२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला

नयाँ वर्षको दिन रंगशालामा राखी छमछमी नाच्ने

काठमाडौं, चैत २८(नागरिक)- बलिउड अभिनेत्री राखी सावन्त नयाँ वर्षको दिन राजधानीको दशरथ रंगशालामा देखिने भएकी छिन्। 'बलिउड म्युजिक एन्ड मस्ती' नामक कार्यक्रममा उनको प्रस्तुती रहने आयोजक विपनाज मिडियाले जनाएको छ।
हिजो राजधानीमा पत्रकार सम्मेलन गरी राखीको कार्यक्रमबारे जानकारी गराइएको हो। 'हाम्रो तयारी पुरा भयो। राखीसहित सहित ३१ जनाको टोली शनिबार अपरान्ह काठमाडौं आउँदैछ। उनीहरु सोमबार फर्कनेछन्,' आयोजककाअनुसार दुई दिने काठमाडौं बसाईमा राखीले नेपाली नयाँ वर्ष 'सेलिब्रेट' गर्नेछिन्।


राखीले चाहेको ठाउँमा घुमाउने कार्यक्रमसमेत रहेको आयोजक संस्थाका भरतकुमार शाहीले बताए। पत्रकार सम्मेलनमा राखी, कृष्ण अभिषेक, सुदेश लेहरी, भूमि त्रिवेदी र राजदीपलगायत कलाकारले कार्यक्रमबारे बोलेको प्रोमो देखाइएको थियो। 'म छिट्टै काठमाडु आउँदैछु। मसँग नाच्नु र झम्नुहोस्,' राखीले भिडियोमा भनिन्।


नेपाल र नेपालीप्रति सद्भाव रहेको भन्दै उनले कार्यक्रम गर्न उत्साहित रहेको बताईन्। सो कार्यक्रममा नेपाली कलाकारकोसमेत प्रस्तुति रहनेछ। अभिनेत्री प्रियंका कार्की, दिया मास्के, नन्दिता केसी, यसराज र जीतु नेपाल कार्यक्रममा प्रस्तुत हुने जनाइएको छ।


कार्यक्रमलाई भारतीय दुतावास र चलचित्र विकास बोर्डले साथ दिएको छ। १० हजार, १ हजार र ५ सयका टिकट व्यवस्था गरिएको छ। 'बिक्री भएका टिकटमध्ये १५ जनालाई राखीसँग लन्च गर्ने योजना ल्याएका छौं। २५ हजार दर्शकले कार्यक्रम अवलोकन गर्नेछन् भन्नेमा आशावादी छौं,' शाहीले भने।


चैत १७ मा हुने भनिएको कार्यक्रम शहीद स्मारक ए डिभिजन सुपर लिग फुटबलका कारण रोकिएको थियो।

प्रकाशित: २७ चैत्र २०६९ २२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App