१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

राष्ट्रकवि: समर्थन र विरोध

गत साता राष्ट्रकवि माधव घिमिरेको निधन भएपछि सामाजिक सञ्जालमा र अन्यत्र व्यापक रूपमा दुई कुरा चरममा देखियो– निन्दा र सहानुभूति।  

निन्दा गर्नेले राष्ट्रकविलाई कविका रूपमा त मूल्यांकन गर्न सकेनन्, मानवीय रूपमा उनलाई एक असल नागरिक वा एक सच्चा नेपालीका रूपमा पनि सराहना समेत गर्न सकेनन्। यसमा धेरैजसो वामपन्थी खेमाकै बढी देखिए, उनको आलोचना गर्नेमा।  

संयोगले वामपन्थी भाव राख्ने सरकार नै अहिले सत्तामा पदासीन छ र त्यही सरकारक एक शक्तिशाली मन्त्रीले सलाम ठोकेर उनलाई बिदा गरे।  

राष्ट्रकविको बिदाइमा अहिले सरकार वरपर रहेका र सरकारको ताकतसँग चिरपरिचित सत्ताका सारथीले नै भावुक भएर अग्रपंक्तिमा समवेदना दिएको बढी देखियो। यो एउटा भावुकतावश देखिएको आत्मीयता हो, वा भावपूर्ण वरण ? प्रश्न नै रह्यो।  

राष्ट्रकवि बिरामी भएर अस्पताल भर्ना हुँदा होस् वा भारतको दिल्लीमा गएर उपचार गराउँदा होस्, सरकारमा रहेका प्रधानमन्त्रीले आफ्नो अफिसियल र अनफिसियल भिजिट दिएकै थिए। तर, उनकै सेनामेनाले उनका बारेमा आलोचना गर्दा कता–कता कम्युनिजम्भित्रको विद्रोही भूमिकाको ‘पोयटिक जस्टिस’ गरिएको हो कि ? भन्ने पनि प्रश्न उठ्यो।  

एक हिसाबले हेर्दा राष्ट्रकवि वाम समर्थकका अति अप्रिय कवि पनि देखिए, उनलाई सत्ता र शासकको नजिक रहन मनपराउने पनि भनियो। अहिलेको सत्ताधीशहरू पनि उनलाई आफ्नो निकट बनाउन र निकटवर्ती भन्न कति रुचाउँछन् भन्ने उनको अभिनन्दन, रथारोहण बेलाको दृश्य त वृत्तचित्रजस्तै छर्लंग देखिएकै हो।  

माओवादीको सशस्त्र युद्ध चलिरहँदा ती पार्टीका सैन्यबल मैदानमा ‘रातो र चन्द्र सूर्य’ बोलको गीत होइन, ‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली’ गाउँथे भन्ने डकुमेन्ट बाहिर नआएको होइन।  

माओवादीका कैयन् लडाकु भाइबहिनीलाई अझै पनि घिमिरेको ‘गाउँछ गीत नेपाली’ गीतको ‘उहिले हामी टिस्टा काँगडा पुगेथ्यौँ’ भन्ने पंक्ति सस्वर कण्ठस्थ भएको देखिन्छ।  

हामीलाई महाकवि देवकोटा मनपर्दैन, उनले शिक्षामन्त्री हुँदा मातृभाषामा पढ्न पाउने अधिकारबाट सम्पूर्ण अन्य भाषाभाषीलाई कुठाराघात गरे। कविशिरोमणि लेखनाथ मनपर्दैन, उनले राणा र राजाको गुणगानमा भनेर राणाका लागि ‘पिँजडाको सुगा’ लेखे। अम्बर गुरुङ मनपरेन, उनलाई राजा महेन्द्रले नेपाल ल्याए। हामीलाई बालकृष्ण सम मनपर्दैन, किनकि उनी कुलीन राणाको घरमा जन्मिए।  

