उफ्फ ! क्या फसाद ! नपत्याउँ भने आफ्नै नेता
पत्याउँ भने काम उता कुरो यता
कुनै दिन त जता कुरो उतै काम गर्ला जस्तो लाग्छ
त्यही आसले त उसका कुरा पत्याऊँ पत्याऊँ लाग्छ ।
ऊ त्यत्रो फटाहा कुरा बोलेर पनि दंग छ
त्यो सुनेर मात्रै पनि मेरो मन भरंग छ
सबैले मेरा कुरा पत्याए ठानेर ऊ चैँ फुरुंग छ
अनि भैगो बरु उसकै कुरा पत्याऊँ पत्याऊँ लाग्छ ।
कति मेहनत र बुद्धि पु¥याएर उसले ढाँटेको छ
त्यसले गरेको त्यो मेहनत र बुद्धि देख्दा
त्यसमाथि टिठ लागेर आउँछ, दया जाग्छ
अनि घोसेमुन्टो लाएर त्यो बिचरालाई पत्याऊँ पत्याऊँ लाग्छ ।
थाहा छ झुटो बोल्दै छ, अब बोली नै सक्यो, गर्नु के ?
मान्छे त ठीक होइन नि, चुनाव उसैले जित्यो, भन्नु के ?
शक्तिमा उही छ, भक्त उसैका छन् बोली उसैको बिक्छ
त्यत्राले पत्याउँछन् भने म पनि उसैलाई पत्याऊँ पत्याऊँ लाग्छ
यता आफ्नो पेसामा मन लगाउन खोज्छु
ध्यान जति आसै आसमा उही फटाहाका कुराले तान्या छ
अब त नेताले मात्रै होइन कसैले पनि ढाँटेको सुन्यो कि,
सुनी नसक्दै भित्रैदेखि पत्याऊँ पत्याऊँ लाग्छ ।
नसुनु भने पनि सुन्न बाध्य पार्छ
बानी परेर होला, नेताकै कुरा सुन्न तलतल लाग्छ
उसैका समर्थकको ठूलो जमात देखेर दिक्क खाग्छ
बरु फटाही सिकाँै र कुरो चैँ उसकै पत्याऊँ पत्याऊँ लाग्छ
ढाँट्न हुँदैन कसैले भनेको छ र ?
संविधान, नियम, कानुनमा कतै त्यस्तो लेखेको छ र ?
जति ठूलो पद र प्रतिष्ठा उति ठूलो फटाहा कुरो सुनाउँछ
उसकै मान जोगाइ दिन पनि उसकै कुरा पत्याऊँ पत्याऊँ लाग्छ ।
फटाहा कुरा गर्न–सुन्न नपाएको दिन जीवन व्यर्थ लाग्छ
आऊ साथी कि म ढाँटौँला कि तिमी ढाँटेर जाऊ
कहिल्यै पूरा भएन जिन्दगीमा कसैलाई पत्याउने रहर
त्यही रहर पूरा गर्न पनि उसकै कुरा पत्याऊँपत्याऊँ लाग्छ ।
प्रकाशित: २१ पुस २०७६ ०८:३५ सोमबार