१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

सुटिङलाई वर्षात् झमेला

काठमाडौं - मध्य असारमा घनघोर वर्षा हुनुपर्ने भए पनि यो वर्ष प्रि–मनसुन जस्तै कम पानी परिरहेको छ ।

वर्षा याममा कृषकहरु खेती कर्मको चटारोमा भएका यही बेला फिल्मकर्मीहरु भने सुटिङको चटारोमा छन् । गत वैशाख र जेठमा घोषित आधा दर्जन फिल्मको सुटिङलाई वर्षाले केही प्रभावित पारे पनि पानी रोकिएको समयलाई सदुपयोग गर्दै फिल्म समूह धमाधम सट लिइरहेका छन्।

पुराना फिल्म निर्माता केशव भट्टराईको फिल्म ‘यात्राः ए म्युजिकल भ्लग’को यतिबेला हेटौंडामा छायांकन भइरहेको छ । सोलुखुम्बुमा १५ दिन फिल्म छायांकन सकेपछि युनिट हेटौंडामा व्यस्त छ । ‘सोलुखुम्बुको सुटिङमा पानी र त्यहाँको मौसमले केही अवरोध गरेको थियो । एउटा दृश्य खिच्न दुई दिन लाग्यो,’ निर्माता केशवले भने, ‘हेटौंडामा पनि वर्षाले असर परिरहेको छ । पानी परेको समयमा इन्डोअर र पानी रोकिएको समयमा आउटडोर खिचिरहेका छौं।’

सम्राट शाक्यले निर्देशन गरिरहेको यो फिल्म सोलुखुम्बुका पत्ताले, फाप्लु, सल्लेरी र जुनबेसीका रमणीय लोकेसनमा छायांकन गरिएको छ । झन्डै ६४ प्रतिशत छायांकन सकिएको फिल्म हेटौंडापछि काठमाडौंमा खिचिनेछ । फिल्ममा सलिनमान बनियाँ, सलोन बस्नेत, जान्हवी बस्नेत, जयनन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा, विशाल कटवाल, रेअर राई, प्रेक्षा वज्राचार्य, समृद्धि राई, योगेशजंग कुँवर, विशाल पहाडी, मल्लिका महत, काजुन झाङ र बबीको अभिनय छ।

काठमाडौंमा छायांकनरत फिल्म ‘कस्मिक लभ’ र ‘प्रसाद’लाई पनि पानीले उस्तै दुःख दिएको छ । काठमाडौंका विभिन्न स्थानको छायांकन सकेर फिल्म युनिट मंगलबार गीत छायांकनका लागि कुलेखानी जाँदैछ । जे गौतमको लगानीमा निर्माण भइरहेको फिल्म ‘कस्मिक लभ’मा बाबु बलामी र शंकर अधिकारी ‘घायल’को संयुक्त निर्देशन छ । निर्देशक बाबुले पानी परेका कारण फिल्मको सुटिङमा समस्या आएको बताए । ‘हामीलाई दुई दिन चाहिँ पानीले निकै दुःख दियो,’ बाबुले भने, ‘पानी पर्दा इनडोर र पानी नपर्दा आउटडोर सुटिङ ग¥यौं । पानीले गर्दा सुटिङ अवधि लम्बिँदै गएको छ।’

अर्पण थापा, दिया मास्के, रविन तामाङ र रिजन थापालगायतका कलाकार अभिनित यो फिल्मको बज्रबाराही, धुलिखेल र भक्तपुरमा छायांकन गरिएको छ । ‘फिल्मको एक भाग छायांकन सकिएको छ । बाँकी भागको गर्दैछौं । मौसमले साथ दिए चाँडै काम पूरा हुनेछ,’ बाबुले भने।

निसन्तान दम्पतीले समाजबाट भोग्ने पीडाको कथा रहेको ‘प्रसाद’को इन्डोरको सुटिङ सकिएको छ । फिल्मका निर्देशक दिनेश राउतका अनुसार १२ दिनमा काँडाघारीस्थित गान्धी–तुलसी स्मारक महागुठीको आश्रममा इन्डोर खिचिएको छ । ‘अहिलेसम्म इन्डोर सुटिङ भएकाले वर्षाले असर गरेन । अब आउटडोर खिचिने भएकाले पानीले अवरोध गर्ला कि भन्ने डर छ,’ निर्देशक दिनेशले भने, ‘२० दिन जतिमा सुटिङ सक्छौं । वर्षातको समय भए पनि वर्षाले असर नपु¥याउने गरी फिल्म खिच्नेछौं।’

