तिम बज, मेरो अस्ट्रेलियन साथी। यहाँ सम्झनुपर्ने कारण के छ भने उसले नै हो, मलाई साइकल चलाउन प्रेरणा दिएको। अहिले साइकल यात्रा मेरो रमाउने र स्वस्थ रहने जीवनशैलीको अभिन्न अंग बनेको छ। म साइकल यात्राको प्रसङ्ग नै उठाउन खोजिरहेछु यहाँ।
विकसित देशका मानिस, खास गरी युरोप, अस्ट्रेलियामा साइकल चलाउने संस्कार व्यापक रूपमा रहेको सुनेबुझेकै हो। तिम दम्पती पनि खुब साइकल चलाउँथे। तिमले प्रेरित गर्नुअघिसम्म मेरो दिमागमा साइकल पनि रमाउने साधन हो भन्ने पटक्कै आएको थिएन। ‘साइकल चलाउनुको साधारण आनन्दसँग कुनै पनि कुराको तुलना छैन,’ अमेरिकाका पूर्वराष्ट्रपति जेएफ केनेडीले भनेका रहेछन्।
सन् २००७ को कुरा थियो, ‘वाटर एड’ नामक एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पूर्वीटिमोरमा देशीय प्रतिनिधि थिएँ म। तिम प्लान संस्थाका देशीय निर्देशक थिए। तिमसँगको संगतले साइकल चलाउनुपर्छ भन्ने प्रभाव मलाई पर्यो। तत्कालै मैले काठमाडौंबाट एउटा ट्रेक साइकल तीस हजार रूपैयाँमा किनेर लगेँ पनि।
त्यस उप्रान्त मेरो साइकल यात्राको शृङ्खला सुरु भयो। पूर्वी टिमोर एउटा सानो टापु देश, स्थानीय भाषामा यसलाई ‘टिमोर–लेस्ते’ भन्छन्। अहिले देशको औपचारिक नाम नै यही रहेको छ।
पूर्वी टिमोर त अनुवादित नाम हो। त्यसबेला जनसङ्ख्या थियो दस लाख हाराहारी, आकार चाहिँ नेपालको १० खण्ड जति (१४ हजार चानचुन वर्ग किलोमिटर) मात्र। तीनतिर समुद्रले घेरिएको अनि पश्चिमतिर टापुकै पश्चिमी भागमा इन्डोनेसियाको पश्चिमी टिमोर नै छ। टिमोर–लेस्तेको राजधानी डिली हो। पूरै टापु हेर्दा एक गोहीजस्तो देखिन्छ, त्यसैले केही किंवदन्ती पनि छन्, टिमोर टापु गोही आकारको किन भयो भन्नेबारे।
मलाई सम्झना छ, पहिलो दिन स्वाँस्वाँ फ्वाँफ्वाँ गर्दै पाँचसात किलोमिटर साइकल चलाएको। म निरुत्साहित हुँला भनेर तिमले मलाई भनेका थिए, ‘तीन महिनामा तिमी पनि हामीजस्तै हुन्छौ।’ त्यो हौसलाले काम गर्यो, मेरो साइकल चढाइ निरन्तर रह्यो र उनले भनेझैं हुँदै गयो पनि। सुरुमा समुद्र छेउछेउ हुँदै क्रिस्तुरेको फेदीसम्म चलाउने गर्थें। उकालोमा जान पनि सकिँदैनथ्यो। एकपटक क्रिस्तुरेबाट साइकलमा फर्किंदै गर्दा अँध्यारो भइसकेको थियो। साइकलमा बत्ती थिएन। तुफान गतिमा थिएँ। अचानक एउटा साइकल छड्के बाटोबाट हानिएर मूल बाटोतिर आयो। उक्त साइकलसँग ‘हेड अन कोलिजन’ हुनबाट बालबाल बचेँ। अहिले पनि त्यो घटना सम्झँदा रौं ठाडा हुन्छन्। त्यसकारण साइकलमा बत्ती र हेल्मेट अति महत्त्वपूर्ण हुन्छ, दुर्घटना हुनबाट बच्न। साइकलमा पनि नराम्ररी दुर्घटना हुन सक्छ भन्ने कुरा आफूलाई नपरेसम्म थाहै हुन्न।
