१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
कला

तिहार परम्परा र उत्सवको सङ्गम

निबन्ध

तिहार नेपाली समाजको संस्कृति, परम्परा र उल्लासको पर्व, आली कान्ला र आँगनीका छेउछाउमा फूलेका सयपत्री, मखमलीहरूले पिर, चिन्ता र दर्द बिर्सेर आफूसँगै हाँस्न भन्छन् र मस्किन्छन् उत्ताउलो मुस्कान। रातभरको चिसो शितको कहर भुलेर अरुणोदयसँगै सुमधुर बास्ना पोखेर रङ्गाइदिन्छन् भूगोलका कुनाकुना। साना ठूला घर, महल वा झुप्रामा बलेका दियो, दियालो वा बत्तीका झिलिमिलीहरू पुतली जस्तै रमाइदिन्छ मन। जतिबेला तिहार आइदिन्छ घर आँगनमा टुप्लुक्क। देउसीभैलोको गुनगुनाहट, मादल, खैजेडीको छनछनाहट र घुँघरुको रनक झनकले गाउँघरको उत्सवीय महोल चरम बनाउँछ जतिबेला दीपावलीको आलोक फैलिन्छ नेपालभर।

हिमाल, पहाड र तराईका प्रत्येक कुनाकन्दरामा सनातनदेखि चलेको यो पर्वको साँस्कृतिक उल्लासमा बालवनिता, युवायुवती, वृध्दवृध्दाहरूको आआफ्नै प्रकृतिको सांस्कृतिक उमङ्गमा व्यस्त रहन्छन्, केटाकेटीहरू गिर, डण्डीबियो हुन सक्छ, युवायुवतीहरू पिङकाे झट्कामा हुन सक्छन् वृध्दवृध्दाहरू छक्का र पञ्जाको रनकमा वा चौतारो  बाटोघाटो निर्माण, सिंढीहरू मर्मतको सामाजिकतालाई पनि उत्सव र उमङ्गसँगै लिएको हुन्छ हाम्रो समाजले।

नेपालको प्रमुख चाडपर्वहरूमध्ये तिहार विशेष महत्त्वको पर्व हो। सनातन परम्परामा आधारित यो पर्वलाई दीपावली, लक्ष्मी पूजाको पर्व पनि भनिन्छ। तिहार पाँच दिनसम्म विभिन्न पूजाआजा, रीतिरिवाज र परम्पराका माध्यमबाट मनाइन्छ।

यो पर्वको मुख्य उद्देश्य धार्मिक र सांस्कृतिक मान्यताहरूलाई उजागर गर्नुका साथै परिवार, समाज र प्रकृतिप्रतिको सम्मान प्रकट गर्नु हो।

तिहारको महत्त्व, यसका विभिन्न दिन, परम्परागत मान्यता र यसले नेपाली समाजमा पार्ने प्रभाव छुट्टै छ। संस्कार, संस्कृति र परम्पराको उत्सव मानिन्छ। यो पर्वले हिन्दू धर्मका देवीदेवता र प्रकृतिप्रति श्रद्धा प्रकट गर्छ। तिहारमा मुख्यतया धनकी देवी लक्ष्मीको पूजा गरिन्छ, जसलाई सम्पन्नता र समृद्धिको प्रतीक मानिन्छ।

ऐतिहासिक वा सनातन कथन स्तिहारको उत्पत्ति र इतिहासबारे विभिन्न किंवदन्तीहरू पाइन्छन्। सनातन कथनका अनुसार यो पर्वलाई विशेषगरी समृद्धि र धनकी देवी लक्ष्मीको स्वागतका लागि मनाइन्छ। कार्तिक कृष्ण त्रयोदशीका दिनदेखि शुरू हुने यस पर्वलाई प्रकृति, पशुपक्षी र देवताप्रति आस्था, सम्मान र कृतज्ञताको चाड मानिन्छ। यस पर्वमा दीप, फूल, रङ र मिठाईको प्रयोगले घरमा सौन्दर्य र उज्यालो ल्याउने प्रयास गरिन्छ।

