४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
कला

पर्खेर शिक्षालय

नारायणी अधिकारी  

सारा विश्व तनावमा छ अहिले आतप्त छन् रोगमा।
वृद्धा वृद्ध समस्त बालक युवा छन भोकमा शोकमा।।
शिक्षाको गति रोकियो बहकिए शिक्षा लिने बालक।
शिक्षा शिक्षणको गयो महकता फर्किन्छ कैले अब।१।

सेवा आश्रममा प्रयोग गरिए यी पाठशाला यहाँ।
कारागार समान छन घरहरू ती बाल खेल्छन् कहाँ।।
आस्थाका प्रतिमूत्र्ति बालकहरू अन्योलमा छन् सब।
यो सन्त्रास सदैव बाल मनको मेटिन्छ कैले अब।२।

खेल्थे बाल रमाउँदै चउरमा उत्साह ऊर्जा छँदा।  
बोकी लक्ष्य यिनै उँचो शिखरमा चाल्थे सधैं पाइला।।
बन्दी जीवन लम्बियो दिनदिनै कस्तो हुने हो अझ।
हाम्रा बालकको भविष्य कसरी सुध्रिन्छ कैले अब।३।

झोला पुस्तक लेखनी विगतका सम्बन्ध छैनन पुरा।
बिर्से बालकले कला मगजका टुट्ने भए आँकुरा।।
छैनन साथ सँगी बताउन अहो ! होला कहाँ उत्सव।
शिक्षा ज्ञान विना कहाँ प्रगतिमा लम्किन्छ कैले अब।४।

चेलाका सँगमा रहेर गुरुले सत्ज्ञान बाँड्ने दिन।
कैले आउँछ काल खै बदलिंदै संचेतना फैलिन।।
शिक्षा नै नभए विकास पथमा गर्नेछ को गौरव।
कालो रात बिती उषा किरण यो झुल्किन्छ कैले अब।५।

सारा शून्य छ बाल गुञ्जन विना छन बन्द विद्यालय।
गुज्र्यो शैशवकाल अक्षर विना पर्खेर शिक्षालय।।
एकैनास रहन्न काल जहिल्यै यो चक्र झैं घुम्दछ।
यस्तो जर्जर काल यो नियतिको टुङ्गिन्छ कैले अब।६।

शार्दूलविक्रीडित छन्दको कविता
(कवि अधिकारी आदिकवि भानुभक्त क्याम्पस, दमौलीकी सहायक प्राध्यापक हुन्।)  

प्रकाशित: ३० भाद्र २०७७ ०३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App