१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

अर्को वर्षको अस्कर अवार्ड सार्ने मनस्थितिमा एकेडेमी

मोसन पिक्चर आर्टस् एन्ड साइन्सेज एकेडेमीले अर्को वर्ष वितरण गरिने अस्कर अवार्ड स्थगित गरेर सार्ने योजना बनाइरहेको छ । विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमले मोसन पिक्चर आर्टस् एन्ड साइन्सेज एकेडेमीले कोरोना भाइरस महामारीको अवस्थालाई विचार गरिरहेको हुँदा सन् २०२१ फेब्रुअरी २८ मा हुने अस्कर अवार्ड निर्धारित मितिभन्दा पछि सारिने अनुमान गरेको छ । यद्यपि यसबारेमा कुनै औपचारिक छलफल भइसकेको छैन् ।

कोरोना भाइरस महामारीको जोखिम कम गर्न फिल्मसम्बन्धी गतिविधिहरू रोकिएपछि फिल्महरू अनलाइनमार्फत रिलिज हुने क्रम बढेसँगै अस्करको तालिकामा असर पारेको छ । ‘अस्करको मिति पछि सर्न सक्छ । कारण उनीहरू हाललाई स्थगित गर्ने सोचमा छन्,’ यस विषयसँग परिचित एक स्रोतले भने । स्रोतका अनुसार अस्कर सारिने सम्भावित नयाँ मितिहरू लगायतका विषयहरू पूर्ण रूपमा छलफल भएका छैनन् वा औपचारिक रूपमा प्रस्ताव गरिएको छैन् ।

गत अप्रिलमा एकेडेमीले अस्करको योग्यतामा अस्थायी परिवर्तनहरूको घोषणा ग‍रेर फिल्म हलमा रिलिज हुन नसकेका फिल्महरूलाई प्रतिस्पर्धाको लागि मान्यता दिने जनाएको थियो । त्यसअघि डिसेम्बर ३१ भन्दाअघि फिल्म हलहरूमा प्रदर्शन भएका फिल्महरू प्रतिस्र्धाका लागि योग्य हुने नियम थियो । अस्कर स्थगन भएसँगै योग्यताको लागि अन्तिम म्याद समेत परिवर्तन हुन सक्दछ ।

एकेडेमीका अध्यक्ष डेभिड रुबिनले भने, ‘परिदृश्य कस्तो हुन्छ भनेर जान्न असम्भव छ । फिल्मको उत्सव मनाउन चाहन्छौं भन्ने कुरा हामीलाई थाहा छ । तर यो कस्तो प्रकारको हुन्छ भन्ने कुरा हामीलाई थाहा छैन् ।’ अस्करको योग्यताको लागि नयाँ अस्थायी नियम परिवर्तन भएको घोषणा गर्दै उनले कोरोना भाइरस महामारीका कारण कसरी परिवर्तन हुन सक्छ भन्ने कुरा थाहा हुन नसक्ने कुरा भएको बताएका थिए । ‘सबैजनाले फिल्म निर्माताहरूका लागि सहानुभूति दर्साएपनि हामी हाम्रो सदस्य र फिल्म समुदायलाई सहयोग गर्न यहाँ भएको जस्तो लाग्छ,’ उनले भने, ‘जब हामी फिल्म हलममा प्रदर्शनीको उपलब्धताका सर्तमा विकल्पमा के हुन्छ भनेर वास्तवमा जान्दैनौं । तब यो अर्थपूर्ण हुन्छ । यस वर्षको लागि भत्ताहरू आवश्यक छ । यस समयमा हलहरू खुला नभएपनि फिल्महरू हेर्न सकिएको छ ।’

नयाँ नियम परिवर्तनमा अस्करमा योग्य फिल्महरू लस एन्जलसबाहेक न्युयोर्क, सिकागो, मियामी, अटलान्टा र बे एरियामा हुनेछन् । एकेडेमीले अस्कार स्थगन र सार्ने विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छ । स्थगित भएपछि एकेडेमीले यस वर्षको अन्तपछि रिलिज भएको फिल्महरूलाई अस्करको लागि योग्य बनाउन अनुमति दिनेछ वा छैन् भन्ने कुरा अस्पष्ट हुने अनुमान गरिएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमणबाट हालसम्म ४९ लाख १३ हजारभन्दा बढी मानिसहरू संक्रमित भइसकेका छन् । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट तीन लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । हालसम्म अमेरिकामा १५ लाख २८ हजारभन्दा बढी संक्रमित र ९१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । नेपालमा पनि कोरोना संक्रमणबाट चार सय २७ जना संक्रमित र दुईको मृत्यु भइसकेका छ ।

अमेरिकापछि रुस, ब्रालिज, बेलायत, स्पेन, इटाली र फ्रान्सलगायत देश प्रभावित छन् । विशेषज्ञहरूले कैयौं देशमा पर्याप्त परीक्षण नभएकाले संत्रमणको संख्या कम देखिएको हुनसक्ने बताएका छन् । कोरोना भाइरस महामारीका कारण विश्वव्यापी बजार र आपूर्ति प्रणाली प्रभावित भएपछि त्यसबाट संसारभर अर्थतन्त्र प्रभावित भएको छ ।

प्रकाशित: ८ जेष्ठ २०७७ ०२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App