१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

४६ वर्षअघिको ‘मुगलान’लाई फर्केर हेर्दा

नेपाली साहित्यका अग्रज स्रष्टा प्राध्यापक गोविन्दराज भट्टराईद्वारा आजभन्दा ४६ वर्षअघि लेखिएको र छापिएको उपन्यास ‘मुगलान’ मैले पहिलोपटक भर्खरै पढ्न पाएँ। पढिसकेपछि मनमा जुन हलचल उब्जियो, म थामिएर बस्नै सकिनँ। उसो त कुनै पुस्तक पढेपछि त्यसबारे आफ्नो धारणा डायरीमा लेख्ने मेरो पुरानै बानी हो, यतिबेला भने पहिलोपटक आफूलाई लागेको ‘मुगलान’ बारेको टिपोट उतार्दैछु, समीक्षाकै रूपमा।

सामान्यतया पुस्तक लेख्दा लेखकले एउटा घटना विशेषलाई बुन्दै–बुन्दै गएको हुन्छ, जहाँ प्रत्येक घटनाका थुप्रै आयाम हुन्छन्। पाठकले आफ्नो क्षमता, मनस्थिति अनि काल परिस्थितिअनुसार त्यसलाई अर्थ लगाइरहेको हुन्छ। एउटा पाठकले बुझेको त्यो अर्थ अर्कोका लागि अनर्थ पनि हुन सक्छ, अथवा अर्को पाठकलाई चित्त बुझ्न पनि सक्छ, वा नबुझ्न पनि सक्छ।

पुरुष बेचबिखनको यो दृष्टान्त झल्काउने गरी आजभन्दा लगभग आधा शताब्दी पहिले लेखिएको यस उपन्यासले आजसम्म उही र उस्तै कथानकका रूपमा निरन्तरता पाइरहेछ। त्यसैले आज पनि पैसा कमाउन खाडी मुलुक गएका थुप्रै युवामा हामी सुतारको चित्कार ध्वनि सुन्न सक्छौँ।

‘मुगलान’ उपन्यास पढिरहँदा यसले मलाई बेलाबेला चस्का दिइरह्यो। कहिले उत्साहित त कैले द्रवित बनायो, कहिले भने मलाई पढ्दापढ्दै पढ्न छाडेर त्यो हरफलाई मजासँग चपाएर घोल्न, अनि निल्न लगायो। ‘मुगलान’ कथासारमा घरगोठ गरी आनन्दले डुलेर खाएका, बाहिरी संसार नदेखेका, सिधासाधा गरिब युवाहरू सुतार र ठुले मुगलान गएर लाहुरेमा भर्ती हुने अनि पैसा कमाउने सपना बोकेर साथीभाइ र घरपरिवारबाट छुटिन्छन्। ‘मुगलान’को पाँचौँ संस्करणमा समीक्षक कुमारप्रसाद कोइरालाले उल्लेख गरेका छन्– ‘एउटा जालबाट फुत्कन खोजेका उनीहरू अर्को जालमा पर्छन्। उनीहरूका सपना उनीहरूजस्तै निम्न वर्गका तर शोषकसँग लागेर आफ्नै वर्गलाई ठग्न पल्केका दलालले निमोठी दिन्छन्। ...जब दलालहरूले भुटानको विकट पहाडमा बाटो खन्ने ठाउँमा पुर्‍याएर उनीहरूलाई ओराल्छन् र त्यस काममा लाग्न बाध्य पार्छन् तब उनीहरूका कहिलेदेखि साँचेर राखेका सपना भत्किन्छन्। उनीहरूको घरमा छँदाको मुगलान जाने, भर्ती हुने, लाहुरे बन्ने सपना चकनाचुर हुन्छ— उनीहरू एकैपटक काल्पनिक मनोजगतबाट यथार्थ धरातलमा पछारिन पुग्छन्।’

पटकपटक बेचिएका कथाका यी पात्रले लगभग आधा शताब्दीअघिको यथार्थ सामाजिक चित्र झल्काउँछ, जुन आज पनि छ, तर केही फरक रूपमा। समीक्षक कोइरालाले अर्को ठाउँमा उल्लेख गरेका छन्, ‘यो उपन्यास जतिबेला लेखियो, त्यतिबेला नेपाली युवायुवतीहरू मुगलानतिर कम जान्थे, तर आज वर्षैपिच्छे लाखौँ युवायुवती मुगलान अर्थात् काल्पनिक स्वप्नभूमिको यात्रामा निस्कन्छन्। तीमध्ये कति फर्कन्छन् र कति उतै मर्छन् वा उतै बस्छन्।’

