–भाइ कोठा नं १९ कता होला ? उनको प्रश्नले म झस्कें ।
–मलाई थाहा छैन, दिदी । ऊ उहाँ सिस्टरलाई सोध्नुहोस् न ।मैले सेतो पोसाक लगाएकी नर्सतर्फ सङ्केत गरें ।
हस्पिटलको वेटिङ कक्षमा पालो कुरेर बसेको थिएँ । सर्वसाधारण लाग्ने ती महिला हस्पिटलको बारेमा निकै अनजान र आतेसमा देखिन्थिन् । म नियालिरहेको थिएँ । मैले भनेपछि उनी त्यहाँ हिंडिरहेकी नर्सको छेउमा गएर सोही प्रश्न सोधिन् । नर्सले सभ्य तरीकाले नरम स्वरमा उनलाई कोठा देखाइदिइन् । तुरुन्त उनी देखाइएको दिशातर्फ लागिन् ।
केहीक्षणपछि उनी हातमा एउटा कागत बोकेर फेरि आइन् र मेरै छेउमा बसिन् । यसपटक उनले कसैलाई सोधिनन् । केहीबेरमा फेरि त्यस्तै सेतो ड्रेस लगाएकी महिला हिंडिरहेको देखेर उनी दौडेर गइन् र कागत देखाउँदै सोधिन्–सिस्टर, यो औषधि कहाँ पाइन्छ ?
हान्ने गोरुका जस्तै आँखा पारेर उनलाई हेर्दै ती सेतो ड्रेस लगाउने महिलाले पोखेको आक्रोसयुुक्त कर्कश आवाजले उपस्थित सवैको कानै छेड्यो– को सिस्टर ? कस्लाई भनेको ? मान्छे नचिनी बोल्ने कस्ताकस्ता पाखे आउँछन्।
उनी एकछिन ट्वाल्ल परिरहिन् अनि हामीतिर फर्केर सोधिन्–मैले केही बिराएँ र ?
प्रकाशित: २३ चैत्र २०७७ ०६:०७ सोमबार