नेपाली जनका प्रिय कवि देवकोटा, रिमाल, सिद्धिचरण, भूपिपछि उच्चकोटिको जीवन बिताएका र हरेक समय सफल र सार्थक सोचका साथ अघि बढेका माधव घिमिरे पञ्चायती शासनकालमा राजा महेन्द्रकै पालामा सत्यमोहन जोशी पुरातत्व विभागमा गएजस्तै, हिमालय शमशेर राणा नेपाल राष्ट्र बैंकको गभर्नर भएजस्तै विभिन्न पदमा पुगेका हुन्।  

पञ्चायती शासनकालमा जे सुविधा जसरी पाइन्थ्यो, त्यसरी नै सबैले ग्रहण गर्थे, उनले पनि गरेका थिए। इतिहास हेर्ने हो भने पञ्चायती शासनकालमा कम्युनिष्ट पृष्ठभूमिबाट आएका केही गिने–चुनेका कवि लेखक शासन वा सत्ता नजिक पुगेनन् होला, तर बाँकीले दाऊ मार्न छाडेनन्।  

नेवार भाषा आन्दोलनमा सक्रिय रहेका केही नाम चलेका कवि चित्तधर हृदय, गिरिजाप्रसाद जोशी वा दुर्गालाल श्रेष्ठ जहिले पछि परे होलान्, तर पद्मरत्न तुलाधर, रूपचन्द्र विष्ट पञ्चायत शासन सुधार्न पञ्चायत भित्रकै रिङमा नछिरेका त होइनन्।  

त्यतिवेला पञ्चायत हुनु र पञ्चायती व्यवस्थाकै सुविधामा छात्रवृत्ति लिएर विदेश पढेर आएका कैयन् व्यक्ति अहिले क्रान्तिकारी नेता नभएका होइनन्। पञ्चायत व्यवस्थाकै समयमा शक्ति पूजन गरेर ठुल्ठूला पदमा पुगेका कर्मचारीले नै अहिलेसम्म प्रशासन धानिरहेका छन्। कैयन्ले त संविधान बनाउनदेखि चुनाव गराउनसम्म आफ्नो औकात र अनुभव देखाएका छन्।  

हाम्रो प्रोडक्सन हाउस नै कमजोर भएपछि हामीले विकल्प खोज्ने कताबाट ?

प्रसंग १: विवादको पहिलो पक्ष  

राष्ट्रकवि घिमिरेको अवसान भएलगत्तै लागेको आरोप यस प्रकार छ– घिमिरेले देशमा भएको कुनै पनि आन्दोलनमा सहभागी भएनन्। घिमिरेले सत्ताको गुणगान र प्रशंसामा नै बढी कृति लेखे।  घिमिरेले गणतन्त्र वा परिवर्तनका बारेमा कुनै रचना लेखेनन्। घिमिरेलाई शाही सरकारले दिएको राष्ट्रकवि पद योग्य छैन।  

यी सबै कुरा सही हुन् भने पनि एउटा कुरा सधैँ गलत छ, राष्ट्रकवि घिमिरेले २०११ सालमै ‘हल्लियो सिंहासनको तख्ता गणतन्त्रको आवाजमा...’ नलेखेका होइनन्, तर यो पंक्ति जम्मा दुई लाइनको मात्र थियो।  

पंक्ति छोटो र लामोले फरक पर्ने भए युगकवि सिद्धिचरण श्रेष्ठको ‘थन क्रान्ति मजुइक शान्ति जुई मखु...।’ अर्थात्, ‘यहाँ क्रान्ति नभई अब शान्ति हुन्न’ भन्ने पंक्तिले उनको सर्वस्व हरण भो, जेल भो। आज पनि मै हुँ भन्ने नेता यही एक लाइन पढेर आफ्नो भाषण सुरु गर्दा विश्वको अग्लो मञ्चबाट चिच्याएजस्तो ठान्छन्।  

