३ माघ २०८१ बिहीबार
image/svg+xml
कला

ऐतिहासिक उपन्यास ‘कर्णेल गजराज सिंह थापा’ लाेकार्पण

बुद्धिप्रसाद घिमिरे स्मृति प्रतिष्ठानले डा.देवी क्षेत्री दुलालकाे ऐतिहासिक उपन्यास ‘कर्णेल गजराज सिंह थापा’ काे लाेकार्पण गरेको छ।

नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालको प्रमुख आतिथ्यमा उपन्यासकाे लाेकार्पण भएकाे हाे।

प्रमुख अतिथि प्राज्ञ डा. कौशिला रिसाल, प्राडा गोविन्दराज भट्टराई, पूर्व मन्त्री सोमनाथ बास्तोला, पूर्व सांसद् अगम बान्तवा र उपप्राध्यापक युद्धप्रसाद वैद्यद्वारा उक्त उपन्यासको संयुक्त रूपमा लाेकार्पण गरिएकाे हाे।

प्रमुख अतिथि रिसालले उक्त कार्यक्रमकाे सम्बोधन गर्दै ‘कर्णेल गजराजसिंह थापा’ जस्तो ऐतिहासिक र जीवनीपरक उपन्यास सिर्जना गरेकामा उपन्यासकार दुलाललाई बधाई ज्ञापन गर्दै नयाँ पुस्ताले अग्रज पुस्ताकाे योगदानबाट हाैसला लिंदै लक्ष्य भेदनमा पुग्नुपर्ने बताइन्।

उनले इलाममा चिया खेतीको प्रारम्भ गरेका ’चिफ कर्णेल गजराजसिंह थापा’ को व्यक्तित्वको चित्रण उपन्यासले गरेको बताइन्। चिया उद्योग सञ्चालन र प्रवर्द्धन गरी सामाजिक र आर्थिक क्षेत्रमा पुर्‍याएको ऐतिहासिक योगदान नयाँ पुस्तासम्म पुर्याउन उक्त उपन्यास गतिलो दस्ताबेज बनेको पनि उनले बताइन्।

प्रमुख अतिथि रिसालले आफू प्रज्ञाप्रतिष्ठानको सामाजिशास्त्र विभागको नेतृत्वमा रहेकाले सामाजिकशास्त्रसम्बन्धी यस्ता खोज तथा अनुसन्धानमूलक सामग्रीहरूको प्रवर्द्धन गर्दै स्रष्टालाई निरन्तर प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।

इलाम नगरपालिकास्थित अरनिको सङ्ग्रहालय (लालदरबार) को हलमा भएको कार्यक्रममा विशिष्ट अतिथि एवं प्रमुख वक्ता प्राडा गोविन्दराज भट्टराईले पुस्तकमा थापाको ऐतिहासिक योगदानलाई अभिलेखीकरण गरिएको र नेपालको पहिलो उद्योग इलामको चिया कारखाना भएको तथ्य समेत उजागर गरेका थिए।

यस्तै युद्धप्रसाद वैद्यले पनि पुस्तक र इलामको इतिहासबारे आफ्नो भनाइ राखेका थिए।

उपन्यासकार डा. क्षेत्री दुलालले आफूले यो पुस्तक निकै लामो समयको खोजअनुसन्धान गरेर मात्रै तयार पारेको बताए।

विस १९२० मा कर्णेल थापाले नै  इलाममा चिया खेतीको सुरुवात गरेका थिए। कर्णेल गजराज सिंह थापाले इलामको चिया खेतीको सुरुवात र बिस्तारमा योगदान पुर्‍याएको चर्चा छ। १९३५ सालमा इलाममा चिया उद्योग स्थापना गरी थापाले पूर्वी क्षेत्रलाई कृषिमार्फत आर्थिक क्रान्तिमा जोडेको विषय उपन्यासमा उल्लेख छ।

प्रकाशित: १७ मंसिर २०८१ १२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App