११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

सुनौलो अमृत

बालकथा

मन्दिरा मधुश्री


‘कोभिड १९’ को महामारीका कारण विश्वका धेरै देशमा ‘लकडाउन’ भएको थियो । नेपालमा पनि महामारीको प्रकोप फैलने डरले सबै स्कुलले वार्षिक परीक्षा छिटोछिटो सकाए । यसपटक शुभले नौ र शैलले आठ कक्षाको परीक्षा दिएका थिए । परीक्षा सकिएको भोलिपल्टै उनीहरू छुट्टी मनाउन मामाघर गए । उनीहरू गएको दुई दिन मात्रै भएको थियो ।

बाबा अफिसबाट घर आउनुभो । आमा भान्सामा कोदोको रोटी र फापरको साग पकाउँदै हुनुहुन्थ्यो । रेडियोमा कृषि कार्यक्रम आउँदै थियो ।

“केटाकेटी नहुँदा त कति शून्य हुँदोरहेछ है घर नै ?” खाना खान कुर्सीमा बस्दै बाबाले भन्नुभयो   ।

“त्यही त, दुई दिन नहुँदा पनि न्यास्रो पो लागिसक्यो । खानेबेलामा पनि उनीहरूको नै याद आउँछ ।” आमाले भन्नुभो ।

"दु:ख सुख जे भए पनि आफ्नो छोराछोरीलाई चैँ सँगै राख्नुपर्ने रैछ बुझ्यौ " रेडियो अलि ठुलो बनाउँदै बाबाले भन्नुभो । 

" यस्तै हो  भने त भोलिपर्सि पढ्न विदेश गए भने कसरी बस्नुहोला है एक्लै ?” आमाको बोली पनि  रुन्चे थियो ।

आमाले  गोलभेँडा पोल्नुभयो । हरियो खुर्सानी र बाबरी राखेर सिलौटोमा पिसेर अचार बनाउनुभयो । थालमा रोटी, तरकारी, अचार पस्केर दिनुभयो बाबालाई ।

“नेपालमै पनि छन् नि गुणस्तरीय शिक्षा दिने थुप्रै कलेजहरू । यहीँ पढाउनुपर्छ नि । केटाकेटी पनि सँगै हुने, स्वदेशी शिक्षाको पनि प्रवर्द्धन हुने ।” बाबाले रोटीको टुक्रा अचारमा चोबेर खादै भन्नुभयो ।

एक्कासि रेडियोमा भोलिदेखि एक हप्ताको लागि ‘लकडाउन’ हुने समाचार आयो ।

भोलिपल्ट बाबाले दिउँसै शुभ र शैललाई लिएर आउनुभयो  । मामाको छोरो अनुप पनि उनीहरूसँगै आएछन्  ।

बेलुकी निकैबेर तीनै जनाले मामाघरको रमाइलो सुनाए । नौ बज्न लागेको थियो । निन्द्राले हाइ काड्न थाले सबै ।
“आज  तिमीहरू थाकेका छौ ।  बेलैमा सुत । अब भोलि सुनौँला है त तिमीहरूको बाँकी कुरा ।” बाबाले भन्नुभयो  र झुल कसिदिनुभयो  ।
आमा दूध तताउन भान्छा कोठामा जान लाग्नुभयो  ।

“आमा ! हामीलाई दूधमा बेसार नराखी दिनुस् है अबदेखि त ।” शुभले एक्कासि विरोधको भावमा बोलिन् ।
“त्यही त । कहिलेकाहीँ त मीठो दूध  खान पनि दिनु नि है दिदी हामीलाई पनि  ! मामाघरको जस्तै...।” शैलले पनि शुभलाई च्याँखे थाप्दै भने ।

छोराछोरीको कुरा सुनेर आमा बाबा  अचम्ममा  पर्नुभयो ।

“पक्कै पनि मामाघरमा यिनीहरूले केही देखेर आए  । केटाकेटीले राम्रो नराम्रो जे पनि सिक्ने अर्काको देखेर त हो नि ।  त्यसैले कहिलेकाहीँ त बाहिर घुमाउन पनि लग्नुपर्छ । आफन्तको घरमा पनि पठाउनुपर्छ । केही नयाँ कुरा सिक्नैकै लागि भए पनि । राम्रोनराम्रोचाहिँ के हो  आफूले बुझाइदिनुपर्छ ।” यस्तै सोच्नुभो आमाले ।
“मामाघरमा माइजुले दिएको दूध मीठो थियोे हो र बाबु ?”  शैललाई बाबाले सोध्नुभयो
“हो त नि  ! कस्तो मीठो थियो  !” शैलले पुलुक्क अनुपलाई हेर्दै भने ।

