मेरो नाम कुनै अखबारका पानामा छापिँदैन
मेरो जिकिर कुनै इतिहासको दस्तावेजमा भेटिँदैन
ताजमहल मैले बनाएको हुँँ
चीनको पर्खाल मैले नै लगाएको हुँ
त्यो आइफिल टावर अनि
धरहरा मैले नै ठड्याएको हुँँ
तर
राजा–महाराजा र शासकहरूको नाम आउँछ
मेरो नाम कहिल्यै आउँदैन !
जब भुँइचालोले भत्काउँछ
म पुरिन्छु कारखानासँगै
जब आगो लाग्छ
म जिउँदै जल्छु ती ‘प्रोडक्ट’सँगै
मान्छेको ज्यानभन्दा सम्पत्ति महŒवपूर्ण
समाचार बनेर आउँछ भोलिपल्ट–
फलानो कारखाना जल्यो,
यति सम्पत्तिको क्षति भयो !
जब बजारभाउले आकाशलाई चुम्छ
सबैभन्दा ठूलो मार मलाई नै पर्छ
आधा पेट खाएर मेरो छाक टर्छ
जब प्रकृति प्रकोपले सताउँछ
मेरै झुपडीको बाटो बिराउँछ !
जब देशमा क्रान्तिको लडाइँ हुन्छ
मलाई नै हतियार बनाइन्छ
मीठामीठा आशा र प्रलोभनमा
मलाई बहकाइन्छ
मजदुर आन्दोलनको नाम दिइन्छ
बलिदानको नाममा मेरो रगत बगाइन्छ
आखिर मलाई अघोषित सहिद बनाइन्छ
तर
म फगत एक मजदुर, एक कालिगड !
मलाई कुनै पदक र तक्माले सम्मान गरिँदैन
मलाई कसैले दोसल्ला ओडाउँदैन !
प्रकाशित: १८ वैशाख २०७८ ०६:१७ शनिबार