९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

लज्जाबोध

लघुकथा

शून्यतालाई चिरेर आइरहेको ‘टकटक’ आवाजले मलाई अपांग हुनुको यथार्थबोध गराइरहेको छ। सधैँ जस्तो भिख मागेर जम्मा पारेको दुईचार पैसा काखी च्यापेर म आफ्नो बासस्थानतिर फर्किदै थिएँ। यसरी एक्लै यस गल्लीमा घिस्रिरहेको बेला मलाई जिन्दगी अभिशाप लाग्छ। हात जोड्दै, हात फैलाउँदै, पाउ पर्दै, बिन्ती गर्दै अनि रुँदै भिख माग्नुपर्ने बाध्यता सम्झेर आफैँसँग लाज लाग्छ। मानिसहरूलाई थाहा छैन कति मुस्किल छ भिख माग्नु, कति पीडाजनक छ भिखारी हुनु।

मेरो घर भन्नु उही पुरानो गल्लीको कुना थियो। केही थोत्रा बोरा, खिया लागेका जस्तापाताका केही टुक्रा र इँटा जोडजाम गरेर बनाएको सडकको बास। त्यही पनि कुनै बेला प्रहरी त कहिले मान्छेले भत्काइदिन्छन्। कहिले त मभन्दा पहिले नै पुगेर निदाइसकेको हुन्छ, सबैले भुस्याहा कुकुर भनी मलाई जस्तै हेला गरेको त्यो कालो कुकुर। म पनि छोडिदिन्छु उसलाई आफ्नो ठाउँ ।  आखिर उसको पनि को छ र! म कतै पल्टिहाल्छु, आखिर जहाँ पल्टे पनि के फरक पर्छ, खालि निद्रा लाग्नुपर्यो।

साँझ झमक्क परिसकेको रहेछ। आज ढिलो भएछ। बढी नै सुनसान छ गल्ली। मेरो लठ्ठीको आवाजबाहेक केही सुनिएको छैन। काखीको पोको बेसरी च्यापेर म छिटोछिटो अघि बढ्दै थिएँ। एक्कासि मलाई थुप्रै हातले लछारपछार पार्छन्।

– मलाई छोड। मेरो पोको छोडिदेऊ। म प्रतिकार गर्न खोज्छु। तर,मलाई भुईंमा पछारेर ममाथि अनेकौं लात्ती बजाउँछन् ती पशुहरू।

मलाई होस आउँदा रातले छोपिसकेको थियो। पैसाको पोको त थिएन । तर, काखी भने अहिलेसम्म पनि च्यापिरहेकै थिएँ। वरिपरि छामछामछुमछुम गर्छु, पैसा त छोडेन, लट्ठी पनि छोडेन छन्। सकेसम्म पर पुग्ने गरी आफ्ना हात फैलाउँछु। तर, कहीँ केही भेट्दिन। सायद मलाई लुट्नेहरूलाई मेरो लट्ठीको जरुरत छ। म बगिरहेको आसुँ पुस्छु। सग्ला हातगोडा भएका ती अपाङ्ग सम्झेर लज्जाबोध गर्छु।

प्रकाशित: २३ चैत्र २०७७ ०३:४९ सोमबार

अक्षर