राष्ट्रकवि भन्ने पदवी वा उपाधि जनसमर्थनमा (होटल ब्ल्यु स्टारबाट पास भएर) गीतकार नगेन्द्र थापामार्फत तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा समक्ष पु-याइएपछि थापाकै सिफारिसमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले दिएका हुन्। हुनसक्छ, उनले पाएको उपाधि दश वर्षपछि अर्को कविलाई हस्तान्तरण हुनपथ्र्यो, त्यो भएन।  

राष्ट्रकवि अर्थात् ‘पोयट लरेट’ विदेशमा दश–दश वर्षमा अर्कोलाई दिइने चलन छ, बेलायतका डार्क पोयट रोबर्ट फ्रस्ट, डायलन थोमस यो उपाधिबाट सम्मानित छन्।  

‘पोयट लरेट’जस्तै बेलायत सरकारले ‘नाइट अफ कमान्डर’ पनि दिने गर्छ। जसलाई बेलायत सरकारबाट पाँच–पाँच वर्षमा आफ्नो रुचि अनुसार फरक–फरक विधामा योगदान पु-याएका व्यक्तिलाई दिइने चलन छ।  

भारतको राष्ट्रगान जनगणमन अधिनायक लेख्ने रवीन्द्रनाथ ठाकुरलाई ‘नाइट अफ कमान्डर’ दिइएको छ। उनले ‘जालियाँवाला बाग प्रकरण’पछि त्यो उपाधि फर्र्काए पनि सम्बोधन कायमै छ।  

ठाकुरजस्तै गायन विधामा आफ्नो अलग्गै ख्याति बनाएका एल्टन जोनलाई पनि यो उपाधि दिइएको छ। मानपदवी, सम्मान वा उपाधि राजा–महाराजा वा दरबारले नै दिने हो, यो परम्परा यसरी नै बन्दै आएको हो।  

विश्वको सर्वोच्च पुरस्कार नोबेल पुरस्कार राजा भएकै देश स्विडेनमा दिइने चलन छ, यहाँ पाउनेको भीड र पाउनुपर्नेको लस्करमा रुसका कम्युनिस्ट लेखक पनि छन् र पाएका पनि छन्। तर, अनौठो कुरा कम्युनिस्ट लेखकले यो पुरस्कार बहिष्कार गरेको इतिहास छैन, बरु जर्ज बर्नाड सा, ज्याँ पाल सात्र्रजस्ता बिना पार्टीका वा बिना झन्डाका लेखकले बहिष्कार गरे।  

हाम्रा घिमिरेलाई राष्ट्रकवि पद अस्वीकार गर्न मन लागेन वा गरेनन्, उनले नस्विकारेको भए अरु कसैले पाउँथे, उनलाई सायद त्यसको चिन्ता पनि भयो होला।  

व्यक्तिगत आलोचनाका कुरा छाडेर घिमिरेका केही लोभ–लालसा कायमै रहे होला। देशको एउटा उच्चकोटिको कविले राष्ट्रगान प्रतियोगिता ( राष्ट्रगानलाई नेसनल एन्थेम भनिन्छ, राष्ट्रिय गान होइन। त्यतिवेला निर्णायकले राष्ट्रगानको गलत लगत राखे।) मा भाग लिनु हुन्न थियो हार्नका लागि। तर उनले हरिहर तिमिल्सिना, प्रेमविनोद नन्दन, कृष्णहरि बराल, प्रदीपकुमार राई, सुनील पुरी आदिका साथ भाग लिनुभयो, त्यस्ता कमजोरी उहाँबाट नभएका होइनन्। ‘रातो र चन्द्र सूर्य’ गीतका रचयिता गोपालप्रसाद रिमालका छोरा मनोहर रिमालले आफ्नो स्वर्गीय पिताको रचना प्रतियोगितामा समावेश छैन भनेर फिर्ता लिए, त्यो साहस उनले गर्न सकेनन्, यसलाई ‘ह्युमन एरर’मा लिन सकिन्छ।  

प्रसंग २:  विवादको अर्को पक्ष  

आन्दोलनमा सहभागी नभएका कारण पनि कविवर घिमिरे आलोचित भए।  

नेपालमा अहिलेकोे सत्ता र समाजले देख्ने गरी दुईवटा फलदायी आन्दोलन भए– २०४६ सालको र २०६२/६३ को। यी दुई आन्दोलनमा सहभागी नभएका कारण उनी सर्वथा आलोचित भए।  

२०४६ सालको आन्दोलनमा उनी मात्र होइन, प्रज्ञा प्रतिष्ठानमा जागिरे त्यतिवेलाका कोही पनि सरिक भएनन्, यसले के परिणाम दियो त ?