हाम्रो साइकलको प्रमुख गन्तव्य डारे, म बसेको ठाउँ राजधानी डिलीबाट सात किलोमिटर टाढा डाँडामा। साइकल उकालोमा चलाउनुपर्ने।
डारेमा टिमोरको स्वतन्त्रता संग्रामका झलकहरू प्रतिबिम्बित हुने गरी ठुला ठुला फोटा तथा भिडियो प्रदर्शन गर्ने गरी सानो म्युजियम बनाइएको छ। दोस्रो विश्वयुद्धमा अस्ट्रेलियन र टिमोरी सैनिकको जापानी सैनिकसँग भिडन्त भएको थियो रे। त्यसबेला पूर्वीटिमोर पोर्चुगलको उपनिवेश थियो। सन् १९७५ मा मात्र पोर्चुगलले छाडेको थियो। त्यसपछि इन्डोनेसियाले कब्जा गरेछ।
यहाँ एउटा कफी पसल पनि खोलियो कालान्तरमा। टिमोर कफीका लागि प्रसिद्ध मानिन्छ। डिलीको गर्मीबाट छुटकारा पाउनुका साथै मिठो कफी दिएर धेरैलाई आकर्षित गर्छ डारेले। डारेको सम्झनाले अहिले म बुढानीलकण्ठको डाँडागाउँमा गएर प्रत्येक शनिबार साइकल चढेर कफी पिउने गर्छु।
डिली र सिंगापुरको मौसम उस्तैउस्तै हो। जम्मा ऋतु दुइटा– सुक्खा ऋतु र पानी पर्ने ऋतु। नेपालमा जस्तो ६ ऋतु– वसन्त, ग्रीष्म, वर्षा, शरद्, हेमन्त, शिशिर कहाँ पाउनु यहाँ !
साइकल समूहमा अक्सर चारपाँच जना हुन्थ्यौं– तिम (अस्ट्रेलिया), राइनर (जर्मनी), जेसी (अमेरिका), जेफ (अस्ट्रेलिया), हर्नान्दो (कोलम्बिया)। कहिलेकाहीं विष्णु पोख्रेल (नेपाली)। डिलीमा म बेमोरी टोलमा बस्थेँ। भेट्ने ठाउँ लहाने थियो।
बेमोरीबाटै बाटो हल्का उकालो लाग्छ अनि लहाने पुगिन्छ। लहाने भन्ने ठाउँ त्यहाँको तरकारी, फलफूल, अन्नसमेत बेचिने हाटबजारजस्तो क्षेत्र। गाउँबाट सुँगुरसमेत बेच्न ल्याउँथे। रोमन क्याथोलिक क्रिस्चियनको संख्यात्मक बाहुल्य भएको मुलुक हो टिमोर–लेस्ते।
हरियो तरकारीमा कान्कुन निक्कै प्रख्यात थियो पूर्वी टिमोरमा। यो सामान्यतः जमेको पानीमा फस्टाउँदो रहेछ। गाउँका मानिसहरू तरुल (तलास, स्थानीय भाषामा) र हरियो खुर्सानी (आही मानस) खुब खान रुचाउने। तिनको बिक्री पनि प्रशस्त हुन्थ्यो।
त्यहाँका मानिसले हामीलाई ‘मलाई’ (विदेशी) भन्छन्। कुइरेलाई ‘मलाई मुतिन’ अर्थात् ‘गोरा’ अफ्रिकी देशकालाई ‘मलाई मेतान’ अर्थात् ‘काला’ भन्छन्। साना साना केटाकेटीले खुब ‘मलाई मलाई’ भन्दै हात हल्लाउँथे साइकल चलाउँदा, यहाँ कुहिरे कुहिरे भनेजस्तै। सन् १९९९ मा भएको आन्तरिक दंगामा ब्रिटिस गोर्खा सैनिकले शान्ति कायम राख्न भूमिका खेलेकाले नेपालीलाई विशेष सम्मान गर्थे। खासगरी अनुशासित छन् भनेर चिन्छन्।
