८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

‘नातावाद फिल्म क्षेत्रमा छर्लङ छ’

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि बलिउडमा मानसिक स्वास्थ्य समस्या, नातावाद र सिण्डिकेटलाई लिएर बहस चर्किएको छ ।

बलिउडले नातावाद र सिण्डिकेटलाई प्राथमिकता दिइरहेको अवस्थामा संघर्षशील कलाकारहरूलाई डिप्रेसनमा पुगेर आत्महत्या गर्ने अवस्था आएको भनेर सामाजिक सञ्चाल चर्को आलोचना भइरहेको छ । बलिउड अभिनेत्री कंगना रनावतसहितका कलाकारहरूले अभिनेता राजपुतको आत्महत्याको कारक नातावाद र सिण्डिकेट भएको भन्दै आलोचना गरेका थिए । इन्स्टाग्राममा पोस्ट गरिएको भिडियोमार्फत अभिनेत्री रनावतले बलिउडमा अभिनेता राजपुतको कोही गडफादर नभएकाले दर्शकलाई बारम्बार फिल्म हेरिदिएर आफूलाई टिकाउन, बलिउडले उनको पहिचानलाई बेवास्ता गरेको भन्दै उनको आत्महत्या हो वा योजनावद्ध हत्या भनेर प्रश्न गरेकी थिइन् ।  

बलिउडजस्तै नेपाली फिल्म क्षेत्रमा पनि नातावाद र सिण्डिकेट हाबी छ । सोमबार अभिनेत्री वर्षा सिवाकोटीले नेपाली फिल्म क्षेत्रमा हाबी नातावादको विषयमा अभिव्यक्ति दिएकी थिइन । ‘नातावाद सबैतिर हुन्छ । फिल्म क्षेत्रमा मात्र हैन्,’ उनले फेसबुकमा लेखेकी थिइन, ‘फरक यत्ति हो कि फिल्म क्षेत्रमा छर्लङ छ । सत्य बोल्ने आँट कमैको छ । कारण यस्ता अभिव्यक्तिले आगामी दिनमा करिअरलाई असर पार्न सक्छ र कामको अभाव हुन सक्छ ।’ उनले गत वर्ष नातावाद विरुद्ध अभिव्यक्ति दिइरहँदा कसैले साथ नदिएको उल्लेख गरिन् । ‘गत वर्ष यस विषयमा मैले कुरा उठाएकी थिएँ । त्यसपछि कोही बोलेको सुनिएन र देखिएन,’ उनले लेखेकी थिइन, ‘हालै बलिउडमा घटेको घटनाले यहाँ पनि यस विषयमा चासो बढेको देखें । केहीले आवाज उठाउनु भयो । जुन कुरामा म पनि सहमत छु ।’  

उनले ग्रुपिजम, लभ अफेयर्स, तुलना, कलाकार,युट्युबर तथा पत्रकारबीच अनावश्यक गुटबन्दीका कुराको बिगबिगीले नकारात्मक असर पारेको तर्क गरेकी थिइन । अभिनेत्री सिवाकोटीले यसबाट पीडित भएको उल्लेख गर्दै अनावश्यक तुलना हुँदा राम्रो र फरक काम गरे पनि उठाइने प्रश्नले मानसिक पीडा दिएको अभिव्यक्ति दिएकी थिइन । ‘तपाईं कुनै काम गर्नुहुन्छ भने पूर्ण मेहेनत, विश्वास र समर्पणका साथ गर्नुस्,’ उनले लेखेकी थिइन, ‘तपाईं प्रतिभा सम्पन्न, लगनशील र आत्म विश्वासी हुनुहुन्छ भने अवश्य तपाईंको मेहेनतले कदर पाउनेछ । हत्केलाले सूर्यलाई छेकेर छेकिन्छ र ?’ 

प्रकाशित: ३ असार २०७७ ०६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App