प्रदीप सापकोटा
सूर्यप्रसाद लाकोजू कवि, बालसाहित्यकार, कथाकार, साहित्यिक पत्रकार, अनुसन्धानकर्ता, शिक्षक यसरी बहुआयामिक छन् लाकोजू । हालसम्म उनका विभिन्न विधाका करिब दुई दर्जन कृति प्रकाशित भइसकेका छन्। साहित्यिक गतिविधिमा सत्प्रयास उनको महत्वपूर्ण पाटो हो । नेपाली भाषा, साहित्यलाई उनी अत्यन्तै माया गर्छन्। यसअघि भावनाका फूलहरू (मुक्तकसङ्ग्रह), फूलहरूको मेला (मुक्तकसङ्ग्रह), स्पर्श (कवितासङ्ग्रह), मेरो मन मेरो मीत (कवितासङ्ग्रह), पनौती (अनुसन्धानमूलक), पनौतीको बाह्वर्षे मकरमेला(अनुसन्धानमूलक), स्मृतिका आलेखहरू, प्रेरणाको चौतारी (प्रेरक प्रसङ्ग), गुराँस फुल्ने मन (हाइकुसङ्ग्रह), कोपिला (बालकवितासङ्ग्रह), केही काभ्रेली अक्षरकर्मीहरु—१, घामको चुम्वन (कवितासङ्ग्रह), अक्षरका स्वरहरु (हाइकुसङ्ग्रह), सुसेली (गीतसङ्ग्रह), यःमरी (परिचयात्मक बालपुस्तक), घाम उदायो (बालकविता सङ्ग्रह), शाश्वत स्वरहरू (मुक्तकसङग्रह), मेरो घाम (कवितासङ्ग्रह), फूलैफूल (बालकविता सङ्ग्रह), साथी (बालकविता सङ्ग्रह), मेरो सानो घर (बालकविता सङ्ग्रह), आसामको स्पर्श (नियात्रा), दिवाकरका चुम्वन (कवितासङ्ग्रह, हिन्दीमा अनुदित) र ब्तष्तजभभ (अंग्रेजी कथा) आदि प्रकाशित छन् । सूर्यप्रसाद लाकोजूको हालै स्वर्णिम धुन मुक्तक संग्रह प्रकाशित भएको छ । एक सय एकवटा मुक्तकहरू समावेश भएको यो संग्रह पनौती साहित्य समाजले प्रकाशित गरेको हो । मुक्तकमा पनि लाकोजु राम्रै जमेका छन्।
मुक्तक भन्नासाथ कविताको सानो रुप बुझिन्छ । मुक्तकले अत्यन्तै थोरै शब्दमा धेरै कुरालाई उजागर गर्दछ।यो अहिले साहित्यको स्वतंत्रविधाको रुपमालोकप्रिय छ।यसले भावलाई पोख्छ । यसमा चतुष्पदीय हरफ रहेको हुन्छ । तुक प्रयोग गरेर पहिलो र दोस्रो हरफ लेखिन्छ भने तेस्रो हरफ स्वतंत्र हुन्छ । अन्तिम हरफ पहिलो र दोस्रोसँग मिलेको हुनुपर्छ । भनाईको मतलब कुनै पनि मुक्तकको पहिलो हरफले मुक्तकमा लेखिने विषयवस्तुको उठान गरेको हुन्छ, यसको समर्थनमा दोस्रो हरफ रहन्छ र तेस्रो हरफले स्वतंत्र रुपमा मुक्तकको पृष्ठभूमि उजागर गर्छ र अन्त्यमा चौथो हरफले वजनदार झड्का दिन्छ । अन्त्यानुप्रास मिलेमा मात्र मुक्तक बन्छ । मुक्तकमा कमभन्दा कम शब्दको प्रयोग गर्नु राम्रो मानिन्छ ।