लहानेदेखि नै रमाइलो यात्रा सुरु हुन्छ। सुरुवाती दिनहरूमा त सात किलोमिटर पनि धौ धौ भएको सम्झन्छु। अरू साइकलेसँग पनि परिचय हुने नै भयो। समूहमा अक्सर विभिन्न संस्थाका प्रमुख नै थिए। तिम प्लान संस्थाका प्रमुख, राइनर विश्व बैंक अन्तर्गतको आइएफसी प्रमुख, जेसी बेमोसका प्रमुख अनि जेफयुएसएड र हर्नान्दो युएएफपिओका प्रमुख।
लहानेबाट डारे हल्का उकालो, पातलो बस्ती, घुमाउरो बाटो हुँदै जानुपर्ने। पक्की सडक थियो, बाटोछेउमा रुखहरू प्रशस्त। यी आआफ्ना संस्थाका हाकिम भएकाले, साइकल चलाउँदा आफूपछाडि परिएला भनेर सारै चिन्ता गर्ने। मानौं कि उनीहरूको संस्था अथवा देश नै दाउमा परेको होस्। जर्मन अलि बढी नै सचेत हुँदोरहेछ। अमेरिकन को त कुरै छोडौं। अनि अलि उमेर ढल्केको त पछाडि पर्ने नै भयो। उसको आफ्नै रणनीति हुने। ऊ अलि एक्लै पछाडि आउन रुचाउने। ऊ आफै पहिलो र अन्तिम भन्ने पर्नेगरी ! मसँग भने कसैको प्रतिस्पर्धा नहुने। त्यसकारण धेरैले मसँग साइकलमा जान रुचाउने। नेपाली त परे, जातैले मिलनसार !
डारे पुगेपछि शीतल हावा चल्ने अनि टिमोरको कफी खान पाइने। आनन्द आउने। गफ पनि अन्तर्राष्ट्रिय हुने। झन्डै एक घण्टा बिताइन्थ्यो। कहिले त्यहींबाटै फर्किन्थ्यो, कहिले त्यहाँबाट पनि अगाडि गइन्थ्यो। फर्कन कच्ची बाटो रोजिन्थ्यो। टिमोरमा डिसेम्बरबाट मार्चसम्म पानी पर्छ, नेपालमा जस्तो धेरै चाहिँ होइन। यो तीन महिना घाँस अग्ला हुन्थे। त्यसैले कच्ची बाटोमा मजै अर्कै हुन्थ्यो। सुक्खा मौसममा नेपालको चुरेको भौगोलिक अवस्थासँग मिल्दोजुल्दोझैं लाग्थ्यो। डाँडा पूरै सुक्खा !
कहिलेकाहीं डारेबाट सिधै अगाडि ऐलेउ भन्ने ठाउँतिर कराउमाते (नेपालीमा राँगा मरेको भन्ने अर्थ लाग्छ) हुँदै इवेजेलिङ चर्चबाट ओरालो लागेर आइसाबे हुँदै बेकोराको भन्ज्याङनेरको पब्लिक स्कुलमा निस्केर डिली फर्कन्थ्यौं। यो बाटो निकै सुक्खा, बीचबीचमा सानो बस्ती भएको रुखो ठाउँ।
सन् २००६ को सैनिक विद्रोहका नेता मेजर साल्सिना यही बाटोबाट ऐलेउतिर भागेर उम्केको सुन्नमा आएको थियो। उनले त्यति बेलाका प्रधानमन्त्री सनाना गुस्माओलाई ऐलेउ वरिपरि एम्बुसमा पारी शासनको बागडोर आफ्नो हातमा लिने असफल प्रयास गरेका थिए। त्यसलगत्तै साल्सेनाको हत्या गरियो। तत्पश्चात् पूर्वीटिमोरमा आन्तरिक युद्ध भयो। निकै घर जलाइए। निकै मानिस विस्थापित भएर शिविरमा बास बसेका थिए। म र मेरो परिवार यो गडबडी हुँदा टिमोरमा नभएकाले यो अप्रिय स्थितिको सामना गर्नुपरेन।
