७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

त्यागिएको अनुभूतिको आख्यान: परित्यक्ता

नगनिनु, बेवास्ता गरिनु, स्थान नदिइनु, महत्व नदिइनु– पितृसत्ताले महिलाप्रति गर्ने विभेदको अभ्यस्त व्यवहार हो। यो व्यवहार समाजमा बलियो गरी आन्तरिकीकरण भएर बसेको छ। महिला इतर हुन्, पुरुषभन्दा फरक हुन्, ती अन्य हुन् वा दोस्रो दर्जाका हुन् भन्ने सोचले जताततै जुनसुकै व्यवहारमा जरो गाडेकै छ। महिलाका कुनै पनि विषयलाई नगनेर नै समाज चलेको छ भने नगनिनु उनीहरूको परिचय हो, सायद यही सोच र दृष्टिकोण समाजका हर तहमा एउटा नजिर भएर बसेको छ। यही विभेदीपनमा अभ्यस्त व्यवहार हो, परित्यक्तता ! बीसको दशकदेखि कलम चलाएकी स्रष्टा भुवन ढुंगाना यही परित्यक्त अनुभूतिमा परित्यक्ता उपन्यास लिएर पाठकसामु आएकी छन्। ‘युद्धको घोषणा गर्नुअघि’ र ‘धर्मविम्ब’ कथासंग्रह मात्र होइन, पञ्चायतकालीन समयमा ‘सिउँडी’ साहित्यिक त्रैमासिकको सम्पादन अनुभव पनि समेटेको उनको कलमले पहिलो उपन्यास कोरेको छ, नारीको परित्यक्ता अनुभूतिमा।  

समाज र सभ्यताबाट सधैँ किनारीकृत बनाइएकाहरू आफ्नो परिचय कसरी खोज्छन् ? कहिल्यै कसैले महत्व नदिएको परित्यक्त अनुभूतिमा महिलाको आवाज कसरी उठ्छ ? के परित्यक्ताको अनुभूति गर्नु आफैँमा कमजोर हुनु हो ? परित्यक्त भावमा पनि आफ्नो स्वत्वका लागि एउटी लेखक कसरी आवाज उठाउँछे ? महिलामा परित्यक्ताको अनुभूति दिलाउने यो समाज र सभ्यताले त्यागिएकी नारीका गर्विला आवाज सुनेर के प्रतिक्रिया जनाउला ? एउटी नारी स्रष्टाको परित्यक्त अनुभूतिको उपन्यास पढ्दै गर्दा सचेत पाठकमा उब्जिने यस्ता सन्देहात्मक प्रश्नका ताँती अनेक हुन सक्छन्।  

नेपाली साहित्यमा महिला लेखनको उपस्थिति उल्लेख्य छ, तर साहित्य लेखनको इतिहासले महिलालाई बेवास्ता गरेको थियो र आज पनि त्यो विभेद स्पष्ट देखिन्छ। अहिले पनि साहित्यिक तथा चेतनामूलक बहसका कार्यक्रममा महिलाको सक्रिय सहभागिता न्यून बनाइन्छ नै, साथै साहित्यकारका नाउँमा पुरुष लेखकको वर्चस्वले स्थान पाउँछ। सम्झिनका लागि एउटा पारिजात काफी हुन्छ, उनीहरूलाई। यस्ता कार्यक्रममा पारिजात एउटाको नाउँ सम्झेर सारा महिला लेखनलाई आभारी बनाएको भ्रम छरिन्छ। पारिजातपछि महिला लेखकको नाउँ लिन आवश्यक नदेखिने नेपाली साहित्यको खोटो इतिहासमा एकसे एक वर्चस्वशाली बनेका पुरुषझैँ महिला स्रष्टा पनि छन् भन्नचाहिँ पटकपटक महिला समालोचकले नै आवाज उठाएका छन्। तिनका आवाज पनि किनारीकृत बनाइन्छन् ‘मूलधार’ भनिएकाहरूबाटै। हो, नेपाली साहित्यको इतिहासमा बीसको दशकमा शक्तिशाली कलम बनाएका आख्यानकारमा शशिकला शर्मा, वानिरा गिरीसँगै अर्को नाउँ हो, भुवन कोइराला अर्थात् भुवन ढुंगाना। यी नारी स्रष्टाको आख्यानकला र कवित्व शक्ति तत्कालीन लेखनका कुनै पनि पुरुषको कलमभन्दा कम शक्तिशाली थिएन र छैन।