“त्यहाँ त घरमै गाई पालेको छ । घरकै शुद्ध दूध त मीठो भैहाल्छ नि !” आमाले भन्नुभयो  ।

“अहँ, हैन नि ! हजुरले त बेसार राखेर दूध दिनुहुन्छ सधैँ । बेसार राखेकोले पो नमीठो हुन्छ त। माइजुले त हामीलाई  बोनबिटा राखेको कति मीठो दूध  दिनुहुन्थो  नि त ।” शैलले प्रष्ट्याए ।
"छ्या  ....! दूधमा पनि बेसार ..?" अनुपले लामो जिब्रो निकालेर गिज्यायो ।
“आमा ! माइजुले हामीलाई एक प्याकेट बोनबिटा पनि दिनुभएको छ नि ।” शुभले झोलाबाट प्याकेट निकालेर आमालाई दिइन् ।
“अबदेखि बेसार हैन बोनबिटा राखेर खाने के हामी पनि  दूधमा ।”  शैलले लाडिएर भने ।

आमा बोनबिटाको  प्याकेट लिएर भान्छाकोठामा जानुभयो । दूध तताउनुभयो । एकएक चम्चा बोनबिटा राखिदिनु भो । र सधैँको जस्तो बेसार पनि राखिदिनुभयो ।
बोनबिटाको स्वादमा अल्झिएको थियो शुभ र शैलको दिमाग । आमाले बेसार राखेको चलाखी पत्तो नै पाएनन् ।

सबैजना टिभीमा समाचार हेर्दै दूध पिइरहेका थिए ।
“मास्क प्रयोग गर्नु, बेलाबेला तातोपानी खानु र सेनिटाइजरको प्रयोग गर्नु’ भनेर टिभीमा सूचना पनि देखायो ।” बाबाले रमाइलो पाराले व्यङ्ग्य गर्नुभयो, “लु अबदेखि घरमै ‘मापसे’ पो  गर्नु रे सबैले ।”

“यस्तो त्रासमा पनि मजाक गर्नुपर्ने है तपाईलाई चाहिँ ?  बरु के कसरी नियम पालना गर्ने लेखेर टाँसिदिनु न  ।” आमाले सुझाव दिनुभो ।

“हाच्छ्यूँ ...!” त्यतिबेलै एक्कासि अनुपले हाच्छ्युँ गर्यो । सबैको ध्यान एकैपटक अनुपतिर गयो ।

“रुघाखोकी लागेको छ हो अनुप तिमीलाई ?” आमाले सोध्नुभो ।
“छैन फुपू !” अनुपले भने ।
अनुपले फेरि लगातार तीन-चारपटक हाच्छ्युँ गरे ।  उनको जिउ पनि रनक्क तातियो ।
"ओइ ...! कोरोना लाग्यो कि के हो यसलाई त ..? शुभले  अनुपलाई जिस्काउँदै भनिन् ।
"हो हो कोरोना नै  हो ।" शैलले पनि हाँसो थप्दै अनुपलाई गिज्याए ।
"के मलाई ज्वरो आको छ र ? छाती पनि दुखेको छैन के । निधार छाम्दै झर्केर प्याउलो बोलीमा भने अनुपले  पनि ।

"कति मान्छेलाई त कुनै लक्षण पनि देखिँदैन रे कोरोना भए पनि । के थाहा  हुन पनि त सक्छ ।" झन् अन्यौल बनाइदिइन् शुभले ।

अनुप रुन थाले शुभको कुरा सुनेर । बाबाले  दिदीभाइलाई नै अनुपलाई डर नदेखाउन भन्नुभयो ।

"यी बदमासहरुले जे पायो त्यही बोल्छन् । केही भएको छैन बाबु तिमीलाई ।  नरोउ अनुप ।"   आमाले  अनुपलाई फकाउनु भो ।

केटाकेटीलाई सुताएर आमाबाबा पनि सुत्न जानुभयो ।

बिहान उठेर आमाले अनुपलाई हेर्नुभयो ।उनलाई त हनहनी ज्वरो आएको थियो । थर्मामिटर लगाउनुभयो । ओहो ! ज्वरो त  १०२ डिग्री पो रैछ ।
ऊ बेलाबेला छाती दुख्यो पनि भन्थ्यो । खोक्थ्यो पनि । हतपत्त आमाले तातोपानी र सिटामोल खानदिनुभो ।

