९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

वचन

कथा

झन्डै दुई वर्षपछि राधा माइती आएकी थिई।

– आमा म तल्लाघरे बडी आमालाई भेटेर आउँछु है।

आमाको जवाफ नपर्खी राधा तल्लाघर पुगी। संयोग भनौ,उस्को बालापनदेखिको साथी सागर पनि घरमा आएको रहेछ।

  सागरलाई देखेर ऊ एकछिन त नतमस्तक भई। सागरले कहिले आएकी राधा बस न भनेपछि झसङ्ग हुँदै  उसैको अगाडि बसी।

– कस्तो छ राधा ? खुशी छौ नि भन्ने सागरको प्रश्नले राधालाई दश वर्ष अगाडि पुरयाइदियो।

हो साँच्चै कति रमाइला थिए ती दिनहरू। जब सागर र राधा एउटै स्कूलमा पढ्थे। सँगै स्कूल जान्थे,आउँथे र घरको काम पनि सँगै गर्थे। तर, दुवै एकैछिन पनि मिल्दैनथे। सधैं झगडा गरिरहन्थे,आमाबाबाहरू पनि यिनीहरू कुकुर र बिरालाजस्तै छन् भन्नुहुन्थ्यो। एकदिन घाँस काट्दै गर्दा राधा लडेकी देखेर खुच्चिङ भन्दै सागर भागेको थियो। राधाले पनि सकेसम्म खेदेकी थिई। तर, भेटे पो। रिसले ठुस्स परेर बारीको डिलमा बसेकी राधालाई सागरले जिस्क्याउँदै भन्यो– नरिसा न राधा, तँलाई  मैले बिहे गरेर लगेपछि  दार्जिलिङको फुलबुट्टे साडी ल्याइदिन्छु नि।  

रिसले गाला रातो पार्दै इस् गर्छु तँसँग बिहे भन्दै फेरि खेदेकी थिई।

यसरी नै राधा र सागरका दिनहरू बितिरहेका थिए। सागर राधालाई बिहे गर्छु भनेर जिस्क्याइरहन्थ्यो भने राधा रिसाइरहन्थी।

समयसँगै दुवैले एसएलसी पास गरे। राधा गाउँकै कलेजमा पढ्ने भई भने सागर शहर जाने भयो। जानेबेलामा सागरले राधालाई बोलायो– राधे, ओई राधे, म पढ्न गएको है।  

– कहिले आउँछस् त नि?

– तँलाई बिहे गर्ने बेलामा । राधाले रिसले गाला फुलाई ।

 दुवैले १२ पास गरिसकेका थिए। राधाको पढ्ने टुङ्गो थिएन भने सागर पढ्न विदेश जाने भयो । उनीहरूको झगडा मित्रतामा परिवर्तन भइसकेको थियो।

गफैगफमा राधाले सोधी– विदेशबाट कहिले आउँछस् सागर?

–आइहाल्छु नि तँलाई बिहे गर्न। अनि थाहा छ, कथाको राजकुमारले जस्तै तलाई पनि म वायुपङ्खी घोडामा उडाएर समुद्र तार्छु नि।

फेरि कुटाइ खाएको थियो सागरले तर राधा पटक्कै रिसाइन।

सागर गएपछि राधालाई कताकता केके नभएको, हराएको भान भैरहेको थियो।

राधाको घरमा बिहेको कुरा आयो।

राधाले भनेकी थिई बुबालाई, बुबा म बिहे गर्दिन, पढ्छु ।

तर बुबाले तराईको जमिनदारको छोरा राम्रो घरबाट कुरा आएको भनेर बिहे गरेर पठाइदिनुभयो।

राधा मनमा सागरलाई सजाएर पतिको साथ लागेर गई।

‘राधा तँ त वचनको पक्का रहिछस् नि’भन्दै सागरले बोलाएपछि राधा झसङ्ग भई अनि मनमनै भनी– सागर,तँचाहिँ वचनको पक्का रहिन रहेछस्।

उसका आँखा आँसुले भरिएका थिए।

प्रकाशित: २३ चैत्र २०७७ ०७:४९ सोमबार

अक्षर