२०४६ चैत ३ को कालोपट्टी आन्दोलनको एक आयोजकका हिसाबले यस पंक्तिकारसहित अग्रज कवि वासु शशि, गोविन्द वर्तमान, हेमन्त बुढाथोकी लगायत चावहिलस्थित मुरारि अर्यालको निवासमा बैठक बसेको थियो। त्यसले प्रज्ञा प्रतिष्ठानभित्रै कालोपट्टी बाँधेरबस्ने तर प्राज्ञका कर्मचारीलाई सहभागी नबनाउने निर्णय गरेको थियो। त्यही मुताबिक कार्यक्रम अघि बढेको सत्य हो। तर, कार्यक्रमको दिन प्रज्ञा प्रतिष्ठानमा कार्यरत नेपालका प्रसिद्ध गायक, संगीतकार, गायिकाहरूले गेटमा ताला लगाएर निषेध गरेपछि कार्यक्रम त्रि–चन्द्र कलेजको सरस्वती सदनमा स-यो।  

चैत ३ गतेलाई निषेध गर्ने तिनै संगीतकार पछि नाम चलेको संगीत नाटक एकेडेमीको उच्च पदमा पुगे, यो इतिहासको कालो पानामा त्यतिवेला प्रज्ञा प्रतिष्ठानमा माधव घिमिरे उपकुलपति र लैनसिंह बाङदेल कुलपति थिए। विजय मल्ल सदस्य–सचिव थिए, भूपि शेरचन प्राज्ञ थिए। सबै त्यहीँ थिए।  

विजय मल्ल, भूपि शेरचनको ०४६ सालको आन्दोलनमा कुनै भूमिका थिएन होला, तर ००७ सालमा विजय मल्लले शोभा भगवतीको पानीमा हात चोपलेर सहिदको सपना पूरा गर्छौं भनेकै रहेछन्। पछि तिनै विजय मल्लले पञ्चायत २५औँ वर्ष पुगेकामा ‘पच्ची वसन्त’ जस्तो फिल्म लेख्नुप-यो, नीर शाहले बनाउनप-यो, हरिहर शर्माले खेल्नुप-यो।  

परिर्वतन भनेको यही त होला नि।  

भूपिले सहिदको सम्झना पनि लेखे, हो चि मिन्हलाई चिठी पनि लेखे, तर अहिले भर्खर–भर्खर माक्र्स र लेनिन पढ्न थालेका आलाकाँचा कविहरूले उनको जीवनको ‘दी एन्ड’लाई राजदरबारको कित्तामा लगेर जोडिदिए।  

के भूपिमा क्रान्तिको चेत नै थिएन त ?

२०३६ सालको सडक कविता क्रान्तिमा भाग लिने विद्रोही कविहरू २०४६ सालमा सरकारी पदको उच्च ओहोदामा थिए, सायद आन्दोलन दबाउने गोटी बन्न बाध्य भए, के ती कविहरूका कविता अब पढ्न लायकै भएन त ?

२०४६ सालको कालोपट्टी आन्दोलनमा आउँछु भनेर पनि नारायणगोपाल आएनन्, के उनी प्रतिगामी भए ? उनका गीत महत्वपूर्ण होइन त ?  