पाहुना आएको आफ्नो सानो भदा यसरी एक्कासि बिरामी पर्दा आमा त झनै आत्तिनुभयाे ।

“कतै यसलाई साँच्चिकै  कोरोना त लागेन ?” शङ्का गर्दै रुन्चे बोलीमा आमाले बिस्तारै बाबालाई भन्नुभयो  ।
“हैट ! होइन होला त्यस्तो त । बाबा पनि अन्योलमा पर्नुभयो ।
“अनुपलाई कोरोनाको सङ्क्रमण देखियो भने त... ? बाबु  नानीलाई पनि...।” वाक्य पूरा भएन आमाको ।

“हामीले पनि पो परीक्षण गराउनु पर्छ त यदि हो रैछ भने त । सबैजना आइसोलेसनमा पो बस्नुपर्छ त ” बाबा पनि सशंकित हुनुभयो ।

“लौन हे भगवान ! के आपत आइलाग्यो ।” आमा अनिष्टको आशङ्काले थरथर काँप्नुभो  ।
“कस्तो केटाकेटीजस्तो आत्तिएकी होला तिमी  त । केटाकेटी झनै डराउँछ्न् फेरि यस्तो देखे । आपत परेको बेला त धैर्यले पो काम गर्नुपर्छ त ।” बाबाले सम्झाउनुभो ।
सुँक्क सुँक्क रुन थालिहाल्नु भो आमा त ।
नरमाइलो लाग्यो शुभ र शैललाई पनि ।
"हामीलाई माफ गर ल अनुप, तिमीलाई जिस्काएकोमा " दिदीभाइले माफी मागे अनुपसँग ।

अनुपलाई लिएर सबैजना अस्पताल  जानुभयो  ।

डाक्टरले सबैलाई जाँच्नुभयो । अरूलाई त केही भएको देखिएन । अनुपलाई भने चिसो खाएर छातीमा इन्फेक्सन भएको देखियो । निमोनिया नै भइसकेको रहेछ ।

शुभ र शैलले मुखामुख गरे । उनीहरू अलिक डराएकोजस्ता पनि देखिए ।

“दालमा केही त कालो छ,” शङ्काको दृष्टिले बाबाले दुवैलाई हेर्नुभयो ।
“दिदीको काम त हो नि सबै । दिदीले नै प्लान गरेको नि  पार्टी गर्ने भनेर,” शैलले रुन्चे बोलीमा भने ।
“केको पार्टी नि शैल  ?” आश्चर्य मान्दै आमाले सोध्नुभो  ।
“मामाघरमा हामी तीनै जनाको पैसा मिलाएर कोकाकोला र आइस्क्रीम  किनेको । अनि चटपटे साँधेर पार्टी गरेको नि  दिउँसो । त्यही खाएर त अनुप बिरामी भएको ।”  शैलले सबै राज खोले ।

“यसो मौकामा चौका हानेको यो लुते अनुप त बिरामी भैहाल्यो है ।” शुभले हाँस्दै भनिन् ।

“ओहो ! लु हेर त तिमीहरूको बदमासी !” आमाले  हपार्नुभो सबैलाई ।
“मैले त थोरै खाको नि । यिनीहरूले कति धेरै खाको हो  तर किन यिनीहरू चैँ बिरामी भएनन् त ?” पिलपिल रुँदै अनुपले भने  ।
“साँच्चिकै, शुभ र शैलको रिपोर्टमा अरूको भन्दा  रोगप्रतिरोधात्मक क्षमता उच्च छ, के खुवाउनुहुन्छ नि  यिनीहरूलाई ?” डाक्टरले सोध्नुभयो ।

“यिनीहरूलाई तीन महिनाको हुँदादेखि नै मैले सधैँ  सुत्नबेलामा मनतातो दूधमा बेसार, दालचीनी  र मह राखेर खुवाएको  । हम्मेसी यिनीहरूलाई रुघाखोकी, निमोनिया, ज्वरो, चिसो लाग्दैन नि डाक्टर साप  !” आमाले भन्नुभो ।

“ओहो ! कस्तो राम्रो काम गर्नुभएको रहेछ तपाईंले त । यो त सबैभन्दा उत्तम रोगप्रतिरोधात्मक आयुर्वेदिक औषधि हो नि । त्यसैले त यिनीहरू स्वस्थ छन् । मुहारमा पनि कान्ति छ त ।” डाक्टरले तारिफ गर्नुभो  शुभ र शैलको ।

