९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

साझा अनुभव ‘कुटी’

समयको गतिसँगै मानवीय जीवन बदलिएको छ। मानिस गाउँबाट सहर पस्ने क्रम बढेको छ। सहरिया रमझमले धेरैलाई आकर्षित गरेको छ।  

सकेसम्म अनेक बहानामा सहर पस्न खोज्नेहरूको कुनै कमी छैन। तर यसैबेला गाउँको जीवनको महत्व दर्शाउने गरी मणि अर्यालले ‘कुटी’ नामक निबन्धसंग्रह सार्वजनिक गरेका छन्।  

पुस्तकको नामबाटै धेरैले अर्थ लगाउन सक्छन्, लेखकले कुटीलाई कति महत्व दिँदा रहेछन् भनेर। पक्कै पनि अहिलेको जमानामा कुटी कुनै पनि सहरिया क्षेत्रमा हुने कुरो होइन। लेखकले बाँके–बर्दिया सिमाना मानखोला नजिकैको आफ्नो गाउँ, आफ्नो घरलाई केन्द्र बनाएर ‘कुटी’का कथाहरू समेटेका छन्। ११ वटा निबन्धमा संग्रहित कुटी’मा हरेक निबन्धले अधिकांश नेपालीले भोगेको गाउँले परिवेश बोल्छ।  

समाजमा देखिएका समस्या, विसंगति तथा साझा अनुभवलाई समेत लेखकले कलापूर्ण तरिकाले समेटेका छन्। ‘कुटी’ मानव जातिले दिनहुँ भोगेका अनुभवको प्रतिविम्ब हो भन्दा अत्युक्ति हुँदैन। हिन्दू धर्ममा ‘कुटी’ शब्दले प्राचीन ऋषिमुनिहरूको आश्रयस्थललाई बुझाउँछ। तर यहाँ लेखकले ‘कुटी’लाई धार्मिक पक्षसँग नजोडी माया र खुसीसँग जोडेका छन्। अहिले हरेक मानवले खोजेको पनि खुसी हो। विकास गर्न तथा धनदौलत जोड्न धेरैलाई कठिन छैन। तर खुसी हुनेहरू आंँलामा गन्न सकिने मात्र भेटिन्छन्।  

लेखकले यो पुस्तकलाई आत्मानन्द भनेका छन्। यसले उनलाई आत्मानन्द त पक्कै दियो, यसको साथै जीवन जिउने अनुभव साटेर समाजप्रति योगदान पुर्‍याउन सफल बनायो।  

हरेक निबन्धमा कतै न कतै व्यावहारिक प्रसंग घुसाएर पुस्तकलाई जीवन्त पारिएको छ। नेपाली साहित्यको क्षेत्रमा कल्पनामा डुबेर कृति निकाल्ने क्रम बढेका बेला ‘कुटी’ भने धरातल नछाडेरै बसेको छ। आखिर मान्छे पनि धरातलमा रहँदासम्म न काम लाग्ने हो। धरातल बिर्सेपछि ऊ लगामबिनाको घोडाजस्तो हुन पुग्छ।

अर्यालका निबन्धले समाजमा व्याप्त विकृतिबारे प्रश्न गरेका छन्। ‘गुरु भेट’ शीर्षकमा उनले विद्यार्थीमा हराउँदै गएको अनुशासनप्रति प्रश्न गर्नुका साथै यसको जिम्मेवारीमा शिक्षकको पनि हिस्सा रहेको ठहर गरेका छन्।  

त्यस्तै ‘होटल हाइवे’ शीर्षकमा राज्यको लाचारीपनले आम यात्रुले पाइरहेको सास्ती र स्वास्थ्य समस्याबारे ठाडो प्रश्न गरेका छन्। राजमार्गका होटलमा बसचालकले खाना खुवाउने निहुँमा गरिरहेको शोषण कम्ती पीडादायक हुँदैन, जो कोही नागरिकका लागि। तर हाम्रा राज्य संयन्त्र आम उपभोक्ताले भोगिरहेका यस्ता समस्या देखे पनि नदेखेझैँ गर्छन्।  

यति मात्र होइन, उनले लेखन कलाका लागि नयाँ पुस्तालाई प्रोत्साहन गरेका छन्। ‘लेखक बनेर लेख्ने, पाठक बनेर टिप्पणी गर्ने र सम्पादक बनेर सम्पादन गर्नुपर्छ’ भन्ने उनको भनाइ सबैका लागि काम लाग्ने देखिन्छ।  

८६ पृष्ठको यो कृति केवल गुणैगुणले भरिएको भने छैन। प्रत्येक वस्तु र व्यक्तिका गुण÷अवगुण हुन्छन् भनेझैँ यस पुस्तकमा पनि लेखक शुद्धाशुद्धीमा मात्र नभई भाषागत रूपमा पनि चिप्लिएका छन्।  

‘मधुरस’ शीर्षकमा उनले उपाध्याय बाहुनको छोराले मदिरा सेवन नगर्ने उल्लेख गरेका छन्। रक्सी त व्यक्तिले खाने हो, जातले होइन भन्ने कुरा उनले बिर्सेका छन्। त्यस्तै पुस्तकमा राखिएका शीर्षक पनि सिलसिलेवार छैनन्। एउटा निबन्ध पढ्दा सुदूर पश्चिम पुगेको पाठक अर्को निबन्धको थालनी गर्दा सूदुर पूर्व पुगेको जस्तो महसुस हुन्छ। थुप्रै स्थानमा भाषिक मिठासता बनाउनुपर्ने देखिएको छ।  

जेहोस् मेहनत गर्नेहरू कहिल्यै हार्दैनन् भन्ने नेपाली उक्ति अनुसार लेखकले मेहनतका साथ पुस्तक प्रकाशित गर्नु सराहनीय पक्ष हो। आखिर हरेक व्यक्तिले गल्तीबाट सुधार गर्ने न हो। युरेका प्रकाशनले प्रकाशित गरेको पुस्तकको मूल्य १७५ रूपैयाँ छ।

प्रकाशित: २५ पुस २०७७ ०२:५३ शनिबार

अक्षर साझा अनुभव ‘कुटी’