तिहारको प्रारम्भ कहिलेदेखि भयो तिथिमिति तोकेर भन्न सकिन्न तर लोक कथनका दुई मान्यता छन्।

पहिलो तथ्य

बलि राजा दानशील र प्रजावत्सल थिए। उनले आफ्ना प्रजाहरूको दानशीलता परीक्षण र सम्पन्नता बुझ्न केही युवायुवतीलाई लक्ष्मी पूजाको समय पारेर देउसीभैलीको रूपमा पठाएका थिए र त्यसैबेलादेखि देउसीभैलीको प्रचलन प्रारम्भ भयो। अहिले पनि देउसीहरू, भैलीहरू बलि राजाको नाम लिन्छन्। भन्नेहरू भन्छन् - यो पर्वको आरम्भ नै बलि राजाले गराएका हुन्।

दोस्रो तर्क

यमराजकी बहिनीको नाम यमुना हो। राजकाजको कामले यमराजले कहिल्यै फुर्सद पाएनन्। आफ्ना दिदीबहिनी र आफन्तसमक्ष भेटघाट गर्न भियाएनन्। निकै लामो समयपछि यमराज बहिनी यमुनाको घर गए। उनी गएको दिन यमपञ्चकको पहिलो दिन थियो। यमराज आउने सूचना यमदूत कागले पहिल्यै दिएको थियो। त्यसैले उनले कागको पूजा गरेर मिठामिठा खानेकुरा दिएकी थिइन्।

बेलुका यमराज आइपुगे। दाजुबहिनीको धेरै दिनदेखिको नियाँस्रो मेटियो। उनले दाजुलाई निकै आदरसत्कार गरेर राखिन्। अघिल्लो दिनजस्तै उनले भोलिपल्ट पनि यमदूत कागलाई मिठा खानेकुरा दिइन्, घरमा पालिएको स्वामीभक्त कुकुरलाई पनि पूजा गरिन्, माला लगाइदिइन्, मिठामिठा खानेकुरा दिइन्। आफ्ना दाजु यमराजलाई मनपर्ने सेल, मिठाई, अनेक परिकार बनाएर खुवाइन्।

अर्को दिन लक्ष्मीपूजा थियो, दाजुकै साथमा बसेर धनधान्य तथा सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिन्। गाई, गोरु, गोवर्धनको पूजा गरिन्। दाजुको पनि उस्तै सेवासत्कार गरिन्। प्रसादी, नैवेद्य दिएर खुशी बनाइन्।

पाँचौ दिन यमराजले भने- बहिनी मृत्युलोक छोडेको धेरै दिन भयो। यसरी बसिरहँदा सृष्टिको  नियम बिग्रन्छ। म फर्कन्छु।

दाजु फर्कने दिन यमुनाले उत्तम साइत हेराइन्, भव्यताका साथ दाजु यमराजको पूजा गरिन्। तिलको तेलले दाजु बसेको आासन छेकिन्। दाजुको सर्वाङ्ग पञ्चोपचारले पूजा गरिन्। मखमली, सयपत्री फूलको माला पहिर्‍याइन्। अनेक प्रकारका मिठाई, मरमसला, मिठाई अर्पण गरिन्। बहिनीसँग यमराज बहुत खुशी भए।

उनले बहिनीलाई भने- यमुना हाम्रो भ्रातृत्व,भगिनित्व प्रेमको यस उल्लासमा तिमी वरदान माग।

यमुनाले दाजुसँग हात जोडेर विनम्रतासाथ भनिन् -दाजु हाम्रो यस पुनर्मिलनको समय युगयुग मानिसहरूले दीपोत्सवसहित मनाऊन्, यी पाँच दिन हजुर प्रत्येक वर्ष बिदा लिएर मेरो घर पाल्नुस्। कोही कसैको दाजुभाइ, दिदीबहिनीको मखमलीको माला नओइलिंदासम्म र तेलधारा नसुकेसम्म मृत्यु नहवस् भनिन्। यमराजले तथास्तु भनेर वर दिए।

