२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

‘जीवनसँग जोडिएको चौका दाउ’

काठमाडौं – झण्डै ४५ वर्षको सांगीतिक करियरमा २ सय ५० बढी फिल्ममा संगीत दिइसकेका संगीतकार शम्भुजीत बासकोटा ‘डेब्यु’ निर्माण फिल्म ‘चौका दाउ’ लिएर दर्शकमाझ आउँदैछन्। आगामी पुष २७ गते प्रदर्शनमा आउने फिल्मलाई उनले आफ्नो ‘प्रयत्न’ भने पनि फिल्मप्रति उनको ‘उत्साह’मा कमी छैन।

फिल्मको प्रचारप्रसारका लागि बनाइएको ट्रेलर सार्वजनिक गर्न राजधानीमा हालै आयोजित कार्यक्रममा फिल्मका परिकल्पनाकारसमेत रहेका शम्भुजीतले फिल्मलाई मानव जीवनसँग जोडे। ‘चौका दाउमा मानव जीवन जोडिएको छ। हामीले एउटा सानो तर गम्भीर विषयलाई बोकेर कमेडी फ्लेबरमा प्रस्तुत गरेका छौं’, शम्भुजीतले भने, ‘फिल्ममा अधवैशे उमेर पुगेका पुरुषको बाँकी जीवन व्यतितको कथा छ। यो फिल्म हेरेपछि जीवनको जवानी बिताइसकेका वर्गलाई अतितको सम्झना आउँछ।’

बीस वर्ष पछि फिल्मी अभिनयमा पुनरागमन गरेका अभिनेता तैयव शाहले ‘चौका दाउ’ले आफूलाई नयाँ उर्जा दिएको सुनाए। ‘म नृत्य विधाबाट अभिनयमा आएको कलाकार हुँ। त्यसकारण पनि अभिनय मेरा लागि नशा सरह भइसकेको छ’, उनले भने, ‘त्यो नशालाई पुनः ब्युताइँदिनु भएकोमा शम्भुजीत बास्कोटाप्रति आभारी छु।’

फिल्म ‘संरक्षण’बाट निर्देशनमा ‘डेब्यु’ गरेका पूर्णेन्दु झाले ‘चौका दाउ’मा आफ्नो काम बढी निखारिएको बताए। ‘फिल्म मनोरञ्जनपूर्ण छ। दर्शकले तिरेको पैसा असुल्नुहुनेछ’,उनले भने। योगा गुरु डा. विकासानन्दले फिल्म र जीवन फरक पाटो भए पनि फिल्म बनाउन भन्दा चलाउन ठूलो कुरा रहेको बताए। ट्रेलरमा फिल्मका प्रमुख पाँच कलाकार रवीन्द्र झा, विल्सनविक्रम राई, तैयब शाह, सन्तोष पन्त र वर्षा राउतले फिचरिङ गरेका छन्।

मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेको फिल्ममा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुंगाना, सन्तोष पन्त, तैयव शाह, विल्सनविक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राईलगायतको अभिनय छ। अभिमन्यु निरवीको पटकथा सम्बाद रहेको फिल्ममा दीर्घ गुरुङको छायांकन, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व, बसन्त श्रेष्ठ र भीमफेदी गाइजको कोरियोग्राफी छ।

यसैबीच फिल्म ‘चौका दाउ’कै रिलिज मितिमा अर्को फिल्म ‘दी ब्रेकअप’ आउने तयारी भइरहँदा ‘दी ब्रेकअप’ फागुन १७ मा रिलिज हुने भएको छ। हेमराज बिसी निर्देशित फिल्म ‘दी ब्रेकअप’को नयाँ रिलिज मितिमा अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ रिलिज हुँदैछ। फिल्म ‘क्याप्टेन’का निर्देशक दिवाकर भट्टराई हुन्।
 

प्रकाशित: २ पुस २०७५ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App