त्यस्तै ‘मुगलान’ उपन्यासको पहिलो संस्करणमा साहित्यकार पारिजातले लेखेको मूल्यांकन टिपोटको अंशमा भनिएको छ, ‘गोविन्दजी चाहे तपाईं मेरो निष्कर्षलाई मान्यता नदिनुहोस्, अथवा आफ्नो अवचेतनाद्वारा ठगिइरहनुहोस् तर यो उपन्यास शोषणको वर्णन हो, जसले मुगलानप्रतिको एउटा तिखो विरक्ति दिन्छ... तपाईंको कलमले देशभित्रका अरूअरू शोषणका अवस्थालाई यसरी नै नंग्याइदिनेछ।’ यत्रो लामो कथानक र इतिहास बोकेको यो उपन्यास मैले भने छैटौँ संस्करण आइपुग्दा मात्रै पढ्न पाएँ। पूरा उपन्यास पढिसकेपछि यसमा महिला पात्र थोरै मात्र रहेको पाएँ, पुस्तकमा मैले पुरुषकै नियति बढी झल्किएको पाएँ। सुतार अनि ठूलेबाहेक कथामा देखिएका अरू थुप्रै पात्र र घटनाको बेग्लै मतलब लगाउन सकिन्छ, चाहे पुरुष बेचबिखनमा महिलाको संलग्नताको रूपमा राईनी दिदीको उपस्थिति होस् या विश्वास जितेर पछाडिबाट छुरा हान्ने रिक्सावाल। यी र यस्ता थुप्रै पात्र अनि घटनालाई एकातिर राखेर मैले केवल सुतार अनि ठूलेलाई प्रतिनिधि पात्र बनाएर हिजोआज अनि सम्भवतः भोलिको पुरुषको दृश्य अवस्थालाई केलाउन चाहेँ।

लोग्ने मान्छेको नियति आज पनि लगभग उस्तै छ, चाहे त्यो दबिएर होस् या खुलमखुला। र, यस्तै स्थिति रहिरहे भोलि पनि नियति उस्तै रहन्छ। भन्नुको अर्थ यदि सधैँ हामी स्वास्नी मान्छेको पीडा देखेर उनीहरूको मात्र बहस र पैरवी गरिरहन्छौँ भने यहाँ पुरुषको पीडा, उनीहरूमाथिको हिंसा शोषण र बेचबिखनको चर्चा बिरलै प्रकाशमा आएको पाइन्छ।

कथाको मूल पात्र सुतार लगायत कार्की र ठूलेजस्तै १६ पुरुष पैसा कमाउन आफ्नो थलो छाडेर अन्त जान्छन्, जहाँ अनन्तः (बाहिरी संसार)को ज्ञान उनीहरूका लागि लाटोकोसेरोका लागि सूर्यको प्रकाशसरह हुन्छ। सपनामुखी युवाहरू निष्पट्ट अन्धकारमा जुन सपना बोकेर अगाडि बढेका हुन्छन्, त्यो साकार हुँदैन। बरु उनीहरूको चरम शोषण हुन्छ, शारीरिक, भावनात्मक अनि आर्थिक शोषण।

पुरुष बेचबिखनको यो दृष्टान्त झल्काउने गरी आजभन्दा लगभग आधा शताब्दी पहिले लेखिएको यस उपन्यासले आजसम्म उही र उस्तै कथानकका रूपमा निरन्तरता पाइरहेछ। त्यसैले आज पनि पैसा कमाउन खाडी मुलुक गएका थुप्रै युवामा हामी सुतारको चित्कार ध्वनि सुन्न सक्छौँ। अझ भनौँ, लोग्ने मान्छे बेचबिखन स्वेच्छाले होस् या बाध्यताले, आज पनि हामी सहरको सम्भ्रान्त गल्लीमा यत्रतत्र भेट्न सक्छौँ। तैपनि चेलीबेटी बेचबिखन जस्तै दाजुभाइ बेचबिखनको चर्चा भने त्यति हुने गरेकै छैन, यो आश्चर्य लाग्ने कुरा हो। कथामा बताइएको ओढारको दृश्य अनि त्यहाँ व्यतीत ठूले, सुतारको जीवन ठीकत् यस्तै लाग्छ, जस्तो कि कोठीमा बेचिएकी एउटी चेलीको। त्यहाँ पनि शरीर शोषण, यहाँ पनि शरीर शोषण। त्यहाँ पनि सपना र प्रलोभनले पुर्‍याएको