पत्रकार सुशील पौडेलको लेखन रहेको ‘प्रसाद’मा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत प्रमुख भूमिकामा छन् । फिल्ममा सुवास थापाको लगानी छ ।पत्रकारितामा एक दशकदेखि सक्रिय पत्रकार भीषण राईको डेब्यु निर्देशन रहेको फिल्म ‘पुरानो बुलेट’को यतिबेला धरानमा धमाधम छायांकन भइरहेको छ ।

अनुपविक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बु अभिनित फिल्मको सुटिङमा वर्षाले खासै अवरोध नपुर्याएको निर्देशक भीषणले बताए । ‘अहिले धरान नजिकैको लोकेसनमा गीत खिचिरहेका छौं । पहाडको फेदीमा सुटिङ भइरहेकाले मौसमले साथ दिइरहेको छ,’ भीषणले भने, ‘बिहानी समयमा सिमसिम पानी पर्ने भए पनि दिउँसोको समयमा पानी परेको छैन । वर्षात्को समयमा सुटिङ गर्दा पानीले असर गर्ला कि भन्ने डर थियो । तर त्यस्तो अवस्था आएन ।’

प्रेम र द्वन्द्वको प्रमुखता रहेको फिल्ममा कविता आले, शिव मुखिया, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, दिवज राईलगायतका कलाकारकोे पनि अभिनय छ । फिल्ममा अशोककुमार राई, दीपेन्द्र लिम्बू, वीरेन साम्बा र टिकाराम राई निर्माता तथा सन्तोष राई कार्यकारी निर्माता छन् । फिल्म मंसीरमा रिलिज हुनेछ।

वर्षातपछि फ्लोरमा फिल्म
वर्षात्को समयमा पनि फिल्मको छायांकन चलिरहँदा केही निर्माण घोषणा गरिएका फिल्मले भने सुटिङको तालिका वर्षात्पछिलाई तोकेका छन् । वर्षात्को समयपछिको शरद ऋतुमा मौसम राम्रो हुने भएकाले ती फिल्मले हाल प्रि–प्रोडक्सनको काम गरिरहेका छन्।

डेब्यु फिल्म ‘घामपानी’बाट चर्चा पाएका पत्रकार तथा निर्देशक दीपेन्द्र लामा भदौ १ गतेबाट नयाँ फिल्म ‘गोपी’ लिएर फ्लोरमा जाँदैछन् । आरोही इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, अंकित खड्का र प्रकाश घिमिरेलगायतको अभिनय हुनेछ । सामिप्यराज तिमल्सेनाको पटकथा रहने फिल्ममा मणिकर्ण केसी र आरोही केसी निर्माता छन्।

ट्याक्सी ड्राइभर र बारमा काम गर्ने महिलाको कथा भएको ‘ल्याङ ल्याङ’ निर्देशन गर्न लागेका फिल्म निर्माता तथा वितरक करण श्रेष्ठ ‘क्रेजी’ भदौ र असोजको समयमा फिल्म सुटिङ गर्ने तयारीमा छन् ।यही फिल्मबाट निर्देशनमा ‘डेब्यु’ गर्न लागेका उनी अहिले प्रि–प्रोडक्सनको काममा व्यस्त छन् । ‘अहिले वर्षात्को समयमा फ्लोरमा जाँदा धेरै कुराले अवरोध हुन्छ ।

सामान ढुवानीदेखि कलाकारलाई छायांकनस्थलसम्म पुर्याउन पनि समस्या हुन्छ,’ करणले भने, ‘मेरो पहिलो निर्देशकीय फिल्म हुने भएकाले पनि फिल्म निर्देशनको तरिका अध्ययन गरिरहेको छु । यो रचनात्मक कार्य भएकाले प्राविधिकदेखि हरेक विषयको अध्ययनमा छु।’करणकी आमा अमृतमाया श्रेष्ठको लगानी रहने फिल्ममा नाजिर हुसेन, सुस्मिता बुर्लाकोटी, बुद्धि तामाङ, प्रदीप चौधरी, विजय बराल, भोला सापकोटा, कमलमणि नेपाल, राजन खतिवडा, सरिता गिरी, देविराम पराजुली, दमन रुपाखेतीको अभिनय रहनेछ । फिल्म नेपाल, अस्ट्रेलिया र बहराइनमा खिचिनेछ।

फ्लोरमा रहेका फिल्मलाई चाँडो सुटिङ सक्ने हतारो भए पनि वर्षाले गर्दा सुटिङको समय तालिका फेरबदल भइरहेको छ । जसले लगानीको मात्रा त बढाउँछ नै, फिल्म समूहलाई सुटिङ पछिको पोष्ट–प्रोडक्सनको काम सकाएर दर्शकमाझ फिल्म ल्याउने हतारो पनि उस्तै छ ।
 

प्रकाशित: २६ असार २०७५ ०३:३९ मंगलबार

सुटिङलाई वर्षात् झमेला