पौडेल विमुन्स
यात्रा भनेपछि मेरा लागि सकस हुन्थ्यो सधैँ । वाकवाकी लाग्ने समस्या थियो । जरूरी पर्यो , एकपटक म हवाई यात्रामा निस्किनुपर्यो। आफ्नो सिटमा पुगेर तुरुन्त आँखा बन्द गरेर घोप्टो परेँ।
मलाई देखेर अचम्म मान्दै छेउको साथीले नानाथरी प्रश्न सोध्न थाल्यो । मलाई झर्को लाग्यो तर पनि सामाजिक बन्नै पर्यो । टाउको उठाएको मात्र के थिएँ , सुरू भयो शास्त्रीय संगीत ! उसले दवाई दियो। मैले हातमा लिएँ । उसलाई मेरो नजिक बस्न गाह्रो भयो ,सायद । भनसुन गरेर सिट बदल्यो । म इन्तु न चिन्तु , लठ्ठ परेर लठ्ठिएँ।
लगभग एक घण्टाको यात्रापछि हामीले विमानस्थलमा पदार्पण गर्यौँ । अलि हल्का महसुस गरेँ , सायद निदाएर होला । चिया खान क्यान्टिनतिर बढेँ । भीड थियो । के भएको होला भन्ने जिज्ञासाले नजिक पुगेँ । मेरो होस उड्यो ।
सम्हालिएँ अनि मनमनै ईश्वरलाई धन्यवाद दिएँ । अपरिचितहरूलाई सहजै विश्वास नगर्नू है छोरी भनेर संस्कार सिकाउने बुबाआमालाई सम्झिएँ । धन्न , मैले उसले दिएको दवाई खाइन। जो मान्छे, हवाईयात्रामा मेरो छेउको सिटमा थियो उसको हातमा हतकडी थियो र साथमा अर्धचेतन अवस्थामा रहेकी महिलालाई एम्बुलेन्समा राखिँदै थियो ।
प्रकाशित: ३ वैशाख २०७८ ०७:१५ शुक्रबार