४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

लेखक कृति पुरस्कार ‘सम्बोधिका’ लाई

नेपाली लेखक सङ्घ कास्कीले बर्सेनि प्रदान गर्ने गण्डकी प्रदेशस्तरीय ‘लेखक कृति पुरस्कार-२०८०’ साहित्यकार डा. ईश्वरमणि अधिकारीकाे मुक्तकसङ्ग्रह ‘सम्बोधिका’ लाई प्रदान गरिने भएको छ।

संस्थाले नेपाली, भाषा, साहित्य, अभिव्यक्ति स्वतन्त्रताका लागि लामो समयदेखि योगदान दिँदै आएका व्यक्तित्व साहित्यकार तारा पाखेलाई सम्मान गर्ने निर्णय गरेको छ।

साहित्यकार दीपक समीपको संयोजकत्वमा कवि एवं समालोचकद्वय सञ्जीव पौडेल र हिममाया पौडेल सदस्य रहेको पुरस्कार छनोट समितिले जन्म अथवा कर्मले गण्डकी प्रदेशका लेखकहरूका २०८० सालमा प्रकाशित कृतिमध्येबाट उक्त कृतिलाई पुरस्कारका निम्ति छनोट गरिएकाे हो। उक्त पुरस्कार नगद राशि २५ हजार रुपैयाँ र सम्मानपत्र छ।

नेपाली लेखक सङ्घ कास्कीको हालै बसेको कार्यसमिति बैठकले पुरस्कार छनोट समितिद्वारा सर्वसम्मत रूपमा गरिएको निर्णयलाई अनुमोदन गर्दै उक्त कृतिलाई पुरस्कार दिने निर्णय गरेको संस्थाका सचिव प्राञ्जलले बताए।

पोखरेली युवा सांस्कृतिक परिवारको प्रकाशनमा प्रकाशित ‘सम्बोधिका’ को दोस्रो संस्करण माया पब्लिकेसन, काठमाडौंले प्रकाशन गरेकाे हाे। लमजुङमा जन्मेर कास्कीमा क्रियाशील साहित्यकार अधिकारी विभिन्न साहित्यिक एवं सामाजिक संस्थामा नेतृत्वमा रही कुशल नेतृत्व  गरिसकेका अधिकारीको यो तेस्रो कृति हो।

यसअघि अधिकारीले समता काव्य सम्मान, गजल प्रतिभा सम्मान, पत्थर गजल प्रतिभा पुरस्कार, शिवपुरी साहित्य पुरस्कार, समता काव्य सन्ध्या रजत वर्ष सम्मान, झलक–पुष्पा साहित्य पुरस्कार, अनलाइन अभिलेख सम्मान, नेपाल विद्याभूषण ‘क’ लगायतका दर्जनौँ पुरस्कार तथा सम्मानबाट विभूषित भइसकेका छन्।

विभिन्न साहित्यिक एवं अन्य संस्थासँग संलग्न अधिकारी हाल त्रिभुवन विश्वविद्यालय गणित विषयका सहप्राध्यापकका रूपमा पृथ्वीनारायण क्याम्पस पोखरामा गणित विभागको अध्यक्षका हुन्। काव्यका विभिन्न भेदमा कलम चलाएका अधिकारी गीत, गजल, फुटकर कविता, कथा, निबन्ध एवं थुप्रै अनुसन्धानात्मक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्।

त्यसैगरी वार्षिक रूपमा गरिने स्रष्टा सम्मान नेपाली प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान दिएका साहित्यकार एवं समाजसेवी तारा पाखेलाई सम्मान गर्ने निर्णय गरिएको छ। पाँच दशकदेखि अनवरत भाषा, साहित्य, राजनीति र समाजसेवामा क्रियाशील पाखे पञ्चायतविरोधी आन्दोलनका एक खम्बाका रूपमा रहेका थिए।

पुरस्कृत एवं सम्मानित व्यक्तित्वलाई केही दिनपछाडि पोखरामा आयोजना हुने विशेष कार्यक्रममा सम्मान गरिने संस्थाका सचिव प्राञ्जलले बताए।

प्रकाशित: २० मंसिर २०८१ ११:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App