समय बगेको छ २१औँ शताब्दी भएर, तर फेरिएको छैन चेतनाको तह। उही परम्परागत सोच र उस्तै पिछडिएको व्यवहारमा बाँच्न अभिषप्त छन् महिलाहरू र त भुवन ढुंगाना पृथक् परिचयको आवाज दिन्छिन् परित्यक्त पात्र माया उर्फ मन्दोदरीलाई !

छोटा–छरिता वाक्य, बारम्बार दोहोरिइरहने केही पदावली र वाक्यको लय, विम्बमय वर्णन कुशलता, नारीमाथि समाजमा भएका विभेदसँगै प्राकृतिक जीवनयात्राका गहिरा चिन्तनले परित्यक्ता उपन्यासलाई पठनीय बनाएका छन्।

महिला लेखनका विषयमा एउटा आरोप सधैँ सुन्ने गरिन्छ– महिलाहरू गनगन लेख्छन्। उनीहरू आफ्नो साँघुरो घेराबाट पर जाँदैनन्, समाजलाई बुझ्दैनन्। उनीहरूमा समाजका मुद्दा बुझ्ने क्षमता छैन वा चाहन्नन् ! केही हदसम्म भए पनि यो कुरा सत्य हो भन्न बाध्य हुनुपर्ने परिस्थिति केले निर्माण ग¥यो भन्ने हामी सहजै बुझ्छौँ। अरूसरह अवसर पाउँदा महिला कहीँ र केही कुरामा पछि परेका छैनन् भन्ने समाजका तथ्यले प्रमाणित गरिरहेका छन्। तर, के सबै पुरुषका लेखनमा समाजका मुद्दालाई शक्तिशाली बनाइएको छ ? यसरी पनि प्रश्न गर्न सकिन्छ। महिलालाई आफ्ना कुरा गर्दा गनगन र ट्याउँ–ट्याउँको ट्याग लगाउने यो समाजको कुटिल आरोपलाई परित्यक्ता उपन्यास सटीक उत्तर हो। परित्यक्ता पढिरहँदा फेरि पनि पाठकलाई लाग्न सक्छ, महिला त आफ्नै गनगनमै थुप्रिने रहेछन्। पाठक जब एकालापीय शैलीको म पात्र अर्थात् मायाका अनुभूतिमा एकाकार हुन्छ, तब लाग्छ महिलाको त्यही साधारण गनगनमा जीवन र समाजलाई पर्गेल्ने र जीवनको अलग अभीष्ट राख्ने फरक विश्वदृष्टि निर्माण हुनेरहेछ। कसरी युगौँदेखि एउटा वर्चस्वशाली वर्गले समाजमा महिलालाई सीमान्तीय अनुभूतिमा बाँच्न अभिषप्त बनाइरह्यो भन्ने सत्य उपन्यासले बोलेको छ। समाजको विभेदी र दमनकारी चरित्रले एउटी नारीको शरीरमाथि कसरी राजनीति गरिरह्यो र ऊ सहनशील बनिरही भन्ने सत्यलाई मायाको बाल्यकालदेखिको एकालापीय गनगने अनुभूतिले छर्लंग पारिदिएको छ। नारीवादी चिन्तक एड्रियन रिचको तर्कझैँ ‘सब्जेक्ट इन बिइङ’का क्रममा मायाको जीवन परिचयको खोजीमा जीवनभर छटपटाइरहेको छ।  

