७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

‘राजनीतिबिना आख्यान पुरा हुँदैन’

आख्यान विमर्श कार्यक्रममा आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘कविडाँडा साहित्य सम्मान २०७५’ बाट सम्मान गरिँदै। तस्विरः सविता/नागरिक

चितवन - नेपाली साहित्यको आख्यानका विषयमा छलफल गर्न राष्ट्रिय आख्यान विमर्श कार्यक्रम आयोजना गरिएको छ। कविडाँडा साहित्य समाज, चितवन र नेपाल प्रज्ञा प्रतिष्ठानले सौराहामा आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सामाजिक रूपान्तरणको गति तिब्र हुँदा आख्यान लेखनको महत्व हुने गरेको बताए।

उनले नेपाली समाजको रूपान्तरणको गतिलाई आख्यानले नै विश्व सामु चिनाएको जनाए। ‘समाजको यथार्थ चित्रण आख्यानले गर्ने भएकाले सिर्जना र समालोचना सँगसँगै जानुपर्छ भनेर विमर्श कार्यक्रम गरिएको हो। स्रष्टा र समालोचकलाई विमर्शले नयाँ बाटो देखाउनेछ’, कुलपति उप्रेतीले भने, ‘विमर्श कार्यक्रमले आख्यानको अबको दिशा के हो भनेर संकेत दिनेछ।’ आख्यान लेखनको विकास भएपनि कृति मूल्यांकन गर्ने परिपाटीमा अगाडि बढ्न सकिएको छैन।’

प्रतिष्ठानको तर्फबाट अवधारणापत्र प्रस्तुत गर्दै प्रतिष्ठानका समालोचना विभाग प्रमुख प्राडा गोपिन्द्र पौडेलले नेपाली समालोचना संक्रिणताको दलदलमा फसेको बताए। उनले यसले स्रष्टा र समालोचकबीचमा दरार ल्याएको जनाउँदै समाजको परिवर्तनकारी भूमिकामा आख्यानको महत्व भए जसरी आख्यानको विकासमा पनि समालोचनाको भूमिका हुने बताए। उनले पछिल्लो समयमा आख्यान लेखन नितान्त प्रचारमुखी बन्ने चुनौती देखिएको दाबी गरे।

कविडाँडा साहित्य समाजको तर्फबाट डा. एकनारायण पौडेलले अवधारणा प्रस्तुत गरेका थिए। उनले २ सय ५० वर्ष लामो आख्यान लेखनको समय हेर्दा वि.स. २०३५ आख्यान लेखनमा आधुनिककाल भएको बताए। ‘आख्यानको समालोचना हेर्दा अधिकांश समालोचना कविताको मात्र हुने गरेको छ। समालोचनाले कृतिको अधिमुल्यन र अवमूल्यनसमेत हुने गरेको छ’, उनले भने।

आख्यानकार नारायण ढकाल गुरुप्रसाद मैनालीदेखी वीपी कोईरालासम्मका लेखनमा राजनीति रहेको बताउँछन्। ‘त्यसैले राजनीतिबिना आख्यान पुरा हुँदैन’, उनी भन्छन्। राजनीतिक र सामाजिक परिवर्तनका कारण हुने समाज रूपान्तरणबाट नै कथा जन्मिने अर्का आख्यानकार अमर न्यौपाने बताउँछन्। ‘प्रत्येक किताबहरूमा अप्रत्यक्ष राजनीति जोडिने गरेको छ। राजनीतिभन्दा बाहिर रहेर आख्यान लेख्न सकिँदैंन ’, उनले भने। आफुले लेखेको ‘सेतो धर्ती’ आवरणमा बाल विधवाको कथा भएपनि प्रकृतिवाद र भोगवादलाई विषयवस्तु बनाएर लेखिएको उनले बताए।

त्यस्तै नारायण वाग्ले समयको कथा लेख्दा कुनै न कुनै रूपमा राजनीति जोडिएर आउने बताउँछन्। पाठकलाई रुचीकर हुने र पाठकले जान्नुपर्छ भन्ने लाग्ने विषयमा कलम चलाउँदै आएको उनको भनाई छ। रोचक विषयवस्तु र सजिव पात्रलाई प्रस्तुत गर्दा राजनीतिक अभिप्राय नभएपनि लेखनमा राजनीति जोडिने गरेको उनले बताए।

त्यस्तै रेणुका सोलुले प्रत्येक कृतिमा जोडिएर आउने राजनीतिले नीति निर्माण गर्न र समाज परिवर्तनका लागि समेत भूमिका खेल्ने बताईन्। ‘राजनीति भनेको झण्डा बोक्नु मात्र होईन्’, उनले भनिन्, ‘कृतिका माध्यमबाट नीति निर्माण गर्न, घर र समाज सञ्चालन गर्न बाटो देखाउन सकिन्छ।’ आख्यान विमर्शमा ‘नेपाली आख्यान र नारीःबद्लिँदो तस्बिर’ शीर्षकमा परिचर्चा गरिएको छ। कुमारी लामाले मध्यस्थता गरेको परिचर्चामा डा.अर्चना थापा, नयनराज पाण्डे, मनिषा गौचन, रामलाल जोशीसँग छलफल गरिएको थियो।

विमर्श कार्यक्रममा ‘समकालिन नेपाली कथाः कथ्यगत र शैलीगत विकासक्रम’का विषयमा डा. रजनी ढकाल, ‘समकालिन नेपाली उपन्यासको कार्यदिशा’ विषयमा डा. रामजी तिमल्सिना, ‘नेपाली लघुकथाको एक दशक’ विषयमा डा. पुष्करराज भट्ट र ‘नेपाली आख्यानको अन्तर्राष्ट्रिय विस्तारः प्रयास र चुनौती’ विषयमा महेश पौड्यालले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा आख्यानकारहरू ध्रुवचन्द्र गौतम, सनत रेग्मी र पद्यमावती सिंहलाई ‘कविडाँडा साहित्य सम्मान २०७५’ बाट सम्मान गरिएको थियो।

कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री आख्यानको विकासमा सर्जक र समिक्षकको भूमिका केलाउन कार्यक्रम गरिएको बताउँछन्। समाजले गएको वर्ष राष्ट्रिय काब्य विमर्श कार्यक्रम आयोजना गरेको थियो। साहित्यको विकासका लागि निरन्तर छलफल र विमर्श कार्यक्रम सञ्चालन गर्ने उनले बताए।

प्रकाशित: १० चैत्र २०७५ ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App