन् , केही बोलिनन् । म भित्र पसेँ । आराम गरेँ। केही बेरपछि पसल पुगेँ , तरकारी आदि किन्न भनेर । पसलेबाट थाहा पाएँ , घरबेटी आमै त बितिछिन् । छोरा केही दिनलाई अन्तै गएका रे ! नमीठो लाग्यो , मलाई ! केही महिलाहरू वार्तालाप गरेको सुन्दै थिएँ , ‘कुटुनी बुढी मरेर टोल शान्त भयो । सामाजिक भाइरसलाई प्राकृतिक भाइरसले लग्यो। आनन्द भयो।’
प्रकाशित: ११ असार २०७८ १४:०९ शुक्रबार