त्यही समयदेखि तिहारको नामबाट दीपोत्सवसहित चाड मनाउन थालिएको मानिन्छ।

धार्मिक मान्यताअनुसार, लक्ष्मी पूजाको दिनमा देवी लक्ष्मीले ती घरमा पाइलो राख्छिन्, जहाँ सफा र शुद्धता कायम राखिएको हुन्छ र जहाँ पवित्र मनले पूजाआजा गरिएको हुन्छ। त्यसैले तिहारको समयमा घरलाई सफा गर्नु, दीप प्रज्वलन गर्नु, आँगन र झ्यालढोका सजाउनु जस्ता कार्यलाई विशेष महत्त्व दिइन्छ।

यसलाई दीपावली, सुखरात्रि, लक्ष्मी पूजाको पर्वको नामले पनि चिनिन्छ। हिन्दू संस्कृतिमा आधारित यो पर्वको मुख्य उद्देश्य धार्मिक, सांस्कृतिक र सामाजिक पक्षलाई उजागर गर्नु हो।

यो पाँच दिनसम्म मनाइने चाड नेपालका सबै समुदायले आआफ्नो तरीकाले धूमधामका साथ मनाउँछन्। यो पर्वले देवीदेवताको पूजा मात्र होइन, पशुपक्षी र प्रकृतिप्रतिको सम्मान र कृतज्ञता पनि प्रकट गर्दछ। हामी तिहारको महत्त्व, यस पर्वका पाँच दिन, यसमा गरिने विभिन्न परम्परा, तिहारसँग जोडिएका सांस्कृतिक र सामाजिक पक्षहरूका साथै यसले समाजमा पार्ने प्रभाव छुट्टै छ।

पाँच दिन पाँच विशेषता

तिहार पाँच दिनसम्म मनाइन्छ र प्रत्येक दिनको आआफ्नै विशेषता छ। यसलाई यमपञ्चक पनि भनिन्छ, जसको प्रत्येक दिन फरकफरक देवीदेवता र पशुपक्षीलाई समर्पित गरिन्छ। ती पाँच दिन यस प्रकार छन्,

१) काग तिहार (काग पूजा)

यमराजले आफू आउने सूचना आफ्नो दूतमार्फत तिहारको पहिलो दिन पठाएका थिए। यमुनाले खुशीले उसको पूजा गरेकी थिइन्। त्यसैले यस दिन  काग तिहारको रूपमा मनाइन्छ। कागलाई घरमा बोलाई अन्न र मिष्ठान्न खुवाइन्छ। कागलाई सन्देशवाहक र सूचनाको प्रतीक मानिन्छ। हिन्दू धर्ममा कागलाई यमराजको सहयोगी मानिन्छ। यो दिन कागलाई पूजा गर्दा अनिष्ट टर्छ भन्ने विश्वास गरिन्छ।

२) कुकुर तिहार

सनातन परम्परामा कुकुर स्वामीभक्त जनावर मानिन्छ। यो भैरवको वहान हो। युधिष्ठिरले सदेह स्वर्ग जाँदा कुकुरलाई साथै लगेका थिए। दोस्रो दिन कुकुर तिहार हो। यस दिन कुकुरलाई फूलको माला लगाइदिने, टीका लगाइदिने र मिठा खानेकुरा दिने परम्परा छ। कुकुरलाई सत्य, निष्ठा र बफादारीको प्रतीक मानिन्छ।

यमराजको सहयोगीको रूपमा पनि यसलाई महत्त्वपूर्ण स्थान दिइएको छ। घरको रक्षक र मित्रका रूपमा रहेको कुकुरको सम्मान गर्ने यो पर्वले जनावरहरूप्रतिको स्नेह र करुणाको भाव पनि प्रकट गर्ने पर्वको प्रतीक पनि कुकुर तिहार हो।

