३ माघ २०८१ बिहीबार
image/svg+xml
कला

सामाजिक सञ्जालले एकै दिनमा धारणा परिवर्तन गर्ने

यस्ताे पनि!

सामाजिक सञ्जालले प्रयोग गर्ने कम्प्युटर अल्गोरिदमले एकै दिनमा मानिसको दिमाग भुट्न सक्ने एउटा अध्ययनले देखाएको छ।

कुनै व्यक्तिले सामाजिक सञ्जाल चलाउँछ भने उसले कस्ता सामग्रीहरू हेर्छ, ती सामग्रीप्रति सो व्यक्तिको धारणा कस्तो छ र सामग्रीहरू हेरिसकेपछि कस्तो धारणा बन्छ भन्ने विषयमा अध्ययन गरिएको थियो।

शोधकर्ताहरूले के पाए भने शुरुमा ज्यादै नकारात्मक भएका व्यक्तिहरूका सामग्री पनि बढीभन्दा बढी हेर्न थाले र त्यसको विरोधमा कुनै अर्को सामग्री आएन भने नकारात्मकता घट्दै जाने र उसप्रति सकारात्मक हुँदै जाने देखिएको हो। यस्तो धारणा परिवर्तन हुन धेरै समय नलाग्ने र एकै दिनमा धारणा परिवर्तन हुने अध्येताहरूले पाएका हुन्।

पहिले सामाजिक सञ्जालमा लाइक, रिपोस्ट र प्लेटफर्ममा कति समय बिताइन्छ, त्यसका आधारमा उसले हेर्ने सामग्रीहरू दोहोरिएर आउँथे। अहिले भने कुनै सामग्री हेरेकै भरमा उसलाई त्यस्ता सामग्रीहरू बढीभन्दा बढी पस्कने अल्गोरिदम बनेको छ।

मानौं, मलाई कुनै व्यक्तिका अभिव्यक्ति मन पर्दैन तर म हेर्न थालेँ। शुरुमा हेर्दाहेर्दै म उसप्रति ज्यादै नकारात्मक हुन्छु। त्यो नकारात्मकता बढ्दै गर्दा पछि रिस बढ्दै जान्छ र अर्को तहमा पुग्दा दुःखी हुन पुग्छु। तर दुःखी अवस्थामा पनि म तिनै कन्टेन्ट हेर्न थालेँ भने उसप्रतिको नकारात्मक भावना हराउँदै जान्छ र ती कन्टेन्टमा रमाउन थाल्छु।

यसै आधारमा प्रिन्सटन विश्वविद्यालयका वैज्ञानिक म्यानोल रिबेरो भन्छन्, ‘जब हामी कुनै एकै किसिमका कन्टेन्ट हेर्न थाल्छौँ, त्यो बेला हाम्रो रिस र आक्रोश हराउँदै जाने मात्र होइन, उल्टै मन पराउन थाल्छौँ। यस्तो परिवर्तन हुन धेरै समय पनि लाग्दैन। पूरा  २४ घण्टा त्यस्ता कन्टेन्ट हेर्न थाल्यौँ भने हामीमा त्यो परिवर्तन आउन थाल्छ।’

रिबेरो भन्छन्, ‘अहिलेको मिडिया अल्गोरिदमका असल तथा खराबीका बारेमा लामो बहस गर्न सकिन्छ तर मेरो अध्ययनले देखाएको छ, हाम्रो व्यवहार जस्तो छ, प्रायः त्यससँग मिल्दोजुल्दो कन्टेन्टहरू नै हामी हेर्ने गर्छौं। त्यसैले हामी जे बन्न चाहन्छौँ, त्यो हेर्ने हुनाले सामाजिक सञ्जाल पूरै नकारात्मक पनि हुँदैन।’

पछिल्लो समय एकै किसिमका कन्टेन्ट ग्रहण गर्नेहरूलाई त्यस्तो किसिमको अल्गोरिदमबाट जोगाउनुपर्ने र एक ध्रुवीय कन्टेन्ट दिने अवस्थाबाट रोकिनुपर्ने आवाज उठ्न थालेको छ। राजनीतिक रूपमा केहीले खतरा देखे पनि त्यस अवस्थामा बाहेक भने मानिसले आफ्नो भोक मेट्न यसतर्फ आकर्षित हुने गरेको देखिएको छ।

यसको विकल्पका रूपमा ग्राहकलाई छनोटको अवसर दिनुपर्ने र शुरुमा ग्राहकले आफूलाई जे विषयमा हेर्न मन लागेको छ, त्यसको सूचीका आधारमा उसलाई कन्टेन्ट पस्कनुपर्ने केहीले सुझाएका छन्।

बेलायतको न्युक्यासलस्थित नर्थुम्ब्रिया युनिभर्सिटीकी प्राध्यापक क्यारोलिना आयर बेलाबेलामा सामाजिक सञ्जालले कन्टेन्ट दिने मामिलामा अल्गोरिदमलाई बदलिदिनु पर्ने सुझाव दिन्छिन्।  

प्रकाशित: २४ मंसिर २०८१ ०९:१८ सोमबार

# Yasto Pani! # Social networking