नेपाल स्रष्टा समाजले प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान-२०८१ युवा कवि मनोज भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ।
सिर्जनात्मक क्षेत्रमा सक्रिय भण्डारीलाई नेपाली भाषा र साहित्यको कविता क्षेत्रमा योगदान गरेकाेमा उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको समाजको बैठकले उक्त निर्णय गरेको हाे।
कवि भण्डारी नेपाल संस्कृत विश्व विद्यालयबाट व्याकरणमा शास्त्री तहका स्वर्णपदक विजेता पनि हुन्। सपूर्णानन्द संस्कृत विश्वविद्यालयबाट व्याकरणाचार्य गरेका भण्डारी नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हुन्।
छन्द कवितामा उत्कृष्ट देखिएका भण्डारीका ईश्वरलाई चिठी कवितासंग्रह प्रकाशित छ।
उक्त सम्मान नेपाल स्रष्टा समाजको १८ औं स्थापना दिवसको दिन पुस १६ गते काठमाडौंमा विशेष कार्यक्रम गरी कवि भण्डारीलाई अर्पण गरिने समाजका अध्यक्ष रोदनले जानकारी दिए।
सिर्जनात्मक क्षेत्रमा सक्रिय रहेर उल्लेख्य योगदान पुर्याएकाले ४० वर्ष ननाघेका नेपाली सर्जकलाई प्रदान गरिने उक्त सम्मानका संस्थापक चेतनाथ कणेल हरित र सीता भण्डारी कणेल हुन्।
यो सम्मानको स्थापना २०७४ सालमा भएको हो। यस सम्मानबाट हालसम्म डा. रमेश शुभेच्छु (२०७५), महेश पौडेल (२०७६), अनुपम रोशी (२०७७), मिलन समीर (२०७८), नवराज पराजुली (२०७९) र देबु लुइँटेल (२०८०) ले प्राप्त गरिसकेको समाजका अध्यक्ष रोदनले बताए।
प्रकाशित: २० मंसिर २०८१ १०:२४ बिहीबार