३) गाई तिहार र लक्ष्मी पूजा

तिहारको  तेस्रो दिन दीपोत्सव पनि हो। यस दिन बिहान गाई पूजा र बेलुका लक्ष्मीपूजा गरिन्छ। हिन्दू धर्ममा गाईलाई माता र लक्ष्मीको रूप पनि मानिन्छ र विशेष सम्मान दिइन्छ। गाईलाई लक्ष्मीको रूपमा पूजा गरिन्छ। दूध, घिउ, दही जस्ता पौष्टिक तत्त्वको स्रोत तथा आमाको दूधजस्तै पोषकत्व प्रदान गर्ने भएरपनि मातृवत् आदर गरिन्छ।

यसै दिन बेलुका लक्ष्मी पूजाको कार्यक्रम पनि गरिन्छ। लक्ष्मी पूजा साँझमा दीपावली गरेर मनाइन्छ। यस अवसरमा घरका झ्याल, ढोका, आँगन तथा वरपरको वातावरणलाई दियो, मैनबत्ती र बत्तीले सजाइन्छ। भएका धनसम्पत्ति, ढुकुटी,भाँडावर्तन सबैको पूजा गरिन्छ।

मान्यता अनुसार यस दिन लक्ष्मीले घरमा पाइलो राख्नुपर्ने भएकाले सम्पूर्ण घर तलदेखि माथिसम्म पोतिन्छ। लक्ष्मीका पाइला बनाइन्छ। बत्ती बालिन्छ। सबैतिर  सफा र उज्यालो जगमगमउँछ।

४) गोरु तिहार र म्ह पूजा

चौथो दिन गोरु तिहार मनाइन्छ, जसमा गोरुलाई पूजा गरिन्छ। गोरुले कृषिमा गर्ने योगदानलाई सम्मानस्वरूप यसलाई पूजा गर्ने चलन छ। विशेष गरी ग्रामीण क्षेत्रमा गोरुलाई विशेष रूपमा सिंगार्ने र मिष्ठान्न दिने गरिन्छ। यसै दिन नेवारी समुदायमा म्ह पूजा पनि मनाइन्छ, जसमा आत्मा र शरीरको पूजा गरिन्छ। आत्माको पूजा गर्दै यसले आफूलाई शक्तिशाली, स्वस्थ र समृद्ध बनाउँछ भन्ने विश्वास छ।

५) भाइटीका

तिहारको अन्तिम दिन भाइटीका मनाइन्छ। यो दिन दाजुभाइ र दिदीबहिनीको अटुट स्नेहको प्रतीक मानिन्छ। यस अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई फूलको माला लगाई, सप्तरंगका टीका लगाइ, मिठा परिकारहरू खुवाई दीर्घायु र समृद्धिको कामना गर्छन्। भाइटीकामा यमराजलाई सम्मान गरिने मान्यता छ र यो पर्वले परिवारको एकता, प्रेम र विश्वासलाई प्रगाढ बनाउँछ।

सांस्कृतिक र सामाजिक पक्ष

तिहार धार्मिक पर्व मात्र होइन, यसले नेपाली समाजमा एकता, प्रेम र सहिष्णुताको सन्देश दिन्छ। विभिन्न संस्कृतिका मानिसहरूले यो पर्व आआफ्नै परम्परामा मनाउँछन्, जसले सम्पूर्ण समाजलाई एकतामा बाँध्छ।

विशेष गरी यो पर्वमा सबैले रमाइलोका लागि देउसीभैलो खेल्ने परम्परा रहेको छ। देउसीभैलोमा समूहसमूहमा भेला भई गीत गाउँदै, नाच्दै एक अर्काको घरमा जाने गरिन्छ। यसले पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउँछ। गाउँ र शहरमा देउसीभैलो खेल्दै रमाइलो गर्ने र विभिन्न ठाउँबाट साटिएका मीठा परिकारको आनन्द उठाउने चलनले तिहारलाई अझ रमाइलो र रंगीन बनाएको छ।

