काठमाडौं – चिनियाँ चाङ यिमुद्वारा निर्देशित ‘द ग्रेट वाल’ फिल्म शनिबार राजधानीको कुमारी हलमा प्रदर्शन गरिएको छ। शुक्रबारदेखि राजधानीमा सुरू भएको चिनियाँ फिल्म महोत्सवअन्तर्गत संसारभरबाट मिलियन डलर बक्स–अफिस कलेक्सन गरेको सन् २०१६ मा रिलिज भएको एक्सन फिल्म चिनियाँ लोककथामा आधारित रहेको थियो।
यसअघि जनगणतन्त्र चीनको स्थापनाको ७० औं वार्षिकोत्सवका अवसरमा ‘द परेड अफ सेभेन्टी एनिभर्सरी अफ द पिपुल रिपब्लिक अफ चाइना’ डकुमेन्ट्री प्रस्तुत गरिएको थियो। नेपालस्थित चिनियाँ राजदूतावासको आयोजना र वल्र्ड कल्चरल नेटको संयोजनमा आयोजित महोत्सवको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले संयुक्त रूपमा गरेका थिए।
‘गौतम बुद्ध, भृकुटनको र पद्मसंभवलगायतले नेपाल र चीनबीचको सम्बन्ध हिमालझैं अटल र नदी जस्तै गतिशील बनाएर विश्व शान्ति, भ्रातृत्व र बन्धुत्वका लागि नेपाल र चीन एकै ठाउँमा उभिएका छन्,’ उनले भने, ‘महोत्सवबाट नेपाली दर्शक र फिल्म क्षेत्र, साहित्य जगतले धेरै कुरा सिक्न सक्नेछन्। नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन धेरै भन्दा धेरै चिनियाँ पर्यटकहरू नेपाल घुम्न आउने विश्वास दिएको छु।’
चिनियाँ राजदूत होउ यान्छीले चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध उचाइमा पुगेको बताउँदै चिनियाँहरूलाई नेपाल आउन र नेपालीहरूलाई चीन गएर ज्ञान हासिल गर्न आग्रह गरेकी थिइन्। वल्र्ड कल्चरल नेटका अध्यक्ष दीपक सरकारले हरेक वर्ष नेपालमा चिनियाँ फिल्म महोत्सव गर्ने गरिएको जानकारी दिँदै यस्तो महोत्सवले दुई देशबीचको सांस्कृतिक सम्बन्ध बृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
‘चीनको इतिहास, युवाहरूको मनोविज्ञान र समृद्धि यात्रा बुझ्न यो महोत्सवले सघाउने विश्वास लिएको छु,’ उनले भने, ‘महोत्सवलाई प्रभावकारी बनाउन आगामी वर्षमा चिनियाँ फिल्मकर्मीलाई निम्त्याउने तयारी गरिरहेका छौं।’ महोत्सव अन्तर्गत पोखरामा पुस २० र लुम्बिनीमा पुस २३ मा चिनियाँ फिल्म प्रदर्शन गरिनेछन्।
प्रकाशित: १३ पुस २०७६ ०४:०६ आइतबार