९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

पाप र धर्म

कथा

हरेक दृष्टिले पिछडिएको गाउँ पिप्ले, करिब २४÷२५घरहरू रहेको मिश्रित जातीयता भएको ठाउँ थियो । त्यस गाउँमा एउटी बूढी आमा बस्थिन् । बेलैमा पति बितेकाले उनी एक्लो जीवन बिताइरहेकी थिइन् । आफ्ना छोराछोरी र ज्यादै नजिकका आफन्त नभएकाले बुढीले पछि आफ्नो सहाराका लागि सौताने दिदीका छोरा कान्छा जितेलाई आफ्नो बनाएकी थिइन् । बुढेसकालमा सहारा पाउने आशामा उसलाई सक्दो सहयोग गर्दै गइन् । उताबाट पनि ‘मुखको माया’ प्रशस्तै देखिन्थ्यो ।

एकदिन बुढीले जितेलाई भनिन्, “बाबु दुहुनो भैंसी किनेर ल्याइदेऊ, त्यो ज्यादै दुधालु र गुनिलो होस् ।”

त्यसपछि जिते पल्लो गाउँमा गई भैंसी किनेर ल्यायो । बुढीले सोधिहालिन्, “कति परयो भैंसीलाई ?”

जितेले भन्यो, “ठ्याक्कै १६ हजार आमा । असाध्यै गुनको छ रे ?”  

बुढीले सन्दुसबाट सबै पैसा गनिदिइन् जितेलाई । १२ हजार तिरेर ल्याएको भैंसी बढी पैसा पाउँदा ऊ ज्यादै खुसी भयो र घरतिर हिँड्यो तर भैंसी भने सोचेजस्तो नभएकाले बुढीले जितेलाई सम्बन्धन बिग्रोस् भनी पैसा नतिर्ने सर्तमा लैजान भनिन् ।

‘जितेलाई के खोज्छस् कानो आँखा’ भनेझैं भयो र  भैंसी लिएर घर गयो । यस्ता सारनतारन अनेकौं भए । बुढीले निरन्तर सहयोग गर्दै गइन् ।  अब जितेको मानसिकता सम्पत्ति हात पार्नेतिर सोझियो ।

जितेले घडेरी किन्यो र बुढीसँग गई भन्यो, “घडेरी किनें आमा ।”

बुढीले खुसी हुँदै भनिन्, “कहाँ ? र कस्तो छ बाबु ? घर बनाउन मिल्छ? बुढेसकालमा मलाई पनि लैजान्छौ त्यहाँ?”

जितेले भन्यो,“त्यहीँ घर बनाउँछु र आमालाई पनि लैजान्छु । सँगै बस्ने हो आमा । बरु पैसा पुगेको छैन आमा । हजुरसँग थियो कि ?”

पछि सुख पाउने आशमा बुढीले जितेलाई भनिन्, “कति पुगेन ?” 

जितेले पक्कै पाउने आशले झटपट भनिहाल्यो, “३० हजार आमा ।” बुढी निक्कै घोरिएर सोचिरहिन् । केहीबेर दुवै बोलेनन् । नपाइने भो भन्ने ठानेर जितेको अनुहार मलिन हँदै आयो ।

धेरैबेरपछि बुढीले भनिन्,“आज त छैन बाबु, २÷३ पछि लिन आउनू ।”  

जितेको हर्षको सीमा रहेन । घडेरीको सबै रकम पायो उसले । यसरी घर बनाउने, कहिले छोराको बिहे त कहिले छोरीको भनेर बुढीको सबै चलअचल सम्पत्ति सबै खुसीराजीका साथ हात पारयो उसले । दिनहरू यसरी नै बित्दै गए ।

उमेरले असी नाघिसकेको थियो । एकदिन बुढी पराल थुत्न टौवामा चढिन् । पराल थुत्दा परालसँगै भुईँमा पुगिन् । मेरुदण्ड भाँचिएछ । विचरी ! बेहोस भइछन् बुढी । खबर जितेकोमा पठाइएछ तर ऊ फर्केनछ । इन्तु न चिन्तु भएकी बुढीको उपचारका निम्ति जितेको दाजु मानेलाई खबर दिएलगत्तै अस्पताल लगी उपचार साथै स्याहारसुसार हुन गयो मानेबाट । लामो समयपछिको उपचारपछि उसले घरमा ल्याएर असाध्य माया दिएर पाल्यो । यस कार्यबाट बुढी खुशी त नहुने कुरै भएन तर आफू लाचार भएको अनुभूति गरिन् । पहिले आफूले मानेलाई केही पनि दिन मन उठेन । व्यवहारमा दुवैलाई बराबर गर्नुपर्ने कुरा उनलाई जँच्यो तर बेला बितिसकेको थियो । मानेलाई पश्चाताप गर्दै आफ्नै घरमा फालिदिन बारम्बार पुकारिन् तर मानेले चिन्ता नलिई आरामका साथ बस्न आग्रह गरयो । बुढी चिन्ताले सुक्दै गइन् । भेट्न आउन मानेले खबर पठाउँदा समेत ऊ फर्केन । खाना, बस्न तथा अन्य सुखसुविधा पाउँदा पनि बुढीले सन्तोषको आभास पाउन सकिनन् । धेरै वर्ष पालेपछि बुढी शोकै शोकले थलिन पुगिन् । अब बाँच्ने आशा कम भइसकेको थियो । मृत्युको नजिक रहेको अवस्थामा स्वासले जितेको प्रतीक्षा गरिन् । तर, ऊ त्यहाँ पटक्कै फर्केन । अन्त्यमा बुढीले अन्तिम वाक्य बोलिन्,“बाबु माने, तिमीले धर्म लियौ,म पापमा ...।”

आमा हरि भज्नुहोस्”,माने भन्दै थियो । सोही बेला बुढीका आँखा एकोहोेरिन पुगे । माने लगायत सबै रुन थाले तर जितेले अनुहारै देखाएन। मानेले बुढीको काजक्रियासमेत गरयो । छिमेकीले बुढीप्रति गरिएको पुण्यप्रति मानेलाई धन्यवाद दिए ।

प्रकाशित: २२ चैत्र २०७७ ०९:०७ आइतबार

अक्षर