“स्वास्थ्य राम्रो भएकै कारण स्कुलको खेलकुदमा पनि अब्बल छन् नि यिनीहरू । नौवटा सुइ लगाउनबाहेक यिनीहरूलाई त मैले उपचारका लागि अहिलेसम्म कुनै अस्पतालमा पनि  लगेकै छैन ।” आमाले  गर्व गर्दै भन्नुभयो ।
“ओहो ! तपाईंलाई त ‘बेस्ट मम’को उपाधि पो दिनुपर्ने रै’छ त !” डाक्टरले आमाको पनि तारिफ गर्नुभयो ।

“हेर हेर ! कति निर्दयी आमा त ! बिरामी हुँदा पनिक हामीलाई अस्पताल नलग्ने है ?” शुभले रिसाएजस्तो गर्दै भनिन्, “अझै बेस्ट मम पो रे .. !”

“त्यही त । बिरामी हुँदा हामी दुखेर  कति रोयौँ होला है दिदी  ?” शैलले थपे ।

“धत् बदमासहरू ! आमा पनि कतै निर्दयी हुन्छन् त ? तिमीहरूलाई बिरामी हुँदा जडीबुटी खुवाएर घरमै निको बनाएको पो त आमाले ।” बाबाले रहस्य खोल्नुभयो ।

“हेर तिमीहरूको त घरमै यस्तो सचेत डाक्टर हुनुहुँदोरै’ छ । कति भाग्यमानी तिमीहरू त ।”
मुखामुख गरे दुवैले डाक्टरको कुरा सुनेर ।

“स्वस्थ रहन घरको खानपानले मद्दत गर्छ, ऊ हेर त प्रमाण । अनुपले पनि तिमीहरूले जस्तै खाएको भए  आज ऊ बिरामी पर्ने नै थिएन ।

आजभोलि त विदेशमा पनि ठूल्ठूला डाक्टरले समेत यसको फाइदा पत्ता लगाएर “गोल्डेन मिल्क“ भनेर पिउँछन् ।” डाक्टरले भन्नुभो ।

दुवैले पुलुक्क आमालाई हेरे कृतज्ञताको भावले । आमाले पनि उनीहरूको आँखाको भाका राम्रोसँग बुझ्नुभयो ।

“आमा ! हजुरले कसरी जान्नुभो यो सबै कुरा ?” घर फर्कंदा बाटोमा सोधे शैलले ।

“मलाई  सबै मेरी आमाले सिकाउनुभएको नि । हामीलाई  रुघाखोकी ज्वरो आयो भने तुलसी, बेसार, मेथी, ज्वानो अनि चुल्होको पाकेको माटो एक चिम्टी राखेर काँडापानी बनाएर खुवाउनुहुन्थ्यो आमाले । हाम्रो पालामा त जे बिरामी भए पनि जडिबुटी नै हो खाने त । ”

कुरा गर्दागर्दै आमाले भन्नुभो, “ला लकडाउनमा सबै पसल पनि बन्द होला । बोनबिटा त ठ्याम्मै सकिएको थियो भरेलाई । मैले त भुसुक्कै पो बिर्सेछु अघि नै किन्न पनि  ।”

“ओ हाम्री वैद्य माते ! टेन्सन नहि लेनेका । चाहिन्न बोनबिटा । अबदेखि हामी गोल्डेन मिल्क नै पिउने हो सधैँ, क्युँ भाइ ?” शुभले भनिन् ।
“वही तो ! अबदेखि नो बोनबिटा । गोल्डेन मिल्क नै  जिन्दावाद !”
“दिदी हाइफाई  !” दुवैले दाहिने हत्केला ठोक्काए ।

“दिदी ! गोल्डेन मिल्कको हामी आफ्नै मौलिक नाम दिऊँ न बरु ।” शैलले भने ।
“अँ ..के राखौं त .. ?  सुनौलो अमृत राखौँ न त  ! हुन्न बाबा ?” शुभले खुसी हुँदै सोधिन् ।
“गजब छ नि ।” बाबाले भन्नुभो ।
“ए बाबा ! म त पछि आयुर्वेदकै डाक्टर नै पढ्छु है, हुन्न र ?” एकाएक शुभले भनिन् ।
बाबाले आमालाई हेर्नुभयो । आमाको अनुहारमा ढकमक्क खुसी फूलिरहेको थियो !

प्रकाशित: ७ भाद्र २०७७ ०५:३४ आइतबार

जुनकिरी