माया अर्थात् मन्दोदरी आफूलाई परित्यक्ता मान्छे। आफ्नै समाज, सभ्यता, परिवार र आफन्तका बीचमा एउटी नारी सबैबाट छोडिएको, त्यागिएको व्यग्र अनुभूतिमा छे। महिलाका अनुभूति उपन्यासमा अत्यन्त निजी र शारीरिक विषयसँग केन्द्रित छन्। पाठेघर, मातृत्व, प्रसव वेदना, रजस्वला, छोरीको सामाजिक हुर्काइ, बालिका, किशोरी र युवती अनुभूति अनि प्रौढावस्थातिरको प्रस्थान। उपन्यास महिलाका यिनै ‘साधारण’ विषयको केन्द्रमा एकालापीय शैलीमा फनफनी घुमेको छ। गर्भावस्थादेखि बुढ्यौलीतिर लाग्दासम्म एउटी महिलाको बचाइमा आएका शारीरिक अवस्था र सामाजिक व्यवहारले उपन्यासकी मायालाई घेरेको छ। पाठेघरबाट जन्मिँदै गरेको भ्रूणको अनुभूति हुँदै भ्र्रूणको विकास गर्न नसक्ने अवस्थाको महिला शरीरको अनुभूतिसम्मलाई उपन्यासले समेटेको छ। उपन्यास पढ्दै गर्दा ओरियाना फलासीको उपन्यास ‘लेटर टु अ चाइल्ड नेभर बर्न’को शैली र विषयलाई पनि सम्झाउन पुग्छ। फलासीले नारीका शक्तिशाली अनुभूतिका रूपमा गर्भमा रहेको भ्रूणसँग संवाद गरेकी छन् भने ढुंगानाले भ्रूण तथा जन्मिँदै गरेको शिशुको अनुभूतिमा उपन्यासको सुरुवात गरेकी छन्। आफैँ आमा बन्दै गर्दाको प्रसव वेदनासँग आफ्नै जन्मको कथा बुन्ने कल्पनाले आख्यानलाई रोचक बनाएको छ, ‘म मेरो साधारण जन्मको कुरा गरिरहेछु। उत्सवविहीन जन्मको कुरा गरिरहेछु। मेरो जन्मोत्सवमा चढाइने रंगीचंगी फूलका गुच्छाहरू मेरा अगाडि थुप्रिएनन्, न त भयो मेरो जन्म ईश्वरले दिएको एउटा सुन्दर उपहार। यस्ता उत्सवविहीन जन्मनेहरू सँगसँगै म पनि सामेल भएकी छु।’

छोरी भ्रूणलाई राख्नै नचाहने, जन्माउनै नचाहने र जन्मे पनि दोस्रो दर्जाको व्यवहार गर्ने यो समाजको विभेदी सोचलाई गजबको प्रश्न हो यो लेखन। छोरीको मूल नै थुनेर सिर्जनशील बन्ने अभ्यासमा रहेको समाजको कुरूप अनुहार मात्र होइन, माया मात्र दिन सक्ने जननी मायाको जीवनको परित्यक्ता अनुभूतिले हामीमा खिइँदै गएको मायालु भावलाई पनि चिनाएको छ। आमाको पाठेघर, जन्मघर, कर्मघरमा फेरिँदै जाँदा कहीँ पनि आफ्नो हो भन्ने गौरवीबोध नहुने अनुभूति महिलामा कसले उत्पन्न गरायो र उसलाई हीनताको गर्तमा गिरायो ? उपन्याससँगै अघि बढ्दा पाठक प्रश्निल बनिरहन्छ। न्वारनको नाउँसगै लुकाइएको मन्दोदरीको परिचय जीवनभरि लुकिरहेकै छ।  