हाम्रो साइकलको अर्को रुट हुन्थ्यो बेकोराबाट हेरा हुँदै क्रिस्टोरेपछाडिको राष्ट्रपतिको निवास एक चक्कर लगाउँदै घरतिर फर्कनु। यो रुटमा एक पटक बुद्धि कुँवर नराम्ररी लडेका थिए। उनी साइकलमा ओरालो लाग्दै थिए। अचानक हावाले टोपी उडाउन खोज्दा एउटा हातले टोपी सम्हाल्न माथितिर लगे। ठिक त्यही बेला होस नपुगेको भनौं वा अनुभव नपुगेको भनौं, अर्को हात पनि साइकलको ह्यान्डिल छोड्न पुगेछन्। नराम्ररी पछारिए। त्यसपछि उनले साइकल नै चलाउन छाडे।
लामो समय पोर्चुगलको उपनिवेश भएको हुनाले यहाँको धर्म, संस्कृति उसबाट निकै प्रभावित देखिन्छ। ९६ प्रतिशत जनता रोमन क्याथोलिक धर्म मान्छन्। गर्भपतन यहाँ गैरकानुनी छ। त्यसैगरी यहाँका मानिसहरूको नाम र थर पनि उताको जस्तै हुन्छ, जस्तै जोसे रामोस होर्ता (पटकपटक राष्ट्रपति र प्रधानमन्त्री भएका व्यक्ति)।
यो संसारमा मानव जातिको असीमित चाहनालाई तृप्त पार्न एक ठाउँबाट अर्को ठाउँ हिँड्ने अनि त्यहाँको स्रोतसाधन कब्जा गर्ने गरेको हामीले सुनेका छौं। नेपाल उपनिवेश कहिल्यै हुनुपरेन, नेपालीले गौरव गर्नैपर्ने इतिहास। पूर्वी टिमोरमा तेसो भएन।
साइकल यात्रामा सरिक हुँदाको एउटा महत्त्वपूर्ण पक्ष, अनौपचारिक छलफलको सिलसिलामा मलाई विभिन्न सूचनासँग अवगत हुने अवसर पनि मिल्यो। मेरो साइकल समूहमा विभिन्न संस्थाका प्रमुख भएकाले सूचनाहरू प्राप्त हुन्थे, जसबाट मलाई आफ्नो संस्थाको व्यवस्थापन गर्न निकै सहज भएको महसुस हुन्थ्यो।
म कार्यालय प्रमुख भएको नाताले दातृराष्ट्रका प्रतिनिधिहरूसँग भेटघाट गर्नुपर्ने हुन्थ्यो। भेटघाटका लागि समय लिन पनि सजिलो हुने। भनिन्छ, ‘८० प्रतिशत निर्णय ब्रेकफास्टको टेबलमा हुन्छ।’ यो संगतले मलाई सात वर्षसम्म ‘वाटर एड’को व्यवस्थापन गर्न सहज भएको महसुस हुन्थ्यो।
बेलाबेला हामीले लामै यात्रा गरेको सम्झना छ। एक पटक यलिउको बाटोबाट छड्के लागेर कोमोरो खोलाको माथिल्लो भेगबाट निस्केका थियौं। यात्रा जम्मा ८४ किलोमिटर भएको थियो। दूरदरारका बस्ती हेर्ने मौका मिल्यो। बाटोको अवस्था खराब र भिरालो थियो। कोमोरोको बगर बगर हुँदै पुल निस्केको याद ताजै छ।
त्यो बेला खाऊँखाऊँ, लाऊँलाऊँ भन्ने उमेर थियो मेरो। त्यसकारण, साइकल यात्रापछिको ब्रेकफास्ट खान चौचौ हुने मलाई। एयरपोर्ट जाने बाटोमा एउटा राम्रो ब्रेकफास्ट पाइने अस्त्रेलिएन रेस्टुरेन्ट सम्झन्छु। ससेज, बिन्स, डबल पोच, ग्रिल्ड टोमाटो, बेकन अनि टिमोर कफी। यो परिकार खान ४० किमि साइकल गरेर १७ सय हाराहारीमा क्यालोरी नष्ट गर्न हरेक हप्ता मन लालायित हुन्थ्यो।