नारायणगोपाल अस्वस्थताका कारण आएनन्, तर यही कारण साहित्यकार नारायण ढकालले लेख लेखे, जब साहित्यकार ढकाललाई आफूले लेखेको कुरामा पश्चाताप भयो, उनले क्षमा माग्न नपाउँदै नारायणगोपाल गइसकेका थिए।  

जीवनका हिसाबले सबभन्दा ऊर्जाशील र उत्सवधर्मी गीत गाएका नारायणगोपाललाई तत्कालीन महारानी चाँदनी शाह उर्फ ऐश्वर्य राज्यलक्ष्मी शाहको एउटा गीत गाएका कारण त्यति धेरै आलोचना गरियो, के त्यो न्यायसंगत थियो ?

नारायणगोपालले न पञ्चायतको समर्थनमा भजन गाए, न पार्टीको समर्थनमा क्वारल गाए, के अर्थमा उनलाई व्यवस्थाको गुण गाउने भजन गायक भनिनुपर्ने ?

०४६ सालको आन्दोलनमा नारायणगोपाल मात्र होइन, न प्रेमध्वज प्रधान थिए, न तारादेवी, न नातिकाजी, न शिवशंकर थिए। ती सबै रेडियो नेपालको शिकन्जाभित्र थुनिएका थिए, त्यतिबेला रेडियो नेपाल अहिले जस्तो पार्टी भर्ती केन्द्र थियो, त्यस्तै थियो।  

कलाकार गहना हुन् भन्ने मान्यता रेडियो नेपालले त्यो बेला बनाएको थियो, अहिले पनि त्यही छ।  

प्रसंग ३: परिवर्तन वा विवाद, संवादको सूत्र  

हरेक १० वर्षमा नयाँ–नयाँ आन्दोलन भइरहने यो देशमा हरेक आन्दोलन महत्वपूर्ण हो।  

यसैको फरक अर्थमा पञ्चायत वा शाही सरकारका पृष्ठपोषकले भन्ने गरेको एउटा वाक्य छ, त्यतिवेलाको सुख–सुविधा चैँ लिन हुने, अनि अहिले पुरानो व्यवस्थालाई गाली गर्नुपर्ने ?

कलाकार, साहित्यकारले मात्र आन्दोलनमा भाग लिएको हुनुपर्ने ? अनि, पार्टीको बिल्ला लगाएको भरमा जो पनि राजदूत, गभर्नर वा कुलपति हुन पाउने हो भने आन्दोलनमा गएर लाठी, गोली किन खाइरहने ? मध्यममार्ग त यही होला।  

०४६ सालको आन्दोलनको फल खेर गएपछि दिक्क लागेर बसेका मदनकृष्ण–हरिवंशलाई कसरी ०६२÷६३ को आन्दोलनमा ल्याइयो, कसरी रिपोर्टर्स क्लबबाट गुरुकुलको चोकसम्म पु-याइयो, त्यो इतिहास थाती नै छ। जुलुुसमा जानु कुनै ‘गिम्मिक’ मात्र हो त ?

०४६ सालको जनआन्दोलनमा पारिजातजस्तै ठूलो स्वरले आन्दोलनमा सहभागी हुने कवि वासु शशिलाई नेपालको कुन परिवर्तित सरकारले चिन्यो र मञ्चमा पु-यायो ? त्यस आन्दोलनको तर सबैले मारे, तर वासु शशि, युद्धप्रसाद मिश्र, दुर्गालाल श्रेष्ठ, शिव अधिकारी किन कुनामा फ्याँकिए ?

हामी ब्रेख्तको नाटक सेँचुआको असल मान्छेभित्र छौँ, असल मान्छे खोज्दाखोज्दै हामीले असल मान्छेको गुडबुक नै रित्याइसक्यौँ।

हामीलाई रिमाल मनपर्दैन, उनी बहुलाएका थिए।  

हामीलाई महाकवि देवकोटा मनपर्दैन, उनले शिक्षामन्त्री हुँदा मातृभाषामा पढ्न पाउने अधिकारबाट सम्पूर्ण अन्य भाषाभाषीलाई कुठाराघात गरे।  

हामीलाई कविशिरोमणि लेखनाथ मनपर्दैन, उनले राणा र राजाको गुणगानमा भनेर राणाका लागि ‘पिँजडाको सुगा’ लेखे।  