तिहारको अर्को प्रमुख पक्ष भनेको घरको सजावट र सौन्दर्यमा आधारित छ। यस समयमा घरको सरसफाइ गर्ने, रङग्याउने र दियो बत्तीले झिलिमिली पार्ने गरिन्छ।

विशेष गरी लक्ष्मी पूजाको दिन दीपावली गर्दा सम्पूर्ण घर उज्यालो पारिन्छ र घरको वातावरण उल्लासमय बनाइन्छ। यसले सकारात्मक ऊर्जा ल्याउने र वातावरणलाई शुद्ध बनाउने विश्वास छ।

वातावरणीय र आर्थिक महत्त्व

तिहारले वातावरणीय सन्देश पनि दिन्छ। यस पर्वमा विशेषगरी फूलको प्रयोग गरिन्छ। घरआँगन र झ्यालढोका सजाउन सयपत्री, मखमली र गोदावरी जस्ता फूल प्रयोग गरिन्छ। यसले वातावरणमा हरियाली र सौन्दर्य थप्छ। साथै यस समयमा नेपालका फूल व्यवसायमा समेत वृद्धि हुन्छ। तिहारका लागि फूलमाला, दियो, मैनबत्ती र मिठाईको खरिद बढ्ने भएकाले यसले थुप्रै साना व्यवसायीहरूलाई आयआर्जनको अवसर पनि प्रदान गर्छ।

अन्त्यमा

तिहारले नेपाली समाजमा सकारात्मक र सामाजिक प्रभाव पार्छ। यसले परिवार र समाजमा एकताको सन्देश दिन्छ र सबैलाई एक अर्काको निकट ल्याउँछ। तिहारको विशेषता भनेकै परिवार र नातागोता बीचको आपसी प्रेम र सद्भावलाई सुदृढ बनाउनु हो।

विशेष गरी भाइटीकाको दिनले दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर दिन्छ। साथै यो पर्वले हिन्दू धर्मका धार्मिक र सांस्कृतिक पक्षको पनि संरक्षण गर्छ।

समाजमा तिहारले धार्मिक सहिष्णुता र समाजिक एकताको भावना ल्याउँछ। साथै, देउसीभैलो खेल्ने क्रममा समाजमा मनोरञ्जनको वातावरण बन्नुका साथै आआफ्ना मित्र, छरछिमेक र आफन्तसँग भेटघाटको अवसर पनि प्राप्त हुन्छ। यसले समाजमा सबैले एउटै स्वरूपमा हर्ष र उल्लास बाँड्न पाउँछन् र मिलेर चाडपर्व मनाउने अवसर प्राप्त हुन्छ।

तिहार नेपाली संस्कृतिको अमूल्य सम्पत्ति हो, जसले समाजमा धार्मिकता मात्र नभई सांस्कृतिक विविधता, प्रेम, सम्मान र एकताको भावना भर्न भूमिका खेल्छ। प्रकृति र पशुपक्षीलाई आदर र सम्मान गर्दै, परिवारको एकता र समाजको सम्बन्धलाई सुदृढ बनाउँदै यो पर्वको महत्त्व अझ प्रगाढ भएको छ। तिहारले प्रत्येक नेपालीलाई आफ्ना परम्परामा गर्व गर्न, आपसी प्रेम र सद्भाव बढाउन प्रेरित गर्दछ।

यस पर्वले नेपाली समाजमा धार्मिक र सांस्कृतिक चेतनालाई जागृत गर्दै विश्वभरका सबै मानव समुदायलाई  भ्रातृत्व,भगिनित्व सम्बन्धको प्रेम तन्तुले जोड्न सकोस्। वर्षमा एकपटक नेपालमा भाइटीका लगाउन भनेर सबै आउने परिवेश बनोस् भन्ने कामना गरौं!

प्रकाशित: १३ कार्तिक २०८१ १२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App