३ चैत्र २०८१ आइतबार
image/svg+xml ०:१२ पूर्वाह्न
कला/संस्कृति

रहस्यमय हिमाली संसार

पर्यटन

के तपाईंलाई थाहा छ, सगरमाथा हिमाल कहाँ पर्छ र त्यो किन प्रसिद्ध छ? यदि त्यसबारे थाहा छैन भने माउन्ट चोमोलुङ्माबारे त केही सुन्नुभयो होला नि? छैन? उसो भए माउन्ट एभरेस्टको नामसँग पक्कै परिचित हुनुहोला होला। तर यी सबै एउटै हिमालका नाम हुन्– पृथ्वीको सबैभन्दा अग्लो ८८४८.८६ मिटर उचाइको। यो नेपाल र चीनको तिब्बत प्रान्तको सीमामा फैलिएको हिमालय शृङ्खलामा अवस्थित छ।

बेलायती भूगोलविद् र गणितज्ञ सर जर्ज एभरेस्टको सम्मानमा यो शिखरलाई एभरेस्टको नाम दिइएको थियो। चोमोलुङ्मा चाहिँ एक तिब्बती नाम हो, जसको अर्थ ‘हुरीको मालिकनी’ वा ‘ऊर्जाकी दिव्य आमा’ हुन्छ। नेपालीहरू यस शिखरलाई सगरमाथा भन्छन्। संस्कृतमा यो नामको अर्थ ‘आकाश छुने शिखर’ हुन आउँछ।

नेपालमा आठवटा विश्वका अग्ला चुचुरा छन्। यिनलाई आठहजारी हिमाल पनि भनिन्छ। तीमध्ये तीनवटा देशको भित्री भागमा र पाँचवटा सीमावर्ती क्षेत्रमा पर्छन्। तिनीहरू प्रत्येकले आफ्नै रहस्य बोकेका छन्। गत मे महिनामा काम विशेषले यात्राका क्रममा मैले यो रहस्यमय देशको भ्रमण गर्ने सौभाग्य पाएँ। यसबिच हामीले त्यहाँका मनोरम दृश्यहरू हेर्न, नेपालीहरूको जीवनशैलीसँग परिचित हुन र उनीहरूको मानसिकता बुझ्न सफल भयौं।

रुसजस्तै नेपाल पनि जातीय विविधताले भरिपूर्ण छ। यहाँ सवासयभन्दा बढी जातजाति बस्छन् र त्यति नै भाषा बोलिन्छन्। सबैभन्दा मूलभूत कुरो सबै जातिले आफ्नो परम्परालाई निष्ठापूर्वक संरक्षण गर्दै आएका छन्।

अब झन्डाकै कुरा गरौं। नेपालको राष्ट्रिय झन्डा अन्य मुलुकका झन्डाभन्दा भिन्न अर्थात् मौलिक र विशिष्ट छ। झन्डाको यो स्वरूप सगरमाथाको दक्षिणी र उत्तरी चुचुराहरूको प्रतीक हो। सिमानाको निलो रङ शान्तिको प्रतीक हो, जसमा चित्रित सूर्य र चन्द्रमाले जबसम्म आकाशीय पिण्डहरू अस्तित्वमा रहन्छन्, तबसम्म नेपाल रहिरहने आशा व्यक्त गर्छन्।

नेपालको निसान छाप पनि विविध प्रतीकले भरिएको छ। यसले राष्ट्रिय झन्डा र सगरमाथालाई देखाउँछ। हरियो रङले पहाडी क्षेत्रलाई झल्काउँछ भने पहेँलो रङले देशको उर्वर भूमि झल्काउँछ। महिला र पुरुषको संयुक्त हात लैङ्गिक समानताको प्रतीक हो। गाढा रातो घेराभित्र ‘जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा ठुलो हुन्छ’ भन्ने आदर्श वाक्य छ। निसान छाप लालीगुराँस (राष्ट्रिय फूल)को मालाले सजाइएको छ। यसको शीर्षमा नेपालको भौगोलिक रूपरेखाको आकारमा सेतो नक्सा छ।

एउटा सानो भूगोलमा पनि त्यहाँ पाँचवटा प्राकृतिक र जलवायु क्षेत्रहरू छन्। एक क्षेत्रको मौसम अर्कोभन्दा तीव्र रूपमा फरक हुन सक्छ। यसको राजधानी काठमाडौं राजनीतिक र आर्थिक केन्द्र मात्र होइन, देशको सांस्कृतिक र ऐतिहासिक मक्का पनि हो।

साच्चिकै, पहिलो नजरमा यो एक कमिलाको गोलाजस्तै देखिन्छ। भवनहरू धेरै घना छन्, घरहरू इट्टा, ढुंगा र केही काठबाट बनेका छन्। सहरमा धेरै धार्मिक र ऐतिहासिक स्मारक छन्, जसले यसलाई विशेष रङ दिएको छ।