हुन्छ, आज खाडीमा गइरहेका हजारौँ नेपाली युवामा पनि त्यही सपना र प्रलोभन जोडिएको छ।

लैंगिक चस्मा लगाएर हेर्दा पुरुषलाई परिवार पाल्नुपर्ने जिम्मेवारी हिजो पनि थियो र आज पनि छ, केही अपवादलाई छाडेर। आज पनि एउटी सक्षम पढे–लेखेकी छोरीलाई ज्वाइँ खोज्नुपर्दा आमाबाबुले पुरुषको सक्षमतालाई हेर्ने कसी भनेको ‘ज्वाइँले छोरीलाई पाल्न सक्छ कि सक्दैन’ भन्ने नै हुन्छ।

काखमा राखेर हुर्काउँदै गर्दादेखि यस्तै सुन्दै आएको सुतारलाई पटकपटक मौका पाएर पनि घर फर्कनलाई पैसाले नै रोक्छ। धन कमाएर परिवारको जिम्मेवारी निभाउन निस्केको आफू धन नकमाई कसरी फर्कनु ? धनकै लागि घर छाडेको सुतार अन्ततः यसकारण बहुलाउँछ कि एउटा जरो गाडेको छ, उसको मस्तिष्कमा कि आफू अशक्त भएर स्वास्नीको कमाइले मुखमा माड कसरी लगाउनु ? गरिबी, लाचारीसँगै हीनताबोधले उसलाई रात दिन चिथोर्छ। उसकी आमाले उसलाई यसरी नै हुर्काइ, ऊ के गरोस् ? ‘मुगलान’ एउटा प्रतीकात्मक शब्द हो। पितृसत्ताले जकडिएको यो समाजमा आज पनि पुरुषहरू पैसा कमाउन बाहिर निस्कन बाध्य छन्, चाहे त्यो घरबाट कार्यालय होस् या गाउँबाट सहर अथवा, देशबाट परदेश उनीहरू घिस्रिन करै लाग्छ। पुरुषले बनाएको यही समाजमा ‘केवल महिलाका लागि भन्दै’ आवाज उठाउने यहाँ थुप्रै संघसंस्था छन्, विडम्बना पुरुष हिंसाविरुद्धको अभियान चलाउने संघ–संस्थाको चर्चा कहीँकतै सुन्न पाइन्न।

यसो भनेर महिलामाथिको हिंसा बेचबिखन र पीडालाई अवमूल्यन गर्न चाहेको पनि होइन। महिलाका हकमा प्रशस्तै आवाज उठिरहेका छन् र, अहिले त पीडित महिला स्वयं पनि अगाडि आउन थालेका छन्, न्यायिक अधिकारका लागि। तैपनि यथार्थ के छ भने यहाँ पुरुषको मुद्दा भने सितिमिति समाचारै पनि बन्दैन, न उनीहरू आफैँ नै मुख खोल्न सक्छन्। खोलून् पनि कसरी ? जसलाई हुर्काइबढाइको संस्कारमै ताल्चा लगाउन सिकाइएको छ, ‘छि, आइमाई जस्तो ! छोरा मान्छे भएर रुनु हुन्न... !’

यथार्थमा यो पनि पितृसत्ताको एउटा कल्पवृक्ष हो, पितृसत्ताको एउटा बीज हो। यो बीजलाई नष्ट नगरेसम्म पुरुषको यो पीडा सधैँसधैँ रहिरहनेछ। हो, अब हराएको ठूले अनि बहुलाएको सुतारको यो कथा टुंग्याउनु छ। बेलैमा यो बीजको सुरक्षित पतन हुनु जरुरी छ। अनि मात्र लेखकले भनेजस्तै त्यो दिन आऊला कि ‘एक दिन सुतार फिर्नेछ अनि विजयसाथ कथा पनि टुंगिनेछ... !’

(लेखक रन्जु कथाकार पोषण पाण्डे तीर्थ सदनकी महासचिव हुन्।)

प्रकाशित: २२ जेष्ठ २०७८ ०४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App