हामीलाई अम्बर गुरुङ मनपरेन, किनकि उनलाई राजा महेन्द्रले नेपाल ल्याए। हामीलाई बालकृष्ण सम मनपर्दैन, किनकि उनी कुलीन राणाको घरमा जन्मिए, तर जसले चिसो चुल्हो, मुटुको व्यथा लेखेको त हामी उहिल्यै बिर्सिसक्यौँ।  

‘देशले रगत मागे मलाई बलि चढाऊ’ गाउने गोपाल योञ्जन मर्दा हामी एउटा राष्ट्रिय झन्डा ओढाउन सक्दैनौँ, किनकि उनी दार्जिलिङबाट आएका हुन्। हामीलाई नारायणगोपाल मनपर्दैन किनकि उनले ०४६ सालको आन्दोलनमा सहभागी भएनन्।  

यसरी हामीले हाम्रा मनपरेका मान्छेको लिस्ट घटाउँदै घटाउँदै हामी आफ्नो आदर्श भनिने, गौरव भनिने मान्छेको नाम काट्दैछौँ।  

०४६ सालको आन्दोलनमा नारायणगोपाल थिएनन् भने दार्जिलिङका कति कलाकार थिएनन्, उनको बाध्यता थियो होला।  

देश सबैलाई दुख्नैपर्छ भन्ने छैन। कसैको देशपारि पनि होला।  

नेपाली सिनेमा, संगीत, साहित्यमा काम गर्ने ४० प्रतिशत कर्मीहरू मेची पारिबाट छन्, ती सबै हाम्रो देशको आन्दोलनमा आउनैपर्छ भन्ने छैन। कवि हरिभक्त कटुवालले जस्तो तिनले हाम्रो आन्दोलनलाई जातीय समर्थन नदिन पनि सक्छ।  

नेपालको आन्दोलनको कथा बोकेको फिल्म ‘बलिदान’ नेपालका कम्युनिस्ट समर्थकले बनाए, तर फिल्मको निर्देशन भारतीय नेपालीभाषीले गरे, यसमा के फरक प-यो र ? संगीत त नेपाली मूलका रामेश श्रेष्ठले नै गर्नुभयो नि ? जबकि मोदनाथ प्रश्रितको कथामा आधारित त्यो फिल्म नेपालको आन्दोलन बुझेको फिल्मकार बद्री अधिकारीले गर्ने तय थियो।  

वीर गणेशमान सिंहको जीवनीमा आधारित फिल्म कुनै पनि आन्दोलनमा सहभागी नभएका फिल्मकर्मीले बनाए, यसमा केको आनको तान भयो त ?

भारतमा पनि गान्धी फिल्म बन्ने बेला यस्तै विवाद भयो, गान्धीलाई सबभन्दा दुःख दिने बेलायती मूलका निर्देशकबाट यो फिल्म बन्नु हुन्न भने तर भारत सरकारका अग्रता (रानी दूबेको लगानी) मा ब्रिटिस मूलका रिचार्ड एटेनब्रोरोले नै फिल्म बनाए। बाहिरी संसारको अभ्यास पनि यस्तै छ।  

०६२÷६३ को आन्दोलनको विरोधमा उठेका एक कलाकारलाई आन्दोलन किन जरुरी छ भनेर हरिगोविन्द लुइँटेल र अर्जुननरसिंह केसीले सम्झाउँदा उनले यो आन्दोलन तुहिन्छ भनेका थिए, अहिले तिनै कलाकार केपी ओलीको गीतमा वृत्तचित्र बनाउँदैछन्।  

परिवर्तन स्वीकार्य छ, स्वीकार्नैपर्छ।  

दार्जिलिङबाट आएका सबै कलाकार लेखकलाई पारिजातलाई जस्तै नेपाल दुख्नुपर्छ भन्ने छ र ? हामी कहिल्यै गोर्खाल्यान्डको समर्थन गरेर बोर्डरसम्म पुग्न सकेको छौँ र ?