बनारसको गल्लीमा हुर्केकी मन्दोदरी अर्थात् मायाको सानैदेखि नृत्यांंगना हुने सपना पूरा भएको छैन। न त बालसखा अजयले उसलाई सानैमा सुनाएको झाँसीकी रानीको विम्बमा उतार्न नै सकेकी छ मायाले आफूलाई। जिलेबीमा भरिने गुलियो चास्नीझैँ जीवनलाई रसिलो र भर्भराउँदो रातोपनमा बदल्ने उसका रहरहरू कसरी झर्दै गए उसैलाई थाहा हुँदैन। कल्पनाको बाटो भएर बारम्बार पच्छ्याइरहने एउटी नारीका केही बन्छु भन्ने रहरहरू परम्परागत समाजको बाटो भएर नारीका भूमिकामा बाँच्दाबाँच्दै समयसँगै बिलाउँदै गएका छन्। आमाको पाठेघरदेखि सर्दैसर्दै गएको मायाको घरको परिचयको टुंगो लगाउन उसैलाई सधैँ कठिन भएको छ। बाल्यकाल बिताउँदै गरेको घर आमाकै मुखबाट उसको होइन भन्न लगाएर पितृसत्ताले एउटी बालिकाको हृदयमा जति ठूलो हिंसा गरेको हुन्छ, त्योभन्दा भयानक हिंसा बालिकाका कलिला सपनालाई फुल्ने कुनै आड र भरोसा नबनिदिने समाजको परम्परागत सोच हो। निरन्तर फेरिइरहने आफ्नो परिचयसँग जीवनको नियमित चक्रले पनि मायाको सपनालाई बारम्बार परित्याग गरिदिएको छ। सिमन द बुआको ‘सेकेन्ड सेक्स’मा महिलालाई इतर बनाइएको असन्तुष्ट घोषणाझैँ भुवनले नारीको सत्वमा इतरको व्यवहार गर्ने समाजको दमनकारी व्यवहारलाई एउटी नारीका नितान्त वैयक्तिक अनुभूतिबाट सार्वजनिक गरेकी छन्। वैयक्तिक नै राजनीतिक हो भन्ने नारीवादी चिन्तनअनुसार यहाँ मायाका नितान्त निजी अनुभूति यो समाजका महत्वपूर्ण मुद्दा बन्न पुगेका छन्। के अब पनि समाज महिलाका सपनामा यसैगरी खेलवाड गरिरहला ? सायद सचेत बनाउन चाहेकी छन्, उपन्यासकारले बारम्बार मायामा अस्तित्वबोधी चेतना ब्युँझाएर।  

उपन्यासको परित्यक्त चिन्तन समय र जीवनको चक्रसँग पनि जोडिएको छ। मानिसको जीवन समयको परित्यक्त क्रमको यात्रा हो। मायामा जीवनका प्राप्तिपूर्ण अनुभूतिले बिस्तारै समयसँगै छाड्दै गएका छन्। जीवनको यात्रा समय चक्रसँगै एउटाको परित्यागबाट अर्कोको अस्तित्वमा पुग्ने क्रम हो। गीताको त्यागको दर्शनलाई पनि उपन्यासले अँगालेको छ। आत्मबोधमा बाधा हुने विषयबाट टाढिनु वा पन्छिनु भन्ने गीताको मिथकीय चिन्तन पनि उपन्यासले बोध गराउँछ। सबै सांसारिक प्रपञ्चबाट टाढिँदै आत्मबोधको स्थितिमा पुगेकी मायाले  भनेकी छ, ‘होइन, म कसैको पनि होइन। जन्मदेखि नै परित्यक्त छु।’ मायालाई जीवनका अन्त्यमा पनि सन्तानका सन्तानले घेरिएर उही गार्हस्थ्य जीवनमा दन्त्यकथा सुनाउने कुप्री बूढीआमा हुने अस्तित्वबोधी रहर छ।  