काठमाडौंमा तीव्र रूपमा निर्माण कार्य भइरहेको छ तर निर्माणबाट निष्काशित फोहोरले राजधानीको समग्र रूपमा नकारात्मक प्रभाव पारेको छ। तर यहाँका प्रायः सडकपेटीमा गर्मीमा तिखो गन्ध आउने अलकत्रा होइन, शीतल टाइल बिछ्याइएका छन्। कतै घरहरू नजिकै साना तरकारी बगैंचा र फूलहरू रोपिएका छन्।

कमिला गोलाको छविलाई यहाँको ट्राफिक प्रणालीले झनै झल्काउँछ। त्यहाँ लगभग कुनै पैदलक्रसिङ वा ट्राफिक बत्ती छैनन्। सडकमाथि माकुराको जालोजस्तै तारहरू झुन्डिएका छन्। तिनीहरूको तल बायाँ लेन हुँदै असङ्ख्य कार, मोटरसाइकल र स्कुटरहरू खोलाझैं बगिरहेका हुन्छन्। ट्राफिक अस्तव्यस्त छ तर सडक त्यति अव्यवस्थित छैन। यी पहिलो नजरमा झलक्क देखिने कुरा मात्र हुन्।

नेपालको राजधानीलाई बिस्तारै मात्र चिन्दै गइन्छ। यसका थुप्रै मन्दिर, अचम्मका धार्मिक स्मारक र पुरातन वास्तुकलाका नमुनासँग क्रमशः परिचित हुँदै गइन्छ। सहरको मध्यभागमा रहेको दरबार स्क्वायरमा आजसम्म जीवित रहेको सबैभन्दा पुरानो काष्ठमण्डपको सम्मानमा यो राजधानीको नाम काठमाडौं राखिएको हो। यसको अनुपम सांस्कृतिक र ऐतिहासिक स्मारकका कारण नेपालको राजधानी युनेस्कोको विश्वसम्पदा सूचीमा छ। त्यस्तै संस्कृतमा ललितपुरलाई ‘सौन्दर्यको सहर’ त्यत्तिकै भनिएको होइन।

सहर र गाउँका वास्तुकलाले यी पहाडी भूभागका विशिष्टता झल्काउँछन्। जब म तिनीहरूलाई देख्छु, मलाई महान् कवि रसुल गमजातोभको कविता ‘जिउँदो देवी कुमारी’का पंक्ति सम्झन्छु:

‘जहाँ पहाडको भिरालोमा बनेका घरहरू

टाँसिएका शंखजस्तै देखिन्छन्

एसियाको चमत्कार– नेपाल

सबैभन्दा अचम्मको कुरा

सयौं सयौं देवता यहाँ बास बस्छन्।’

हो, नेपाल यात्राका क्रममा यो कविताको पछिल्लो पंक्ति जताततै अनुभूत हुन्छ। यो धार्मिक देश हो। यहाँका मुख्य धर्म हिन्दु र बौद्ध हुन्। एउटा सानो भागले इस्लाम, क्रिस्चियन र केही अन्य धर्ममा विश्वास गर्छन्। धेरै तीर्थस्थलहरू हिन्दु र बौद्ध दुवैद्वारा सम्मानित छन्।

नेपालमा व्यावहारिक रूपमा कुनै धार्मिक द्वन्द्व छैन र यसले यहाँका मान्छेमा सन्निहित धार्मिक सहिष्णुता र सद्भावनालाई झल्काउँछ। राजधानीबाट केही किलोमिटर टाढा रहेको ललितपुरले आफ्ना प्यागोडा शैलीका मन्दिर र काष्ठकलाका दरबारले सबैलाई आकर्षण गर्छ। यसबाहेक यस्ता कुँदिएका काष्ठकला साधारण घरमा, विशेष गरी ढोकाहरूमा पनि देख्न पाइन्छ।

यहाँका मन्दिरको प्रवेशद्वारमा धार्मिक ढाँचाका टाइलहरू बिछ्याइएका छन्। प्रायः ढोका चाँदी, पित्तल आदिबाट सजाइएका छन्। तिनीहरूले दुष्ट आत्मा र अपशकुन प्रवेश गर्नबाट भगाउँछन् भन्ने मान्यता छ। दरबार स्क्वायरको केन्द्रमा उपहार, चिनो, क्युरियोजस्ता कोसेली र धार्मिक सामग्रीको बिक्रेताको चहलपहल हुन्छ। ललितपुरलाई कला र सौन्दर्यको सहर त्यतिकै भनिएको होइन।

