११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

प्रतियोगितामा राईको कला दोस्रो

काठमाडौं – अन्तर्राष्ट्रिय जलरंग समाज भारतले आयोजना गरिरहेको ओलम्पियन जलरंग महोत्सवमा अन्तर्गत आयोजना भएको खुला चित्रकला प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका डिबी राई दोस्रो भएका छन्।

उनले प्रतियोगितामा नेपालको परिचय दिने पाटनस्थित मंलबजारको गल्लीलाई क्यानभासमा उतारेका थिए। घाम झुल्किएपछिको साँघुरो गल्लीमा परेको उज्यालो, खुलेको निलो आकाश, बस्तीबीच उभिएको मौलिक प्यागोडा शैलीको मन्दिर र दैनिकीमा रमाउँदै गरेका स्थानीयहरुको भावलाई उनले जलरंगमार्फत् प्रस्तुत गरेका थिए।

‘नेपाली जीवनशैलीको झल्को दिने चित्रकला तयार गरेको थिएँ,’ उनले भने। सो प्रतियोगितामा नेपाली तीन कलाकारले चार वटा अवार्ड पाएका थिए। हिमालसहितको पोखरा क्षेत्रको चित्रकला तयार गरेका अर्का कलाकार मनोज तामाङले दुई अवार्ड प्राप्त गरेका थिए। नेपालको हिमाल, मठ–मन्दिरसहितको प्राकृतिक सम्पदालाई समावेश गरेर कलाकार दीपेन्द्रमान बनेपालीले तयार गरेको कला उत्कृष्ट तीनमा पर्दै जितेको थियो। यसअघि कलाकार उमाशंकर शाह र समुन्दमान श्रेष्ठ अवार्ड जितेका थिए।

महोत्सवमा ४५ देशका पाँच सय हाराहारीका कलाकृतिहरु प्रदर्शन भएका थिए। नेपालको प्रतिनिधित्व गर्ने १३ वटा कला प्रदर्शनमा राखिएका थिए। महोत्सवमा अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङसहित कलाकार दिपेन्द्रमान बनेपाली, डिबी राई, मनोज तामाङ, गोपाल दराई, विनोदकुमार गुप्ता, डिल्लीकृष्ण आले, प्रकाश मानन्धर, कान्छाकाजी भाषिमा र अमजद अली अन्सारी लगायत सहभागी भएका थिए। उनीहरुले नेपाली मौलिक परिवेश र सांस्कृतिक सम्पदा झल्काउने चित्रकलाहरु प्रदर्शन गरेका थिए।

प्रकाशित: २ पुस २०७६ ०३:३१ बुधबार

जलरंग_महोत्सव