लघुकायाको उपन्यासले आख्यान बुनोटको शक्तिशाली पाटो रोजेको छैन। समाज र विश्वलाई हेर्ने फराकिलो दृष्टि पनि निर्माण गरेको छैन। महिलाका पीडा र व्यथा केवल हिन्दू संस्कार र सभ्यतासँग जोडिएको केही सीमित मिथकीय तथ्यहरूबाट मात्र बुनिएको छ, मानौँ यो समाजमा जात र वर्गका कुनै तह छैनन्। पात्रका नाउँमा माया अर्थात् मन्दोदरी नै एकल हो, उसैका जन्मदेखि बुढ्यौलीसम्मका जीवनानुभूतिसँगैको चेतनाको प्रवाहले उपन्यास बुनिएको छ। मायाकी आमा, उसको पति जीवन, उसका बाल्यकालका दुईजना केटा साथी, ठुल्दिदी, नृत्य शिक्षिका आदि थोरै पात्रका केही तथ्य उसकै एकालापीय अनुभूतिमा आउँछन्। केही संवाद छन्, तर ती मायाकै स्मृतिका अंश हुन्। उपन्यासकार कथानक बुनोटको कुतूहल पाटोको व्यवस्थापनमा चुकेकी छन् नै, साथै मायाको अनुभूतिमा बगेको आख्यानमा पाँचौँ अध्यायको मध्यतिर आफ्नो जीवनको आत्मकथ्य लेखनको सचेत अभिव्यक्तिले मायाको चरित्रमाथि लेखकीय हस्तक्षेप महसुस हुन्छ। सरस्वती, दुर्गा, द्रौपदी आदि जस्ता शक्तिशाली नारी चरित्रको विम्ब सम्झिँदासम्झिँदै पनि हीन र उदासीन मायालाई देखाउनुले नारीको सबलतामा आँटिलो आवाज बोल्न नसकेको अनुभूति हुन्छ।  

दश परिच्छेदमा व्यवस्थित उपन्यासमा मायाका एकालापीय अनुभूतिहरू विम्बमय बुनोटमा प्रभावकारी बन्न पुगेका छन्। बाल्यकालीन प्रिय स्मृति, यौवनको रोमाञ्च र जेष्ठ नागरिक बन्ने क्रममा नारी जीवन र शरीरसँग जोडिएका परिवर्तित तथ्य (पति पत्नीको यौन सम्बन्ध समेत) सँगैको उदासीन भावलाई नारी चेतनाको केन्द्रीयतामा उपन्यासले समेटेको छ। ‘जिलेबीको स्वाद फर्किन्छ, बाल्यकाल फर्किंदैन’ भन्ने बारम्बारको पुनरोक्तिमा उपन्यासले काव्यिक लयसँगै जीवनविम्बका अनेक सन्दर्भ जोडेको छ। नृत्यांगना बन्ने सपनासँगै बनारसको परिवेशमा जिलेबीको स्वादमा रमाएकी एउटी सुन्दर बालिका समय, समाज अनि जीवनको प्राकृतिक यात्रामा फरक पात्र बन्न पुगेकी छ। झाँसीकी रानीको सपना देखाउने अजय चौहानसँगको बाल्यकालीन मित्रता अनि नर्तकी बन्ने सपना सबै तुहिएको एउटी परित्यक्ता पात्र मायाले नेपाली समाजका महिलाको पीडाको कथा बकेकी छ। छोटा–छरिता वाक्य, बारम्बार दोहोरिइरहने केही पदावली र वाक्यको लय, विम्बमय वर्णन कुशलता, नारीमाथि समाजमा भएका विभेदसँगै प्राकृतिक जीवनयात्राको गहिरो चिन्तनले परित्यक्ता उपन्यासलाई पठनीय बनाएको छ।

प्रकाशित: ३ श्रावण २०७७ ०२:४९ शनिबार

पुस्तक आख्यान