मेरो अफिसियल भ्रमणको मूल गन्तव्य चाहिँ लुम्बिनी थियो। देशको दक्षिण–पश्चिममा रहेको सानो सहर लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पवित्र स्थल हो। यहाँ भावी बुद्ध शाक्यमुनिको जन्म भएको थियो। पौराणिक कथाअनुसार करिब २६०० वर्षअघि शाक्यवंशका राजा शुद्धोदन र रानी मायादेवीको परिवारमा उनको जन्म भएको थियो। लुम्बिनीको मुख्य आकर्षणका रूपमा रहेको भव्य मायादेवी मन्दिर उनको जन्मभूमिमा अवस्थित गर्भगृहमा निर्माण गरिएको हो।

आज लुम्बिनी एक अन्तर्राष्ट्रिय बौद्ध पार्कमा परिणत भएको छ, जहाँ संसारका धेरै देशले आआफ्ना बौद्ध मन्दिरहरू निर्माण गरेका छन्। मैले त्यहाँ सेतो सिङ्गमरमरले बनेको थाई मन्दिरजस्ता विशिष्ट भवनहरू र भव्य दरबारहरू देखेँ। चिनियाँ मन्दिर परिसरमा त भव्य संरचनाहरूको संसारै रहेछ, चीन नै पुगेको अनुभूति गराउँछ। संसारभरका सहभागी भवन र परिसरमार्फत सबै देशका मौलिक कला यहाँ सङ्गृहीत छन्।

मेरो हालैको नेपाल भ्रमणअगाडिसम्म रुसी बौद्धहरूको यहाँ प्रतिनिधित्व थिएन। रुस–नेपाल सहयोग तथा मैत्री समाजले यो विषय उठाएपछि स्थितिमा परिवर्तन भयो। अनेक पहलपछि अप्रिल २०२१ मा लुम्बिनीमा रुसी बौद्ध मन्दिर निर्माण प्रारम्भ भयो। यो निर्माणाधीन मन्दिर सेन्ट पिटर्सबर्गमा अवस्थित ड्याट्सन गुन्जाचोइनी बौद्ध मन्दिरको प्रतिलिपि हो, जुन एक सय दश वर्षअघि निर्माण र प्राणप्रतिष्ठा गरिएको थियो।

लुम्बिनी भ्रमणका क्रममा हामी १७ मईका दिन तिलौराकोट पुग्यौं। बुद्धले आफ्नो जीवनको पहिलो २९ वर्ष तिलौराकोटको दरबारमा बिताएका थिए। यहाँ उनले दरबारी सुखसयल र आनन्दमा बाँचे। तर जब उनले जीवनको वास्तविक सत्य अनुभूत गरे, त्यसपछि महल छोडे र ज्ञानको खोजीमा जीवनमार्ग परिवर्तन गरे।

आज यहाँ तपाईंले तिलौराकोट दरबारका पुरातन पर्खाल र मन्दिरका अवशेष साथै पुराना रुखहरू मात्र देख्न सक्नुहुन्छ। नेपाल संसारमा एक मात्र यस्तो देश हो, जहाँ देवताहरू स्वर्गमा मात्र होइन पृथ्वीमा पनि बास गर्छन्। जीवित देवी कुमारी यसको उदाहरण हो।

तलेजु (दुर्गा काली) देवीले आफ्नो देह कुमारी देवीमा अवतरित गरेकी छन् भन्ने विश्वास छ। देशका विभिन्न सहरमा आआफ्ना कुमारी देवीहरू छन्। तीमध्ये सबैभन्दा चर्चित काठमाडौंकी कुमारी हुन्। उनी सहरको मध्यभागमा रहेको विशेष कुमारीघरमा बस्छिन्। देवीको शक्ति निकै ठुलो हुने जनविश्वास छ। पर्यटकहरू कुमारीले कहिले झ्यालबाट चियाउँछिन् भन्ने मौकाको आशामा दरबारबाहिर पर्खिरहेका हुन्छन्।

प्रायः विदेशी नेपाली जनमानसबारे सुखद छाप सँगालेर स्वदेश फर्कन्छन्, जसरी हामी फर्कियाैं। शान्त, मेहनती र अतिथि सत्कार यहाँको संस्कार नै हो। जब तपाईं नेपाल पुगेर उनीहरूसँग व्यवहार गर्नुहुन्छ, तपाईंमा यो अद्भुत देश फेरि भ्रमण गर्ने र आफ्नै आँखाले यसको मुख्य आकर्षण हिमालय हेर्ने तीव्र इच्छा पैदा हुन्छ।

–पच्योम्किना रुसी लेखक संघकी सदस्य हुन्। उनले धेरै नेपाली कविताको रुसी भाषामा अनुवाद गरेकी छन्। प्रस्तुत आलेख उनले हालै गरेको नेपाल भ्रमणको अनुभूति समेटेर मस्कोबाट प्रकाशन हुने ‘निजाभिसिमाया’ पत्रिकामा प्रकाशित लेखको अनुवाद हो।

प्रकाशित: २४ फाल्गुन २०८१ १०:३४ शनिबार

# Nagarik ko 'Akshaar' # Nagarik # Buddhist # Niyatra