रञ्जुश्री पराजुली
अरूले घोडा चढेको देख्दा छाना चढ्न किन मन लाग्छ
देखाउनकै लागि चाड मनाउन किन पर्छ
मौलिकता बिर्सेर नक्कल मात्र किन हुन्छ
देखासिकी असाद्य रोग हो
यस्को लत बसेपछि दीर्घ रोगी बनाउँछ
बज्यैले पातको बोतामा पूजासामा हाल्दिथिइन्
आमाले त्यही सिको गरिन्
नातिको पालामा धुरी चढ्ने रोगले चाँदीको भाडा खोज्यो
कोरोनाले चाड रोकेन
दसैको टीका थाप्न कतै नगए पनि
तस्वीर मिडियामा राख्नै पर्ने थियो
पूजाकोठा नभए पनि
सुत्ने कुनामा बनाउनु नै थियो
बजारभाव जतिसुकै उचिए पनि
तामझामका साथ ढाँचा फुर्ती देखाउनु नै थियो
तिहारको टीका लगाउन दिदीबैनीलाई नभटे पनि
थालीभरिको पतिकारको भाग मिडियामा देखाउनै पर्यो
को भन्दा को कमको होडले थला परेका वृद्ध आमाबाबाको
औषधि किन्न खल्ती खाली थियो
समाजमा बस्नु नै थियो
अरूभन्दा कम कसरी देखिनु
बाबाआमा त बिस्तरामा थिए
कसैले देख्दैन थिए
तर,
औकात त समाजलाई देखाउनु थियो
को भन्दा को कमको
अर्को वर्ष जे होलाहोला यसपालि
औकात देखाउनु जरुरी थियो ।
प्रकाशित: ४ मंसिर २०७७ ०८:२७ बिहीबार