यस स्वर्णिम धुन मुक्तकसङ्ग्रहमा कतै सूर्यप्रसाद लाकोजू वर्तमान फोहोरी राजनीतिप्रति दिक्क भएर तिखो प्रहार गर्छन् आफ्ना मुक्तकमार्फत भने कतै वर्तमान समयको स्थार्थ, जालझेलको बारेमा बोल्छन् ।सर्वसाधारण आम मान्छेका पीडाको आगो ओकल्छन् । सर्वसाधारण मान्छेहरुलाई भरेंग बनाएर सत्तारोहण गर्ने नेताहरु सत्तासिन भएसँगै आफ्ना बाचावन्धन भुलेर स्वार्थको आहालमा पौडी खेलिरहेको यथार्थलाई उनले मुक्तकको विषय बनाएका छन् । पदासिन भए पनि विचारको ढर्रा पुरातन भएकैले जनताले दुःख खेपिरहेको यथार्थलाई सबै सामु राख्छन् उनी।पात्रजो कोहि भएप नि परिपाटी,व्यवहार,आचरण र प्रवृत्ति उही भएकोले जनता मारमा परेको उनको ठम्याई छ । चुनावमा मात्र खोक्रा आश्वासन वाँड्ने नेपाली नेताहरुको फेरिएको बोली र ब्यवहारले मुक्तककारलाई दिक्क बनाँउछ । मै खाँउ मै लाँउ अरु सब मरुन दुर्वलहरु भन्ने कविशिरोमणि लेखनाथ पौडेलको कविता हरफको चरितार्थ गरेकोमा कविमन उद्धेलित हुन्छ ।
कद अग्लियो तर विचार अग्लिएन
ढुङ्गा पग्लियो तर मन पग्लिएन
रगतमै बग्ने रहेछ हैकमवादी सोच
पात्र बदलियो तर प्रवृत्ति बदलिएन । (पृष्ठः८८)
लाकोजु समसामायिक नेपाली परिवेश, राजनीति, विचार, दर्शन, ब्यक्तिका स्वार्थपना लगायतका विषयमा मुक्तकमार्फत व्यङ्ग्य प्रहार गर्छन् । यसरी प्रवृत्तिगत रुपमा भन्ने हो भने स्वर्णिम धुनमा भएका प्राय मुक्तकहरु व्यङ्ग्यप्रधान देखिन्छन् । सामाजिक उत्तरदायित्ववाट कुनै पनि सचेत मान्छे पर भाग्न मिल्दैन स्वर्णिम धुनमा पनि उक्त उत्तर दायित्ववोध गरेर विकृत मानसिकतामाथि चर्काे प्रहार गर्छन्।
विकासका पक्षधर मुक्तककारलाई नेपालको विकासे परिपाटीदेखि दिक्क लाग्छ । पहिलेदेखि चलिआएको बजेट पचाउने, सकाउने मेलोमा हुने विकास जो कोही नेपालीलाई थाहा छ, आर्थिक वर्षको समाप्त हुने बेला विकासहरू धमाधम हुन्छन् । असारे विकासको प्रवृत्ति हामी जो कोहीलाई थाहै छ । दशौं महिनासम्म चुप बस्ने अनि असार मासमा पैसो रोकिने भएकोले विकास गरिटोपलेर पैसा पचाउनेहरूप्रति लक्षित बडो यथार्थवादी र समसामयिक मुक्तक पेश गर्छन् यसरी लाकोजू –
तारा भएको मसँग सिंगो आकाश छ
अध्याँरोमा नदेखिने मसँग प्रकाश छ
भन्नेले जेसुकै भनून् कसले मुख टाल्न सकिन्छ
कतै नभएको मसँग असारे विकास छ । (पृ.१२)
कुनै पनि कुराले छोएपछि मात्र लेख्छन् लाकोजू । विषयको गहिराइमा पुगेर कुनै पनि कुराको अनुभूतिले मात्र लेख्छन्। राजनीति, जनताका अभाव, गरिवी, पीडा, प्रेम आदि विषयमा उनका मुक्तक छन्। राजनीतिक रूपमा चाँडोचाँडो परिवर्तन भएको देखेभोगेका उनी आर्थिक रूपमा गरिवी, अभाव र भ्रष्टाचारको विपक्षमा उभिएका छन्। प्रेम, प्रेमिल भाव, जनताको मनोव्यथालाई मुक्तकमा बोल्दछन्। उनका मुक्तकमा देशप्रेम पनि पोखिएको छ । युगबोधका दृष्टिले बलिष्ठ लाग्छन् मुक्तकहरू। वर्तमान कोरोना कहरले आक्रान्त विश्व परिवेशलाई पनि यहाँ समेटेका छन्।