टिमोर सानो ठाउँ भएकाले खासै मनोरञ्जनको साधन नपाइने। साइकलले यो मनोरञ्जनको खडेरीलाई केही हदसम्म मलजल गरेकै हो। टिमोर उपनिवेशित देश भएकाले यसको प्रभाव उनीहरूको मानसिकता र व्यवहारमा भित्री रूपमा गडेको छ। त्यहाँका जनता विश्वकै सबैभन्दा अप्ठ्यारामध्येमा पर्छन् भन्ने भनाइ पनि सुनिन्छ। तथापि मैले कहिल्यै पनि कर्मचारीहरू तथा अरू सरोकारवालाबाट अप्ठ्यारो स्थिति सामना गर्नुपरेन। स्थानीयहरूसँग तालमेल गर्न नसकेर फर्केका÷फर्काइएका धेरै उदाहरण भेटिन्छन् यहाँ। फर्केर हेर्दा साइकल चढेर उत्सर्जन हुने सकारात्मक हार्मोनले यसमा ठुलो भूमिका खेलेको हुनुपर्छ भन्ने मेरो विश्वास छ।
१९औं शताब्दीका न्युयोर्कका प्रख्यात साइक्लिस्टले भनेका छन्, ‘साइक्लिस्टले साधारण नागरिकभन्दा कैयौं गुणा बढी यो संसारको सुन्दर पक्ष देखेका हुन्छन्।’ मैले पनि साइकल यात्रामा टिमोरको बहुआयामिक पक्ष देखेँ भन्दा अत्युक्ति नहोला। टिमोरका केही अनौठा लागेका चलन यहाँ उल्लेख गर्न चाहन्छु।
टिमोरमा कोही मान्छे मर्यो भने घरवरिपरि आफ्नै परिसरमा गाड्ने चलन रहेछ। हामी पहिलोपटक बसेको घर कुलुहुनमा यस्तै भयो। सुरुमा थाहै भएन तर पहिलो दिनमै देखियो। पहिलो रात त निन्द्रा नै आएन। कोठाभन्दा १५ फिटको दुरीमा सिमेत्री (मान्छे गाडेको ठाउँ) भएपछि निद्रा लागोस् पनि कसरी ?
अझ त्योभन्दा हैरान हुने कुरा के भने एकजना उनका आफन्तको मृत्यु इन्डोनेसियाको कुपाङ भन्ने ठाउँमा भएको रहेछ। त्यो मरेको शवपनि त्यही शवसँगै गाड्न ल्याए। अब त दुइटा शव ! एउटासम्म सामान्य भइसकेको थियो। दुइटा भएपछि त असह्य नै भयो। अनि अर्को घर खोज्नतिर लाग्यौं र तुरुन्तै सर्यौं बेमोरीमा। यस्तो ठाउँमा पनि चार वर्ष बिताइयो। अर्का नेपाली बसेको ठाउँमा पनि यस्तै देखेँ मैले। त्यहाँ त भुत नै आउने रहेछ। मेरी सानी छोरी (आठ वर्ष) ले धेरै भुत देख्थी घरभित्रै। भनिन्छ, महिला, केटाकेटीले भुत देख्छन् भनेर। मैले त त्यस्तो अनुभव गर्नुपरेन।
टिमोरिजहरू नाचगानका निकै सोखिन। नाच चाहिँ पोर्चुगिज शैली अनि गीत मौलिक भए पनि सङ्गीत पनि पोर्चुगिज शैलीकै। पार्टी÷भोज १० बजे बेलुका सुरु हुन्छ अनि बिहान झिसमिसेमा (चार बजेतिर) सकिन्छ। यो समयमा निरन्तर नाचेको नाचै हुन्छ। खासगरी महिला र पुरुषको जोडी बनाएर नाच्ने चलन छ। पुरुषले महिलाको कम्मर अनि महिलाले पुरुषको काँधमा समातेर हल्लिन्छन्। हेर्नेलाई पनि रमाइलो, नाच्ने जोडीलाई पनि रमाइलो हुने नै भयो।
अर्को अनौठो कुरो, गाउँघरमा कुकुरको मासु खाइँदो रहेछ, तर मैले चाखिनँ। कुकुरको मासु खाइएला भनेर एउटा भोजमा त शाकाहारी बनेर भोज खाएँ।