सबै कुराको हिसाबमा माइनस मात्र ग¥यौँ भने हिसाब नै रहँदैन। हामीसँग आफ्नै घरको छानो टाल्ने ढुंगा छैन, अर्काको घरमा ढुंगा हान्दैछौँ।  

हामी सिक्किमको लेन्डुप दोर्जेलाई गाली गरेर कविता लेख्छौँ। सिक्किमका कवि राजेन्द्र भण्डारीले प्रज्ञाको प्रेक्षालयमा कराएर भने हाम्रो लेन्डुप दोर्जेलाई गलत प्रतीक नबनाउनुस्, ऊ पनि हाम्रो नयाँ सिक्किमको बीपी कोइराला हो।  

हामी कहिलेकाहीँ गाली गर्दै जाँदा हामै्र नेतालाई पनि इतिहास मासिने गरी गाली गर्छौं। जस्तो, राजा महेन्द्र अनि पृथ्वीनारायण शाह।  

यी दुवै गलत छन् भने हाम्रो देशको यो कुन चैँ इतिहास सही हो त ? सच्याउने बेला आएको छ, तानाशाही महेन्द्र भनेर हामी जसलाई गाली गर्छौं, उसको समयमा नेपाल आएका अनुराधा कोइराला, भीमदर्शन रोका, वानिरा गिरी कति सम्माननीय छन् ? महेन्द्रले नै बोलाएर नेपाल ल्याइएका सर्वोच्च अदालतका प्रथम न्यायाधीश हरिप्रसाद प्रधान, संगीतकार अम्बर गुरुङ, लैनसिंह बाङदेल वा सूर्यविक्रम ज्ञवाली कति प्रिय छन् ?

पृथ्वीनारायण शाहको काम, कदम गलत छन् भने नेपालमा सबभन्दा कम्युनिस्ट जन्माउने किताब ‘मानव’ लेख्ने मोदनाथ प्रश्रित के अर्थमा पृथ्वीनारायण शाहका फ्यान भएका हुन् त ?

हामीलाई चे ग्वेभारा, एर्नेस्टो कार्दिनाल, चारु मजुमदार, कानू सान्याल, नागभूषण पटनायक मनपर्छ, किनकि तिनलाई हामीले पढेका मात्र छौँ, तिनका नातागोता वा आफन्तसित हाम्रो कुनै सम्बन्ध छैन। कमसे कम उनले हाम्रो भाग खोसेर खाएका छैनन्, त्यसकारण तिनीहरू हामीलाई मनपर्छ।  

हामीभित्र नयाँ मनुष्य यस्तो जन्मिएको छ– प्रेमको गीत गाउन नहुने, प्रेमको गीत गाउने बुर्जुवा संस्कृतिलाई बढावा दिएको हुन जाने तर आफू चैँ प्रेम गर्न नसकेर बलात्कार गर्न सक्ने, बहुविवाह गर्न सक्ने, एकपछि अर्को सम्बन्ध तोड्दै नयाँ–नयाँ सम्बन्धमा रमाउँदै प्रेमहीन काम गर्ने। प्रेम पछि गरिने सबै काम गर्न हुने तर प्रेमको कुरा गर्न नहुने, यो संसारको कुन पार्टी पुराणमा लेखिएको छ र ?

हामी आफ्नो मान्छे मन नपराउनका निम्ति धेरै कारण सजिलै उत्पादन गर्छौं, तर अरुलाई ठूलो बनाउन हामीलाई जिन पेन्टमा गुरुकुर्ता लगाएपछि क्रान्तिकारी वा बुर्जुवाविरोधी भएजस्तो मात्र लाग्छ, यो हामीलाई भारतको दिल्ली अनि जेएनयुले सिकाएको हो भन्दा भ्रम नहोला।  

अब एकपटक हामी जिन पेन्टमा नेपाली कमिजको प्राक्टिस गर्ने हो कि ?

संवादको सूत्र यति नै। 
००

प्रकाशित: १३ भाद्र २०७७ ०५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App