काठमाडाैं – शैली थिएटरको आयोजनामा राष्ट्रिय बाल नाटक महोत्सव सुरु भएको छ। बुधबार राजधानीको रसियन कल्चर सेन्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले महोत्सवको उद्घाटन गरेका थिए।
‘बालबालिकालाई कला र साहित्यमा लाग्न प्रेरित गर्दै आयोजना भइरहेको महोत्सवले उनीहरू विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको छ। नयाँ पुस्ताले नेपाली कला र साहित्यमा रुचि देखाउने कुरालाई सकारात्मक रूपमा लिनुपर्छ,’ उनले भने। महोत्सवको उद्घाटनलगत्तै शैली थिएटरको ‘सुनौलो माछा’ नाटक मञ्चन भएको थियो। नवराज बुढाथोकीद्वारा निर्देशित सो नाटकमा सम्पत्तिको लोभले निम्याएको पीडालाई समेटिएको छ। नाटकमा निमा पाण्डे, सुवास सुवेदी, करिश्मा केसी, निर्भिक भट्टराई र विशाल घिमिरेले अभिनय गरेका छन् भने यसमा संगीतमा देवेन्द्र बब्लुले दिएका छन्। आगामी माघ २९ सम्म चल्ने महोत्सवको यो ११ औं संस्करण हो।
नेपाल संगीत नथा नाट्य प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) ले नयाँ पुस्तालाई नेपाली कला र संस्कृतिबारे जानकारी गराउन सके यसको जगेर्नामा उनीहरूले समेत योगदान दिने बताए। ‘नयाँ पुस्तालाई नेपाली कला र संस्कृतिबारे जानकारी गराउन सके उनीहरूले समेत यसको जगेर्ना महत्वपूर्ण भूमिका निवार्ह गर्न सक्छन्। उनीहरूलाई कला र साहित्यबारे जानकारी गराउनु हाम्रोपनि दायित्व हो,’ उनले भने।
कार्यक्रममा बोल्दै शैली थिएटरमा अध्यक्ष नवराज बुढाथोकीले बाल नाटक महोत्सवलाई निरन्तरता दिइरहेको जानकारी गराए। ‘बालबालिकाहरूलाई कला र साहित्यप्रति रुचि बढाउन यस महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। महोत्सवमा राजधानी बाहिरका बालबालिकालाई सहभागिता गराउन हामी लागिपरेका छौं,’ उनले भने।
महोत्सवमा राराहिल मेमोरियल स्कुलको ‘करेसा कन्सर्ट’, जेन्युन स्कुलको ‘निष्कासन’ र रिम्स स्कुलको ‘झगडा’, क्रियटिभ एकेडेमीले ‘अनमाया’, प्रज्ञा–सदन स्कुलको ‘डर’, विनायक स्कुलको ‘काडाँ कि फूल’, दीपज्योति माविको ‘बिग्रेको बिर्खे’, रिलायन्स स्कुलको ‘ड्रग्स एब्युज’ र साम्तेन मेमोरियल स्कुलको ‘गरिबको मृगतृष्णा’, बोल्ड स्कुलको ‘कति पढिस ?’, बृहस्पति विद्या सदनको ‘एक’, लिभरपुल स्कुलको ‘टिका’, तारा सदन स्कुलको ‘वृन्दा’, गोल्डन सुनगाभा स्कुलको ‘ड्याडी भर्सेस मम’, ब्राइट जोन स्कुलको ‘बहुला काजीको सपना’ र एम्बेसडर एकेडेमीको ‘साँचो बोल्नुपर्छ’ नाटकहरू मन्चन हुनेछन्।
रंगकर्मी देशभक्त खनाल, सरस्वती चौधरी, सुशील पौडेलको निर्णायक टोलीले महोत्सवमा उत्कृष्ट नाटक, निर्देशक, कलाकार र स्क्रिप्टलगायत छनोट गर्नेछन्।
प्रकाशित: २३ माघ २०७६ ०३:५५ बिहीबार