पूर्वीटिमोरमा भाले जुधाउने प्रतिस्पर्धा प्रख्यात मनोरञ्जनको साधनका रूपमा लिने गरिन्छ। शनिबार त चोक चोकमा भाले जुधाइ हुन्छ। यो चाहिँ रोममा ग्लादिएटरकै देखासिकीमा मानिसहरूले कुखुराको भाले जुधाइ गरेका होलान्। मानव मानवबीच हिंस्रक कुस्ती खेल्ने ठाउँ रोममा अझै प्रदर्शनीका रूपमा राखिएको देखेको छु।
मेरो घरबेटीले त भालेको खुट्टा मजबुत बनाउन खुट्टाले केही भार तान्नेगरी खुट्टाको कसरत गराइराखेका हुन्थे। बलियो बन्नका लागि विभिन्न प्रकारका भिटामिन पनि खुवाएको देखेको छु। पहिले यस्तो नदेखेकाले कौतूहल जागेको थियो। बाजी पनि एक हजार डलरसम्मको। साइकल जाँदा गाउँगाउँमा निकै देखियो भाले जुधाइ। अनि जुन भाले हार्यो, त्यो त मर्छ नै किनभने भाले जुधाउँदा धारिलो कर्दले भालेको बुढीऔंलामा मजाले बाँधेको हुन्छ। यो भाले जुधाइमा भालेले उडीउडी अर्को भालेको गर्दन छिनाउने प्रयास हुँदो रहेछ। अनि त्यो अलि सस्तो पाइने भएकाले मरेको भाले किन्नलाई पनि मानिसहरू पर्खेर बसेका हुन्छन्।
मैले साइकल चलाएको देखेर नेपालीहरू पनि दंग पर्थे अनि टिमोरिज पनि त्यस्तै दंग पर्थे। एक जना टिमोरिज साथी ‘कोको’ले २५ हजार रूपैयाँमा मेरो साइकल किने।
यस्तैयस्तै साइकल चलाउने सिलसिलामा त्यहाँको चलन, मौलिक संस्कृति निकै नजिकबाट नियाल्ने मौका मिल्यो। एकपटक एउटा मरेको गोहीलाई चिहानजस्तै गाडेर राखेको भेटियो। दाहसंस्कार गरेको भन्ने बुझियो। टिमोरको समुद्रमा गोहीले बेला बेला आतंक मच्चाएको समाचार आउँथ्यो। तिमोरिजहरूले गोहीलाई देवताका रूपमा मान्छन्। गोहीलाई मार्न हुन्न भन्ने मान्यता उनीहरूको थियो।
गोहीले खाएर कोही मान्छे म¥यो भने पनि गोहीलाई केही गर्दैनन्, मरेको मानिसको वैकुण्ठवास हुने भयो भनेर ! किंवदन्तीअनुसार गोहीप्रति यस्तो आस्था हुनुको कारण गोहीले नै एउटा डुब्न लागेको बच्चालाई आफ्नो शरीरलाई जमिनमा रूपान्तर गरेर बचाएका भनेर विश्वास रहेछ। त्यसकारण पूर्वीटिमोरको भूआकार गोहीकै जस्तो देखिन्छ भन्ने विश्वास छ उनीहरूको। हुन पनि लस्पालोस र ज्याको टापु जाँदा त्यस्तै देखिन्छ। त्यसपछि त आफूलाई गोहीको जिउमाथि नै साइकल चलाएजस्तो लाग्न थाल्यो।
समष्टिमा, टिमोरको सात वर्षको बसाइमा मैले झन्डै २५ हजार किलोमिटर दुरी पार गरेको यसमा जडित यन्त्रबाट थाहा भयो। टिमोरमा बसेको साइकल चलाउने बानीले गर्दा तत्काल मेरा लागि विदेशी साथी बनाउने एउटा अवसर पनि मिल्यो। जसले गर्दा मैले आफ्नो व्यवस्थापकीय जिम्मेवारीलाई सम्हाल्न निकै सहज भएको थियो। यसका साथै टिमोरको ग्रामीण परिवेशको जनजीवनलाई नजिकैबाट नियाल्न पाइयो।
प्रकाशित: २२ मंसिर २०८१ ०६:३४ शनिबार