६ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

शाली नदीमा स्वस्थानी ब्रतको साङ्गे

स्वस्थानी ब्रतको अन्तिम दिन महिलाहरू माधव नारायन ब्रत बस्दै । तस्बिर : श्याम/नागरिक

काठमाडौं – कीर्तिपुरकी पवित्रा पन्थी स्वस्थानी ब्रतको अन्तिम दिन मंगलबार साँखुको साली नदीमा पूजा गर्दैथिइन्। मेला लागेपछि पनि उनी त्यहाँ गएकी थिइन्। उनले ब्रतको अन्तिम दिन भएकोले नुहाउन र पूजा गर्न आएको सुनाइन्। ‘मेला लागेपछि पनि आएको थिएँ। आज ब्रतको अन्तिम दिन फेरि पनि देवीदेवतालाई पूजा गर्न र नुहाउन आएको हुँ’, उनले भनिन्, ‘साता अघिको मेलाभन्दा आज धेरै रमाइलो भयो। यस वर्षको एक महिने स्वस्थानी ब्रत अशमेघ यज्ञ गर्दै बिदाइ गरेका छौं।’  ब्रत बस्दा र देवीदेवतालाई पूजा गर्दा घरपरिवारमा शान्ति मिल्ने, आफुले चिताएका इच्छा, मनोकांक्षा पुरा हुने विश्वास पवित्रामा छ। उनका अनुसार स्वस्थानी ब्रत महिलाहरूले गर्ने कठिन ब्रत हो। 

पौष शुक्ल चतुर्दशीको दिन हातगोडाको नङ काटेर स्नान गरी शुद्ध बस्त्र स्वस्थानीको शुभारम्भ गरिन्छ। बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने परम्परा छ। 

विष्णुुले महादेव पति पाउन स्वस्थानी ब्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको ब्रत बसेर महादेव पति पाएको विश्वास छ। यही मान्यता अनुरुप महिलाहरू ब्रत बस्ने चलन छ। 

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने स्वस्थानी ब्रत विधिपूर्वक देवीदेवतालाई पूजा गरी सकिएको छ। स्वस्थानीकै अवसरमा माघ ७ गतेबाट साँखुस्थित शालीनदीमा मेला लागेको थियो। स्वस्थानी ब्रतको अन्तिम दिन पनि मेलामा भक्तजनहरूको भीड देखिन्थ्यो। महिलाहरूले चोखो पानीमा माधव नारायण ब्रत बसेर नृत्य पूजा गरेका थिए। 

स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको थियो। पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गर्थिन्। विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न थालिन्। यसबाट खुसी भएर महादेवले आफुलाई पतिका रूपमा पाउन विष्णुुले भनेअनुसार गर्न सल्लाह दिए। विष्णुुले महादेव पति पाउन स्वस्थानी ब्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको ब्रत बसेर महादेव पति पाएको विश्वास छ। यही मान्यता अनुरुप महिलाहरू ब्रत बस्ने चलन छ। 

स्वस्थानीको शाब्दिक अर्थ आफु बसेको स्थानको देवी भन्ने बुझिन्छ। आफु बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो। उत्तरायण पछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई पनि स्वस्थानी भनिएको विश्वास छ। यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय उत्तम मानिन्छ। त्यसैदिनदेखी काठमाडौंको साँखुस्थित शाली नदी, गौरीघाट, पशुपति, गुहेश्वरी, सतिदेवीका अंग पतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुँइचो लाग्ने गर्दछ। 

माधव नारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितिका निर्वतमान अध्यक्ष राजुभाई मानन्धरले ब्रतको अन्तिम दिन भक्तजनहरूको भिड लागेको बताए। ‘आज ब्रतको अन्तिम दिन हो। त्यसैले धेरै महिलाहरू पूजा गर्न, ब्रत बस्न र नुहाउनको लागि आएका छन’, उनले भने, ‘शालीनदीको पानीमा नुहाउँदा रोगहरू हट्ने विश्वास छ। पूजा आराधना, नृत्य पूजा र करिब तीन घण्टा अशमेघ यज्ञ गरेर यसवर्षको स्वस्थानी ब्रतलाई बिदाइ गरिएको छ।’ उनका अनुसार माघेझरीले गर्दा सडक हिलाम्मे भएकाले केही भक्तजनहरूलाई ओहोरदोहोर गर्न समस्य परेकोे थियो। तर पनि दर्शनार्थी आएर सालीनदीमा नुहाउने, दर्शन गने र ब्रत बस्ने गरेका थिए। उनीहरूको सेवा सुविधालाई ध्यानमा राखी एक महिनासम्म समिति खटेको थियो। यसवर्ष सालीनदीमा मेला भर्न करिब ३० लाख दर्शनार्थी आएको उनले बताए।

प्रकाशित: ८ फाल्गुन २०७५ ०१:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App