उनी आफ्ना मुक्तकहरूलाई लयात्मकताले पुष्ट पार्न खप्पिस छन्। भाषिक शब्द चयनले मुक्तकमा मिठास भर्न सिपालु छन्। थोरै शब्दमा धेरै आशय व्यक्त गर्नसक्नु मुक्तकको विशेषता मानिन्छ। यो दृष्टिले उनका मुक्तक सार्थक लाग्छन्। समयचेतले सान्दर्भिक, राजनीतिक अस्तव्यस्तताप्रतिको तिखो छेडखान, मानवीय भाव र संवेदनाले भरिपूर्ण उनका मुक्तकले निराशासँगै आशावादिताको संचार पनि गरेका छन्। सामयिकताको गोलचक्कर वरिपरि छन् मुक्तकहरूभन्दा फरक पर्दैन।
संरचनात्मक हिसावले उनको मुक्तकशिल्प राम्रो छ । भाषिक शिल्प राम्रो छ । कलात्मकताको लेपन आवश्यकता अनुसार भएको छ । चोटिला, स्वादिला मुक्तकले पाठकलाई स्वादन गराउन सक्छ । अनुभूतिलाई तिव्रतर रुपमा अभिब्यक्त गर्न मुक्तकहरु सफल देखिएका छन्कुनै पनि मुक्तक झरिलो, खिरिलो, रसिलो र स्वादिलो हुनपर्छ। मुक्तक कलात्मक छोटा कविताको तस्विर भएकोले झट्ट हेर्नासाथ के भन्न खोजेको हो, के सन्देश दिन खोजेको हो प्रष्टताका साथ सम्बोध नगर्न सक्ने हुनुपर्छ । चतुष्पदी मुक्तकको महत्वपूर्ण पक्ष हो। यी सबै हिसाबले सूर्यप्रसाद लाकोजुलाई स्वर्णिम धुनले थप परिचित गराएको छ .मैले चिनेका लाकोजु कोमल मनका धनी छन्। त्यही कोमल मनको हार्दिकता पनि मुक्तकमा पोखेका छन् उनले । मीठो भावमा प्रस्तुत हुनसक्नु उनको विशेषता लाग्छ मलाई । सामाजिक उत्तरदायित्व र मानविय संवेदनाबाट नभाग्ने उनको बानी मुक्तकमा समेत छताछुल्ल भएको छ। मुक्तक आफैंमा पूर्ण हुन्छ। यसमा शीर्षकको जरुरी पर्दैन। शब्द र विम्बहरूलाई अत्यन्तै सुन्दर रूपमा चयन गर्न सक्दा मुक्तक राम्रो हुने कुरामा शंका छैन । लाकोजुले यस संग्रहमा यस्तै गरेका छन्।
अन्त्यमा, लाग्छ दुनियाँमा कुनै पनि कुरा आफैंमा पूर्ण हुँदैन । यसैले कुनै पनि सर्जकको सिर्जना आफैंमा पूर्ण नहुन पनि सक्छ । लाकोजूको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ । मुक्तक अक्करिला लागेका छन् मलाई । मन पसंद छन् र यति लेख्ने धृष्टता गरें । नेपाली भाषा साहित्यमा अक्षरको खेती बाक्लै गर्ने मित्र सूर्यप्रसाद लाकोजूलाई अझै परिष्कृत कलम चल्दै जाओस् कामना!
प्रकाशित: १६ जेष्ठ २०७८ ०९:२० आइतबार