७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

हाम्रो हिमालको कथा

खेमराज पोखरेल

नानीबाबुहरू,

आज म तिमीहरूलाई हिमालको कथा सुनाउँछु । हाम्रो देश नेपालको उत्तरपट्टि हेर्यौ भने हिउँले ढाकिएको सेतै चम्किरहेको सेतो पहाड देख्ने छौ । हो त्यसको नाम हिमालय पर्वत हो । छोटकरीमा हामी त्यसलाई हिमाल भन्छौँ । किन हिमाल भनेको थाहा छ ? सधैंभरि हिउँले छोपिएर रहने भएकाले हिमालय भनिएको हो । समुद्र सतहबाट ५ हजार मिटरभन्दा बढी उचाइ भयो भने पहाडलाई सधैँ हिउँले छोप्छ । हिमाल यस्तै हिँउले छोपिएको पहाड हो ।

हिमाल निकै लामो र चौडा छ । पूर्वमा भुटानबाट शुरू भएर पश्चिममा ताजकिस्तानसम्म पुग्छ । हिमाल जम्मा २४०० किलोमिटर लामो छ । त्यसमध्ये करिब ८५० किलोमिटर लामो हिमाल हाम्रो देश नेपालमा पर्छ । हिमालको चौडाइ भने लम्बाइ जति छैन । हिमालको चौडाइ २०० देखि ४०० किलोमिटरसम्म मानिएको छ । नेपालको हिमालको पारिपट्टि चिनको तिब्बत क्षेत्र छ । अरू बाँकी हिमाल चिन, भारत, पाकिस्तान, भुटान र ताजकिस्तानमा पर्छन् । यो हिमालमा अग्लाअग्ला चुलीहरू छन् । चुली भनेको चुचुरो भनेको हो । संसारभरिका दसवटा सबैभन्दा अग्ला हिउँचुचुराहरू यही हिमालमा छन् । गजबको कुरा सुन है ! हिमालमा भएको के २ भन्ने चुचुरो पाकिस्तानमा छ । नवौँ चुचुरो नाङ्गा पर्वत पनि पाकिस्तानमा छ ।अरू संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथादेखि लिएर अन्नपूर्ण –१ सम्म आठवटा नेपालमा छन् । अरू हाम्रा हिमाली चुचुराहरू सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयू, धौलागिरी, मनास्लु र अन्नपूर्ण –१ नेपालमा छन् । यी सबै ८ हजार मिटरभन्दा अग्ला छन् ।

तिमीहरूलाई आज म यो हिमालको बारेमा अचम्मको कुरा सुुनाउँछु । यो कुरा थाहा पाएपछि तिमीहरूले आफ्ना बाबुआमालाई पनि यो हिमालको कथा सुनाऊ है । थाहा छ आजभन्दा ५० मिलियन वर्ष पहिलेसम्म हाम्रो हिमाल भएको ठाउँमा ठूलो महासागर थियो । मिलियन भनेको थाहा  छैन होला । एक मिलियनमा दस लाख हुन्छ । अँ त हाम्रो हिमाल बसेको त्यो सागरको नाम टेथिस महासागर थियो । पृथ्वीको निर्माण प्रकृयामा यो टेथिस सागर २५० मिलियन वर्षदेखि निर्माण भएको थियो । हो हाम्रो हिमाल त्यही टेथिस महासागरमुनिको भुइँ उचालिएर बनेको हो ।

गजब लागेन त तिमीहरूलाई ! किन यसरी हिमाल नै बन्ने गरी भुइँ उचालियो होला भन्ने कुरा तिमीहरूको दिमागमा आयो होला । तिमीहरूलाई अचम्म लाग्यो होला । अचम्म नमान है, म बताउँछु । ढुङ्गा, माटो, सिमेन्ट, काठ, छड आदिले हाम्रो पक्की घर बनेको हुन्छ । काठ, बाँस, खर आदिले हाम्रो फुसको घर बनेको हुन्छ । तिमीहरूले हाम्रो घर केले बन्छ भन्ने कुरा थाहा पायौ होला ।

अब हाम्रो घर भएको पृथ्वी केकेले बनेको हुन्छ होला ! तिमीहरूले देखेका होलाऊ कि पृथ्वीको माथिल्लो सतहमा माटो, बालुवा, ढुङ्गा हुन्छन् । तर पृथ्वीको भित्री भागमा भने एकदम ठूलाठूला प्लेटहरू हुन्छन् । यस्ता प्लेटहरू संसारमा धेरै छन् । तर हाम्रो देश नेपाल र भारतको पृथ्वीको भित्री भाग भने इन्डियन प्लेटले बनेको छ । त्यसैगरी चिनको पृथ्वीको भित्री भाग युरेसियन प्लेटले बनेको छ । हो यही इन्डियन प्लेट र युरेसियन प्लेट टेथिस सागरको गर्भमा एकै ठाउँमा जोडिन आए । ती प्लेटले टेथिस सागरमुनिको भूभागलाई ठेल्न थाले । अनि त्यो टेथिस सागरमुनिको भूमि उचालिन थाल्यो । अनि बिस्तारैबिस्तारै त्यो ठाउँमा हिमाल बन्यो । अलिकति पानी बगेर नेपालभारततिर गयो । अलिकति पानी बगेर तिब्बततिर गयो । यसरी हिमाल जन्म्यो ।

अब म तिमीहरूलाई झन् उदेकलाग्दो कुरा सुनाउँछु । धेरै आश्चर्यको कुरा सुनाउँछु । यो हिमाल संसारको सबैभन्दा पछि बनेको पहाड हो । हिमाल बन्ने काम अझै पूरा भएको छैन । अहिले पनि हिमालय पर्वत वर्षमा सरदर १ सेन्टिमिटरका दरले अग्लो हुँदैछ । जतिजति हिमाल अग्लो हुन्छ उतिउति नेपाल र भारत वर्षको एक सेन्टिमिटरका दरले हिमालतिर सर्दैछन् । कैयौं मिलियन वर्षसम्म यो प्रक्रिया चलिरहन्छ भनेका छन् वैज्ञानिकहरूले ।  

तर चिन्ता नलेऊ है । हामीले हाम्रो देश हिमालतिर सरेको पत्तै पाउँदैनौं । हिमाल उचालिएको पनि थाहा पाउँदैनौं । त्यसैले हामी नेपालीले गौरव गर्नुपर्छ कि हाम्रो नेपालसँग यतिका धेरै हिमाल छन् । यो हिमाल भनेको नेपालका लागि प्रकृतिको वरदान हो । नेपाल भनेको हामीसबै नेपालीको साझा घर हो । हिमाल भएकाले हामी धेरै धनी छौं । हाम्रो हिमाल चढ्न संसारभरिबाट मान्छेहरू आउँछन् । तिनीहरूले हामीलाई पैसा दिन्छन् । हाम्रो हिमालको तारिफ गर्छन् । हाम्रो गुणगान गाउँछन् । हिमाल भएकाले संसारमा हाम्रो खूब नाम छ ।  

अब तिमीहरूले हिमालको कथा सुनिसकेका छौ । तिम्रा साथीहरू, आमाबुवा तथा आफन्तलाई यो हिमालको कथा सुनाऊ है । म अहिलेलाई बिदा हुन्छु ।  

तिमीहरूलाई माया गर्ने  

अमेरिकाको हजुर्बा

प्रकाशित: १४ श्रावण २०७७ ०५:०९ बुधबार

जूनकीरी कथा